शिक्षा

भक्तपुरको एक सामुदायिक विद्यालय

जहाँ विद्यार्थी भर्ना गर्न अभिभावक हानथाप गर्छन्

रमेश लम्साल |
असार १९, २०७९ आइतवार १३:१९ बजे

काठमाडौँ - सरकारले शिक्षामा गरेको लगानीअनुसार प्रतिफल प्राप्त नभएको गुनासो बारम्बार सुनिन्छ । कतिपयले शिक्षामा सरकारी लगानी बालुवामा पानी सरह भएको समेत टिप्पणी गर्छन् । त्यसैले अभिभावक सरकारी विद्यालयको नाम लिएपछि नाक खुम्च्याउँछन् । सरकारी विद्यालयलाई हेरिने यही दृष्टिको मारमा विद्यार्थी र शिक्षक दुवै परेका छन् । देशका सबै सरकारी विद्यालय एउटै वर्गमा पर्दैनन् भन्ने तथ्यको पुष्टि शिक्षकहरू गर्न सक्दैनन् । त्यसैले उनीहरू यो मारमा परेका छन् । 

फेरि यसको अर्थ देशका निजी तथा आवासीय विद्यालयहरू मात्र गुणस्तरका र राम्रा हुन् भनेर लगाउन पनि मिल्दैन । ती विद्यालयका विद्यार्थी र उनीहरूका अभिभावकलाई चर्को व्यापारीकरणको मारले थिच्ने गरेका उदाहरणहरू पनि समाजमा प्रशस्तै भेटिन्छन् । यसरी शिक्षामा असमानता हुर्कंदै गएको छ। यस्तो विषम अवस्थामा पनि केही सरकारी लगानीका विद्यालयले फरक र सकारात्मक प्रगति गरेका छन् भन्ने तथ्यको लोभलाग्दो उदाहरण बन्न सक्छ भक्तपुरको नगदेशस्थित गणेश माध्यमिक विद्यालय । 


अधिकांश सरकारी विद्यालयका शिक्षक पढाउनेबाहेकका सबै काम गर्छन् भन्ने नेपाली समाजको व्यङ्ग्यात्मक गुनासोकै बीचमा गणेश माविसहितका केही विद्यालयले स्थापित गरेका मानकहरू देशको शिक्षा क्षेत्रकै लागि उदाहरणीय बन्न सक्छन् । हरेक क्षेत्रमा कालो बादलभित्र चाँदीको घेरा रहेजस्तै यिनै विद्यालयका प्रगतिबाट नेपालको शिक्षा क्षेत्रले सिक्न सक्छन् ।
 
नेपाली समाजमा कुनै पनि काम गर्नुभन्दा पहिले शुभ रहोस् भनेर गणेशको पूजाअर्चना गरिन्छ । हो, सोही शुभकार्यको प्रेरकका नाममा स्थापना भएको गणेश मावि यतिबेला देशकै केही अब्बल विद्यालयमध्येमा पर्छ । सो विद्यालयमा पढाउनका लागि अभिभावकले रोइकराइ गर्नुपर्ने बाध्यता रहेको छ । 

विद्यालयको नियमित प्राथना हुने समयभन्दा ढिला आउने विद्यार्थीलाई मात्रै होइन, शिक्षकले समेत प्रवेश पाउँदैनन् । दिनभर सबैले देख्ने सार्वजनिक सूचना पाटीमा नाम राखिन्छ ।

 

सरकारी लगानीको विद्यालय भए पनि अभिभावक आफ्ना छोराछोरीलाई सोही विद्यालयमा पढाउनका लागि राजनीतिक नेतृत्वलाई सोर्सफोर्स लगाउन बाध्य छन् । तर त्यसले पनि काम गर्दैन । प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले मात्रै सो विद्यालयमा प्रवेश पाउँछन् । कक्षाकोठाको अभाव छ । अन्य भौतिक संरचना समेत साघुँरो बन्दै गएको छ । तर हरेक वर्ष विद्यार्थी थपिनेक्रम बढ्दै गएको छ । हरेक कक्षाकोठा भरिभराउ छन् । त्यसको तुलनामा शिक्षक कम भए पनि स्थानीय अभिभावक सोही विद्यालयमा नै आफ्ना सन्ततिले भर्ना पाएहुन्थ्यो भन्ने चाहना राख्छन् । 
 
विसं २००८ मा स्थापना भएको सो विद्यालयले यसबीचमा हजारौँ विद्यार्थी उत्पादन गर्‍यो । धेरैलाई शिक्षाको उज्यालो ज्योति दियो । भक्तपुरको नाम राख्यो र नगदेश भनेर चिनायो । गणेश माविले दिएको परिचयलाई धेरैले सिँगार्ने मौका पाए । आज सोही विद्यालय भक्तपुरकै अब्बल विद्यालयका रुपमा दर्ज हुँदा ती सबैलाई फेरि एकपटक आल्लादित बनाइदिएको छ । 
 
विद्यालयमा कूल एक हजार १२ जना विद्यार्थी छन् । त्यसमा पनि कक्षा १० सम्म विद्यार्थीको सङ्ख्या मात्रै ८०० छन् । वरिपरिका अभिभावकले निजी विद्यालयमा राखेका आफ्ना सन्तति धमाधम निकाल्दै गणेश माविमा ल्याउन थाले । सीमित साधन र स्रोतमा चलेको विद्यालयले थामीसक्ने अवस्था नै भएन । अत्यधिक चाप परेपछि विद्यालयले प्रवेश परीक्षा लिएर भर्ना लिएको विद्यालयका प्रधानाध्यापक केशवचरण श्रेष्ठको भनाइ छ । 
 
केशवचरणले सो विद्यालयमा अध्यापन गर्न थाल्नुभएको तीन दशक पूरा भयो । सुरुसुरुमा सरकारी विद्यालय बिग्रेकै होला त भने जस्तो लाग्थ्यो उनलाई पनि । ‘सरकारी काम कहिले जाला घाम’ भन्ने शैलीमा धेरैजसो विद्यालय अहिले पनि अधोगतितिर नै लागेको उनले पनि देखेका छन् । 'तर विद्यालय सुधार्ने जिम्मा हाम्रो हो, हामीले केही प्रयास गर्‍यौँ भने धेरै सुधार गर्न सकिन्छ र नाम राख्न सकिन्छ भन्ने मान्यताका साथ काम गर्‍यौँ भने त्यसै दिनदेखि विद्यालयको गुणस्तर सुधार हुन्छ', उनले भने, 'यो मेरो दायित्व हो । हामी सरकारी कर्मचारी मात्रै होइनौँ, समाज सुधारक पनि हौँ भन्ने ठान्यौँ भने सुधार त्यहीँबाट सुरु हुन्छ ।'
 
यस विद्यालयले अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गरिरहेको छ । सरकारले दिएको रकमबाट अपुग भए पनि विद्यालयले व्यवस्थापन गरेरै दिवा खाजाको कार्यक्रम निरन्तर चलाइरहेको छ । कूल ४३७ जना विद्यार्थीले दिवा खाजा खान्छन् । आगामी आवका लागि कक्षा ६ का विद्यार्थीलाई समेत खाजा खुवाउने सरकारको नीति आएकाले अब त्यो सङ्ख्या बढेर ५०० जना बराबर पुग्नेछ । 
 
कक्षामा पढाउनु छैन भने शिक्षक आफैँ भान्छामा पुग्छन् । कोही तरकारी काट्न थाल्छन् । कोही ग्यास बाल्न । कोही भाँडा पखाल्न थाल्छन् भने कोही पकाउन । विद्यार्थीले खाजा नखाइकन शिक्षकले खाजा पनि खाँदैनन् । विद्यालय परिसर पुग्दा शिक्षक र विद्यालयका कर्मचारीहरू मिलेर विद्यार्थीलाई खाजा खुवाइरहेका देखिन्छन् । 
  
विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि नर्स उपलब्ध छ । विद्यालयको नियमित प्राथना हुने समयभन्दा ढिला आउने विद्यार्थीलाई मात्रै होइन, शिक्षकले समेत प्रवेश पाउँदैनन् । दिनभर सबैले देख्ने सार्वजनिक सूचना पाटीमा त्यस्ता शिक्षकको नाम राखिन्छ । यस्तो व्यवस्था गरिएपछि शिक्षकलाई समेत अनुशासनमा राख्न सहयोग पुगेको प्रअ केशवचरणको अनुभव छ । 'मानिसलाई नैतिक अनुशासनमा राख्न सकियो भने धेरै काम गर्न सकिँदो रहेछ, लज्जित हुनुभन्दा तोकिएको समयभन्दाअगावै विद्यालय हातामा प्रवेश गर्नु राम्रो हो भन्ने भावनाको विकास भएको छ', उनले भने ।
 
विद्यालय हातामा प्रवेश गरेपछि अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकले विद्यार्थी, सहकर्मीसँग पनि अङ्ग्रेजीमा नै संवाद गर्नुपर्छ । विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन विद्यालयले दण्डरहित प्रणालीको विकास गरेको छ । विद्यार्थीलाई दण्ड दिएरभन्दा पनि गलत काम गर्नु हुँदैन भन्ने चेतनाको विकास गराउन अधिकतम प्रयास गरिन्छ । दण्डले विद्यार्थीमा नकारात्मक सोच विकास हुने र त्यसले झनै गलत मनोवृत्तिको विकास गर्ने भएकाले सकारात्मक ढङ्गबाटै सुधारमा जोड दिइएको छ । 
 
दश वर्ष पहिले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दा ठूलै पापड पेल्नुपरेको थियो । 'एक निजी इस्टिच्युटबाट प्रशिक्षक ल्याएर भाषा कक्षा सञ्चालन गरियो । केही शिक्षकले सकिन्छ र ! भनिरहेका थिए तर हामीले सकिन्छ, गर्नैपर्छ भनेर सुरु गर्‍यौँ । आज हामी सफल भएका छौँ', प्रअ श्रेष्ठको भनाइ छ । 
 
 कोरोनाका कारण पछिल्ला दुई वर्ष शिक्षा क्षेत्र नराम्ररी प्रभावित भयो । गणेश मावि कहिल्यै पनि प्रभावित भएन । कुनै पनि दिन विद्यार्थीले पढ्न पाएनन् भन्ने गुनासो अभिभावकले सुन्नु परेन । अनलाइन माध्यमबाट हरेक दिन कक्षा चले । मोबाइल भएकाले सहजै पढ्न पाए । नभएकालाई समेत विद्यालयले वैकल्पिक व्यवस्था गर्‍यो। कोही समूहमा बसेर पढे भने कोही सामाजिक र व्यक्तिगत दुरी कायमै राखेर पढे । वरपरका निजी विद्यालयसमेत जुमबाट कसरी कक्षा सञ्चालन गर्ने भनेर गणेश माविका शिक्षकसँग सिक्न आएका थिए । 
 
एक निजी विद्यालयमा १५ वर्ष अध्यापन गराएका विजयचरण श्रेष्ठ यतिबेला सोही विद्यालयको सहायक प्रधानाध्यापक छन् ।  नातामा केशवचरणको भाइ विजयचरण गरे हरेक कुरा सम्भव हुने रहेछ भन्ने कुरा आफूले गणेश माविमा आएपछि थाहा पाएको बताउँछन् । निजी विद्यालयले भन्दा राम्रो र गुणतस्तरीय शिक्षा सरकारी विद्यालयले दिएको उनको दाबी छ ।  
 
विद्यालयमा हरेक दिन प्रार्थना हुन्छ । प्रारम्भिक बाल शिक्षा र कक्षा १ का विद्यार्थीलाई कक्षामा नै सो कार्य गराइन्छ । विद्यार्थी घरबाट आयो कि आएन, कहाँ गयो, गृहकार्य समयमा गर्‍यो कि गरेन वा उसलाई केही समस्या छ कि भनेर शिक्षकले मसिनो गरी हेर्छन् । विद्यालयमा नै ४८ वटा कम्प्युटर उपलब्ध छ । विज्ञान शिक्षाका लागि प्रयोगशाला छ । विद्यार्थीले सहजैरूपमा आफूले सिक्न मन लागेका कुरा सिक्न पाउँछन् । 

सरकारले विद्यालयलाई २२ जना शिक्षकको दरबन्दी दिएको छ । विद्यालयमा नर्स, सहयोगी कर्मचारीसहित २९ जना कार्यरत छन् । स्थान अभावले गर्दा कक्षा विभाजन गर्न सकिएको छैन । कूल ९० जनासम्म विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु परेका बाध्यता सुनाउँछन् विजयचरण । सरकारी विद्यालयलाई सबल र सक्षम बनाउन सकिए, निजी विद्यालय आफैँ व्यवस्थित हुने उनको तर्क छ ।  
 
प्रारम्भिक बाल कक्षा र कक्षा १ का विद्यार्थीले घरबाट सिसाकलम, कापी ल्याउनु पर्दैन । अभिभावकसँग सामान्य शुल्क लिएर विद्यालय आफैँले उपलब्ध गराउँछ । विद्यार्थीलाई बोझ नपर्ने गरी खैल्दै पढ्दैको नीति लागू गरिएको छ । तल्ला र माथिल्ला कक्षा सबैमा उत्तिकै विद्यार्थीको चाप छ । विसं २०७० को प्रवेशिका परीक्षामा विद्यालयले सर्वोत्कृष्ट नतीजा ल्यायो । संगीता प्रजापतिले नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याइन् । संगीता मणिपालबाट एमबिबिएस उत्तीर्ण भइसकेकी छिन् । अन्य वर्षको नतीजा पनि उत्कृष्ट छ, कोही विद्यार्थी अनुत्तीर्ण छैनन् । 
 
नजिकका सरकारी विद्यालय विद्यार्थी नभएर हैरान छन् । तर गणेश माविमा पाइला हाल्ने ठाँउसमेत नहुँदा पनि भर्ना पाउँ भन्दै रोइकराइ गर्दै आउने अभिभावकको सङ्ख्या उल्लेख्य छ । 'हामीलाई त आएका जति सबै विद्यार्थी भर्ना गरौँ भन्ने नै छ तर कक्षा कोठा छैन, कहाँ राखेर पढाउने ?' केशवचरणले भने 'विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई पनि त्यस्तै दबाब छ । तर हामीले अब नसक्ने नै भएका छौँ ।' 
 
भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा मात्रै १८ वटा सरकारी विद्यालय छन् । गणेश मावि नजिकै सिद्धिकाली, बोडे माविलगायतका छन् । उनीहरू औसत मात्रै छन् । सिद्धिकालीमा त विद्यार्थी सङ्ख्या नै कम छ । नेपालको संविधान जारी भएपछि हाल विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई दिइएको छ । स्थानीय सरकारले अपेक्षाकृतरुपमा आफूलाई सहयोग नगरेको गुनासो सो विद्यालयको छ ।  

कूल दुई रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयलाई विस्तार गर्नुपर्ने र विद्यार्थीको चापअनुसार थप शिक्षक र कर्मचारी उपलब्ध गराउनुपर्ने आवश्यकता छ । पटकपटक माग गर्दासमेत अघिल्लो स्थानीय सरकारले सुनुवाइ नगरेको प्रअ केशवचरणको गुनासो छ । यसपटक स्थानीय सरकारले सहयोग गर्छु भनेकाले केही आशा पलाएको उनी सुनाउँछन् ।
 
विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद घनश्याम खतिवडाले गणेश माविमा विद्यार्थीको चापका बारेमा प्रतिनिधिसभाको बैठकमा नै शिक्षामन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराइदिएको छ । शिक्षामन्त्री पौडेलले पनि सो विद्यालयका बारेमा चासो राखेका छन् । प्रतिनिधिसभाको बैठकमा समेत आफ्नो विद्यालयका बारेमा कुरा उठ्नुलाई सकारात्मकरुपमा लिएको सहायक प्रअ विजयचरणको भनाइ छ । 

यस विद्यालयमा कुनै पनि शिक्षकले राजनीति गर्न पाउँदैन । यहाँ आउने भनेको पढाउन आउने हो, अरु कुनै पनि विषयमा छुट छैन । कोही कसैले पनि ठगठाग गर्न पाउँदैन र बाहना निकालेर हिड्न पाउँदैन । प्रअ केशवचरण भन्छन्, 'हामीले शिक्षकसँग सम्झौता नै गरेका छौँ ।' कुन विद्यार्थी कक्षाकोठामा चल्यो, कुन शिक्षकले के पढायो, कसरी पढायो, सबै कुराको अनुगमन सिसीटिभी क्यामेरामार्फत प्रअले गरिरहेका हुन्छन् । 'विद्यार्थी किन विद्यालय आएन, समस्या के हो भन्ने पनि निरन्तर अनुगमन गरेका हुन्छौँ । विद्यार्थीको मात्रै नभई शिक्षककोसमेत निरन्तर मूल्याङ्कन हुने भएकाले हामी सफल भएका छौँ', प्रअ केशवचरण बताउँछन् । 
 
सरकारले सहयोग गरेको खण्डमा प्रारम्भिक बाल शिक्षापछि एलकेजी, युकेजीको कक्षा पनि सञ्चालन गर्ने सोच छ विद्यालयको । विसं २००८ मा स्थापना भएको विद्यालय २०३७ सालदेखि निमावि, २०४३ सालदेखि मावि र २०७४ देखि कक्षा १२ चलाएको हो । 

विसं २०७६ को चैतदेखि विद्यालयको नेतृत्व सम्हालेका केशवचरणको सोच छ, विद्यालयलाई अझै अब्बल बनाउने । विद्यालय व्यवस्थापन समितिले पनि विद्यालयमा शिक्षाको सुधारकाबाहेक अरु विषयमा चासो राख्दैन । सरकारले शिक्षकका लागि तलब भत्ताको व्यवस्था गरे पनि अन्य भौतिक पूर्वाधारका लागि बजेट उपलब्ध नगराइदिँदा त्यसको व्यवस्थापनमा ध्यानु दिनुपरेको उनको भनाइ छ । 
 
एउटै विद्यालयमा दाजुभाइ नै प्रअ र सहायक प्रअका रुपमा रहेका केशवचरण र विजयचरणले भने, 'सरकारी विद्यालय पनि यस्तो बन्छ र बनाउन सकिन्छ भन्ने मानक हामी स्थापित गर्छौँ, हामीलाई खुला हृदयका साथ सहयोग होस् ।'

सार्वजनिक शिक्षामा केही गौँ भन्ने आभास उनीहरू दुवैको आँखामा देख्न सकिन्थ्यो । भक्तपुरका पुराना राजनीतिज्ञ एवं समाजसेवी कृष्णचरण श्रेष्ठका जेठा छोरा हुन् केशवचरण र माइला छोरा हुन् विजयचरण ।
 
सोही विद्यालयमा बिहानको सत्रमा अर्कै नाममा अर्को विद्यालय पनि सञ्चालन छ । उमेरले ८७ वर्ष लागे पनि कृष्णचरण आफै पनि बिहान अर्थशास्त्र पढाउन पुग्छन् । छोराहरूले गणेश माविलाई गणेश मावि जस्तो बनाएका पितालाई पनि सन्तोष छ । सार्वजनिक शिक्षा राज्यको दायित्व हो । तर राज्यले राम्ररी हेर्न नसकेकामा उनको गुनासो छ । विद्यालय सञ्चालन गर्ने व्यवस्थापन समिति, त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारी मात्रै इमान्दार हुने हो भने धेरै सुधार गर्न गर्न सकिने र हुने उनको दृढ विश्वास छ । कृष्णचरण भन्छन्, 'अन्यत्र पढ्ने र पढाउनेभन्दा राजनीति बढी हुँदा शैक्षिकस्तर हरेक वर्ष खस्कँदै गयो ।' अधिकांश विद्यालय अगाडि बढ्न नसक्नुको पछाडि व्यवस्थापन समितिले अनावश्यक हस्तक्षेप गर्नु पनि रहेको उनको भनाइ छ ।
 
जिल्लाकै नमूना विद्यालयका रुपमा स्थापित भएको सो विद्यालय जस्तै अरु विद्यालयलाई पनि बनाउने दायित्व त्यहीँका अभिभावक, शिक्षक र सरकारको हो । सरकारी विद्यालयको शैक्षिकस्तर हरेक वर्ष खस्किरहेका बेला गणेश माविले देखाएको उदाहरण अरु विद्यालयका लागिसमेत प्ररेणाको स्रोत बन्न सक्छ । रासस


Author

थप समाचार
x