शिक्षा

मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्दै

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १८:५४ बजे

भैरहवा- सुगम जिल्लाको दुर्गम क्षेत्रको रूपमा रहेको रुपन्देहीको मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने भएको छ ।

२०३० सालमा स्थापित कोटहीमाई ५ मझगावामा रहेको विद्यालयको संरचनाहरू जीर्ण हुँदै गएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा लुम्बिनी प्रदेश योजना आयोग मार्फत बहुवर्षीय योजनाबाट शैक्षिक भवन बन्न लागेको हो ।


भौतिक संरचना र पूर्वाधारमा धेरै कमी रहेको पाइएपछि लुम्बिनी प्रदेश सरकारको सक्रियतामा बहुवर्षीय योजनासहित शुक्रबार लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा खेलकुद मन्त्री बसिउद्दीन खानले भवनको शिलान्यास गरेका छन् ।

विद्यालयको हाता भित्र रहेको जग्गामा सुविधा सम्पन्न संरचना निर्माण गर्ने योजना प्रदेश सरकारले लिएको छ । लुम्बिनी प्रदेश योजना आयोग मार्फत ३ वर्षीय योजनासहित मर्चवार आदर्श माविको शैक्षिक भवन निर्माणका लागि ९ करोड ९९ लाख ९० हजारको लागत अनुमानसहित निर्माण कार्य अघि बढेको मन्त्री खानले बताए ।

भवनको शिलान्यास गर्दै मन्त्री खानले विद्यार्थीको संख्या धेरै र सीमित स्रोत साधन शिक्षा दिनमा कठिनाई भएकोले बहुवर्षीय योजनामा विद्यालयमा वृहत भवन बनाउन लागेको जिकिर गरे । 

यस्तै सो अवसरमा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले मर्चवारको भविष्य उज्जवल रहेकोले यहाँको शैक्षिक गुणस्तरलाई अन्य विद्यालयसँग तुलना गर्दै वृद्धि गर्नुपर्ने जरुरी रहेको बताए । प्रदेश सरकारको दोस्रो ठूलो विद्यालयको योजना मर्चवार मै रहेको बताउँदै उपाध्यक्ष क्षेत्रीले शिक्षामा गुणस्तरका लागि सिस्टम नै परिवर्तन गर्नुपर्ने बताए । 

योजना आयोगले पहिलो वर्ष १ करोड ५० लाख, दोस्रो वर्ष ५ करोड र अन्तिम वर्ष ३ करोड ४९ लाख ९० हजार लागत अनुमानसहित निर्माण कामको थालनी गरेको छ । 


Author

थप समाचार
x