सम्पादकीय

सम्पादकीय

क्रिकेटमा विश्व रेकर्ड : चुप बसे अब चैं सरकारलाई लाजै हुन्छ

इकागज |
असोज १०, २०८० बुधबार १८:५९ बजे

चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत पुरुषको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले मंगोलियालाई पराजित गर्दा कीर्तिमानको ओइरो लाग्यो ।
अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको मंगोलियालाई नेपालले २ सय ७३ रनले पराजित गर्दा विश्व कीर्तिमान कायम गर्‍याे । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा रनका हिसाबले नेपालले मंगोलियामाथि हात पारेको सबैभन्दा ठूलो जित हो । यसअघि चेक रिपब्लिकले टर्कीलाई २ सय ५७ रनले हराएको थियो ।

त्यसैगरी, पहिले ब्याटिङ गर्दा नेपालले निर्धारित २० ओभरमा केवल ३ विकेट गुमाएर बनाएको ३ सय १४ रन टी-ट्वान्टी अन्तर्राष्ट्रियमा कुनै पनि टिमले बनाएको सर्वाधिक रन हो । यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।


मंगोलियाविरुद्ध नेपालका कुशल मल्लले ५० बलमा अविजित रहँदै १ सय ३७ रन बनाउँदा १२ छक्का र ८ चौका हिर्काउँदा उनले ३४ बलमै शतक पूरा गर्दै विश्व कीर्तिमान पनि कायम गरे । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र रोमानियाका विक्रमासेकाराले ३५ बलमा शतक पूरा गरेका थिए ।

त्यसैगरी, दिपेन्द्र सिंह ऐरीले १० बलमा ५२ रन जोड्दा ८ छक्का प्रहार गरे । उनले ९ बलमै अर्धशतक पूरा गरे । दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा अर्धशतक पूरा गर्ने विश्व कीर्तिमान कायम गरेका छन् । दिपेन्द्रले भारतीय पूर्व क्रिकेटर युवराज सिंहको कीर्तिमान तोडेका छन् । युवराजले इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक पूरा गरेका थिए ।

यसरी कीर्तिमान नै कीर्तिमानसँगैकाे सहज जितले अहिले नेपाली क्रिकेट टाेलीका समाचारले विश्वभर सनसनी मच्चाइरहेका छन् । बधाईका पात्र बनिरहेका छन् ।

पछिल्लो समय नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा एकपछि अर्को सफलता हात पारिरहेको छ, त्यो पनि सिमित स्रोत र साधनकै भरमा ।

केही दिनअघि पाकिस्तान र श्रीलंकामा सम्पन्न एसीसी एसिया कपमा नेपालले डेब्यू गर्दा टेस्ट राष्ट्रहरू भारत र पाकिस्तानविरुद्ध सम्मानजनक प्रदर्शन गरेको थियो । भारत र पाकिस्तानविरुद्ध नेपाली टिमले गरेको प्रदर्शनका कारण विश्वजगतकै ध्यान नेपाली क्रिकेटतिर तानिएको थियो । 

नेपाली टिमको चौतर्फी प्रशंसा भएको थियो । त्यसअघि आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अन्तिम १२ मध्ये ११ एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्दै सनसनी मच्चाएको थियो । जसको परिणाम स्वरुप नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतामात्र जोगाएन नेपाल एकदिवसीय विश्वकप छनोटमा समेत स्थान बनाउन सफल भयो । 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पारिरहँदा सरकारले पनि नेपाली टिमलाई बधाई दिने तथा पुरस्कारको घोषणा गर्ने गरेको छ । साथै क्रिकेट पूर्वाधारमा समेत लगानी गर्न प्रतिवद्धता जनाइरहेको छ । तर सरकारले जनाएको प्रतिबद्धता र वास्तविकतामा मेल खाँदैन । सरकारले खेलाडीलाई पुरस्कार दिने घोषणा गरेपनि महिनौँसम्म पुरस्कारको रकम खेलाडीको हातमा पर्न सकेको छैन ।

त्यसैगरी, सरकारले बजेटमा पनि क्रिकेटको संरचनाका लागि बजेट छुट्याएपनि त्यसले सार्थकता पाउने गरेको छैन । रहेका क्रिकेट मैदानमा स्तरउन्नति गर्ने कार्य गर्न सकेको छैन भने निर्माणाधीन रहेका मैदानहरूको अवस्था पनि दयनीय छ । सरकारले समयमा पर्याप्त बजेट नदिएकै कारण निर्माण कार्य तथा पुनर्निर्माण पूरा हुन सकेको छैन । जसका कारण नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू आयोजना पनि गर्न पाएको छैन । 

तर सोही समयमा नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहँदा सरकारदेखि जनस्तरसम्म प्रशंसा हुने गरेको छ । तर ती प्रशंसाले मात्र नेपाली क्रिकेटको विकास नहुने निश्चित छ । नेपाली क्रिकेटको विकासका लागि खेलाडीलाई प्रोत्साहनदेखि भौतिक पूर्वाधार विकासमा पनि सरकारले आँखा लगाउनु अिहलेकाे आवश्यकता हाे । साथै भइरहेका निर्माणकार्यलाई समयमा सम्पन्न गर्न सरकारले तदारुकता देखाउन आवश्यक छ ।

सरकारले संघदेखि प्रदेश र स्थानीय तहसम्म क्रिकेटको संरचना बलियो बनाउनका लागि सहयोग गर्नुपर्छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहमा क्रिकेट मैदानको निर्माणकार्य तथा रहेका भौतिक पूर्वाधारको स्तरउन्नति गर्न पनि आवश्यक छ । 

नेपालले पछिल्ला समयमा क्रिकेटमा गरेको प्रगतिलाई हेर्ने हो भने नेपाली क्रिकेटको भविष्य उज्जवल छ । तर यसका लागि सरकारको लगानी र सुझबुझ पनि आवश्यक छ । 

यता नेपाल क्रिकेट संघ (क्यान) ले पनि क्रिकेटको घरेलु संरचनालाई बलियो बनाउन आवश्यक छ । क्यानले नियमित घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाका लागि खाका तयार पारेरै अघि बढ्नुपर्छ । घरेलु प्रतियोगितालाई औपचारिकतामा मात्र सिमित राख्नुहुँदैन ।

खेलाडीहरूले यस्ता विश्व रेकर्ड राख्ने खेल खेलिरहँदा अनि नेपालकाे नाम उँचाे बनाउँदा पनि खेलाडीकाे खेल विकास तथा संरचना निर्माण अनि प्राेत्साहनमा चुके अब चैं सरकारलाई लाजै हुन्छ ।


Author

थप समाचार
x