सम्पादकीय

सम्पादकीय

सडक, सडक जामको मुद्दामा पनि तातोस्

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १६:३४ बजे

देशको केन्द्रीय राजधानी काठमाडौँ उपत्यका भद्रगोल यातायातको पर्याय बनेको छ । अझ यसैमा विशिष्टहरूको सवारीको आतंकले बिरामीदेखि विद्यार्थीसम्म आजित छन् ।

कार्यालय समयमा जाम हुने कारण स्कुले साना बालक बिहानै सातै बजे बस चढ्न बाध्य छन् । दूधे बालकहरू रुँदै घण्टौँ बसमा यात्रा गर्छन् । यो उनीहरूको बालअधिकार विपरीत हो । अनि साँझ पनि छिट्टै छुट्टी हुने हुँदा कामकाजी अभिभावकलाई घर फर्किने समय मिलिरहेको छैन । कार्यालय समय र स्कुल समय फरक गर्नु अमिल्दो छ ।


एम्बुलेन्सदेखि वारुणयन्त्रसमेत जाममा फस्ने देश बनेको छ, यो । ठूलाबडा शासकहरूका लागि बाटोमा कुनै अवरोध छैन । तर, आम सर्वसाधारणका लागि यहाँ यात्रा गर्नु कष्टकर छ ।

यहाँ बाटो काट्ने समस्या छ । सडकपेटी छैनन् । अपांगतामैत्री त कतै छैन सडक । गाडीमा सिट पाउने समस्या छ । भनेको समयमा कहीँ पुगिँदैन, बेग्लै समस्या छ । पार्किङको उस्तै समस्या छ । पार्किङ शुल्क पनि धेरै महँगो छ ।

साना गाडी किन्न दिइरहने अनि सडकको सकस कम गर्नेतिर नसोच्ने किन ? एक दुई जना मानिस चढ्ने ससाना गाडीको संख्या धेरै नै भइसकेको छ । १० जना यात्रुका लागि १० वटा गाडीले बाटोमा कति ठाउँ ओगट्छन् ? तिनको ठाउँमा साझा यातायातजस्ता ठूला सवारी साधन थपिनुपर्ने हो ।

मोटरसाइकलहरूको आतंक नै छ । सडकपेटी जताततै यिनै गुड्छन् । ओभरटेकले दुर्घटना बढाएको छ । सडकमा उभिने बिचरा प्रहरी हैरान भइसकेका छन् । उनीहरूको स्वास्थ्यको चिन्ता कसैलाई छैन । नियम पालना नगर्न पाउँदा यहाँ मान्छे मख्ख पर्छ ।

सडकलाई संवेदनशील अत्यावश्यक स्थल घोषणा गरियोस् । कसैको पनि एक मिनेट विलम्ब गराइदिनु अपराध ठानियोस् ।

थोरै मान्छे बोक्ने साना सवारी कम गर्नुपर्छ । ठूलाठूला बस बढी चलाइयोस् । जाम कम गर्नेतिर छिट्टै सोचियोस् । ती ठूला बसहरु भनेको समयमै छुटून्, भनेकै ठाउँमा मात्र रोकिऊन् । यात्रु पुगेन भनेर १० मिनेट एकै ठाउँमा नरोकियोस् । सिटभन्दा बढी चढाउन नपाऊन् । यसका लागि बस प्रशस्त हुनुपर्छ । यात्रुहरूलाई बाध्यता पनि छ, सिट नभए पनि चढ्नुपर्ने गरी । 

विशिष्टको सवारीमा सामन्ती शैली तुरुन्त बन्द गरियोस् । पाहुना आए भनेर घरका साना सदस्यलाई दुःख दिने ? जाममा परेर सडकमा बिरामीको मृत्यु हुन्छ भने राज्य अपराधी हो ।

सडकलाई संवेदनशील अत्यावश्यक स्थल घोषणा गरियोस् । कसैको पनि एक मिनेट विलम्ब गराइदिनु अपराध ठानियोस् । जहाँ सडक सुरक्षित छैन, त्यहाँ केही पनि सुरक्षित छैन ।

अनेक नाममा आन्दोलन हुने सडक अब आफ्नै सडकका मुद्दासहित तातियोस् । साइकल चलाउने वातावरण तुरुन्त बनोस् । साइकलका कति फाइदा भनेर भनिसाध्यै छैन, कति कति फाइदा छन् । पैदल हिँड्ने वातावरण बनोस् । कर उठाउने नाममा साना गाडी भित्र्याउँदै जाने हो भने मान्छे बराबर नै गाडीको संख्या हुनेछ । अनि कहाँ गुडाउने ?


Author

थप समाचार
x