शिक्षा

'सिकाइलाई केन्द्रबिन्दु मानेर प्रविधिमैत्री पठनपाठनकाे आवश्यकता'

इकागज |
माघ १५, २०७९ आइतबार २१:७ बजे

मकवानपुर- सिकाइलाई केन्द्रबिन्दु मानेर प्रविधिमैत्री पठनपाठन आवश्यकता रहेकाे बताइएकाे छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका प्रधानाध्यापकसँग हेटाैंडामा भएकाे अन्तरक्रियामा सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाले उक्त कुरा बताएका हुन् ।

सापकाेटाले प्रविधिमैत्रीसँगै विद्यालयमा विद्यार्थी केन्द्रित सिकाइलाई केन्द्रबिन्दु मानेर पाठ्यक्रममा आधारित शिक्षणमा जोड दिन समेत आग्रह गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई हेटौंडाको आयोजनामा गरिएको अन्तरक्रियामा प्रधानाध्यापकका सम्बन्धमा ऐन, नियमावली तथा निर्देशिकामा भएका व्यवस्थाहरू, विद्यालयमा देखिएका चुनौती, विद्यालय शिक्षाको गुणस्तर सुधारका उपाय सम्बन्धमा अन्तरक्रिया गरिएको थियो ।


कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले सामुदायिक विद्यालयका प्रधानाध्यापक सक्रिय भएमा विद्यालयकाे शिक्षामा सुधार ल्याउन सकिने बताए । शिक्षा क्षेत्रमा लामाे समय काम गरी सेवानिवृत भएका डा. तोयानाथ खनालले सहजीकरण गरेकाे अन्तरक्रियामा राष्ट्रिय शिक्षा नीति २०७६, विद्यालय शिक्षा सम्बन्धी नीतिगत चुनौती, विद्यालय शिक्षामा सुधारका उपायका बारेमा विभिन्न जिल्लामा भएका अभ्यासकाे जानकारी गराएका थिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले संरक्षण शिक्षासम्बन्धी वन कार्यालय राप्ती, मनहरीले प्रकाशन गरेको वातावरण शिक्षा पुस्तककाे जानकारी दिँदै सो पुस्तकलाई सबै विद्यालयमा पठनपाठन गर्न आग्रह गरेका थिए । मकवानपुरलाई सालकको जिल्लाका रूपमा परिचित गराउन र सालक संरक्षणमा बालबालिकामार्फत् अभिभावकसम्म जानुपर्ने आचार्यले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई हेटाैंडाका प्रमुख दिनानाथ गौतमको सभाध्यक्षता र जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका उपसचिव बद्रीबहादुर पाठक, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा प्रमुख कृष्णप्रसाद घिमिरे, हेटाैंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल र मकवानपुरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x