सम्पादकीय

सम्पादकीय

मतगणनामा पट्यारलाग्दो ढिलासुस्ती

इकागज |
जेठ २, २०७९ सोमबार १७:१६ बजे

आवश्यकता परेको खण्डमा मुलुकभर एकैपटक तीन तहको निर्वाचन एकैटक गराउन समर्थ छौं भन्ने निर्वाचन आयोगले अहिले स्थानीय निकायको मतगणनामा भने आफ्नो कार्यक्षमता माथि नै प्रश्न उठाउने काम गरेको छ । 

निर्वाचनको परिणाम सुन्न आतुर रहेका देश विदेशका नेपालीहरूलाई आयोगको कछुवा गतिको मतगणनाले पट्यार लगाएको छ । निर्वाचनको परिणाम हेर्न आँखा तन्काइरहेका र सुन्न व्यग्र प्रतीक्षामा रहेका आम जनमानसको अपेक्षामा आयोगले पुरै तुषारापात गराइदिएको छ । 


ढिलाइ र सुस्तताको पनि हद हुन्छ । स्थानीय तह निर्वाचनको परिणाम कुर्दा कुर्दै दल, उम्मेदवार र मतदाता आजित हुँदै छन् । आफूले मत दिएको प्रतिनिधि विजयी भए या भएनन् भन्ने जान्ने हरेकमा व्यग्र इच्छा हुन्छ । अनि दल–उम्मेदवारको राजनीतिक भविष्य जोडिएको हुँदा उनीहरु आत्तिन पुग्छन् नै । चुनावी परिणाम सुन्न जो कोही अधैर्य हुनु अनौठो होइन । जनताले मतपेटीकामा मत व्यक्त गरिसकेपछि छिट्टै परिणाम आओस् भनेर अपक्षा गर्नु स्वभाविक हुन्छ । 

चुनावी मत परिणाम सुन्न उम्मेदवार–मतदाता आतुर हुन्छन् भन्ने बुझेको निर्वाचन आयोगको मतगणनाको र्फ्तार बढाउनुपर्थ्यो । जुन उत्साह र उमंग मतदान भएको थियो, त्यही शैलीमा मत परिणाम सुन्ने चाहना राख्नु अस्वाभाविक होइन । तर, निर्वाचन आयोगले मतगणना ढिलाइका शैली दूर गर्न अझै प्रयास नगर्दा लामै समय कुर्नुपर्ने स्थिति पैदा भएको छ ।

मत गणनामा यही शैली–प्रवृत्ति निरन्तर रहे महानगर–उपमहानगरको मत परिणाम घोषणा हुन नै एक महिनाभन्दा बढी लाग्ने सम्भावना बढेर गएको छ । अत्यास लाग्दो ढिलाइ दूर गर्ने सवालको सुनुवाइ नभएमा चुनावी इतिहासका निम्ति एउटा ‘च्याप्टर’ बन्नेछ, अध्येयताहरुका निम्ति । मत गणना परिणाम घोषणामा देखिएको सुस्तताले ‘रेकर्ड’ कायम गर्ने निश्चित छ ।

छिटपुटबाहेक विगतभन्दा अलि फरक र शान्त वातावरण निर्वाचन भयो । सार्वजनिक तहमा चुनावी तामझाम कम पनि देखिएकै हो, भित्रभित्रै भोजभतेर, पैसाको बिटोको खेल मञ्चन भए पनि । आयोगले गुप्त रुपमा हुने त्यस्ता विकृति न्यून गर्न ‘सुक्ष्म’ अनुगमन सूत्र परिचालन गरेपनि ‘कारबाही’कै शैली सार्वजनिक गरिसकेको छैन । आशा राखौं, त्यसरी अनुचित शैलीमा खर्च गर्नेहरुको सूची पनि सार्वजनिक गर्दै विजयीहरुको जित खोस्ने तहसम्म पुग्ला नै । त्यो विषय विषयलाई यतिखेर थाति राखौं ।

तर, अब आयोगले जसरी हुन्छ मत गणना र परिणाम घोषणामा रणनीतिक शैली अपनाउनुपर्छ । आयोगले सरकारसँग थप कर्मचारी माग्दै मतगणना थलो बढाउँदै छिटो परिणाम घोषणा गर्नेतिर लाग्नैपर्छ । जसरी उत्साही माहौलमा चुनाव भएको थियो, परिणाम पनि त्यसरी उत्साही माहौलमै घोषणा गर्न सक्नुपर्छ ।

मतगणना छिटो सम्पन्न गर्न आयोग त्यति गम्भीर भएको पाइँदैन, जति हुनुपथ्र्याे । उसले सुस्त शैलीको कारण खोज्दै या गणना थलो बढाउँदै तातै माहौल परिणाम घोषणा गर्नेतिर लागेको देखिन्न । यतिखेर एक मात्र विकल्प भनेको बढी भन्दा बढी टोली बनाउनु र मतगणना गराउनु हो । आयोगका पदाधिकारीहरुले मतगणना स्थलकै निरीक्षण गरी सुरक्षा बढाउँदै जति धेरै ठाउँमा मतगणना गरायो, त्यति नै छिटो परिणाम सार्वजनिक गर्न सकिन्छ । अघिल्लो पालि पनि मतगणना ढिलै भएको हो, त्यतिखेर मतगणना क्रममा सिकिएको पाठ सच्याउनेतिर आयोग पाइएन ।

चुनाव त आइरहन्छ, गइरहन्छ । अब संघ–प्रदेशको चुनाव गर्नैपर्छ । त्यसो हुँदा आयोगले मतपत्रका प्रावधिक जटिलता बुझ्दै आगामी दिनमा फरक विधि–प्रविधि र शैली अपनाउनेतिर अध्ययन अघि बढाउनुपर्छ । यतिखेर छिटो मतगणना गर्न तात्कालीक र दीर्घकालीन गरी दुवैखाले रणनीतिमा आयोग प्रवेश गर्नुपर्छ । तत्कालका निम्ति दल, उम्मेदवार र मतदाता दुवैको धैर्यता बाँध टुट्न नदिन निर्वाचन आयोगले सरकारी संयन्त्र प्रयोग गरी मतगणनास्थल बढाउनुको विकल्प छैन ।


Author

थप समाचार
x