रोग र उपचार

प्राकृतिक दर्दनाशक ओखती !

नारायण घिमिरे |
माघ १४, २०७८ शुक्रबार ८:१८ बजे

सामान्य टाउको दुख्ने, मांसपेशीमा तनाव, अन्य दुखाइको पिडा सहनु पर्दा आइबुप्रोफेन (ibuprofen or  Advil), एसिटामिनोफेन (Acetaminophen  ie paracetamol or  Tylenol), एस्प्रिन (Aspirin) जस्ता ओभर-द-काउन्टर मतलब किन्नको लागि डाक्टरको प्रिस्क्रिप्शन नचाहिने औषधिहरू प्रभावकारी पीडा निवारक सेन्थेटिक ओखतीहरू  हुन। तिनीहरूको प्रभावकारिता सर्त सहित उपलब्ध छ। त्यो सर्त हो लामो समयसम्म तिनीहरूको प्रयोगले तपाइको शरीरमा विभिन्न साइड इफेक्टहरू निम्तने गर्दछ।

कतिपय अन्य रोग समेत भएका बिमारी र अन्य ओखती समेत खादै गरेका रोगीमा सामान्य लाग्ने यस्ता दर्दनाशक ओखतीहरू पटक पटकको सेवनले गम्भीर प्रतिकूल प्रभावहरू समेत दिने गरेको भेटिन्छ।तत्कालको पीडा निवारण भन्दा लामो समय सम्मको निरोगी जीवन शैलीलाई महत्त्व दिने हो भने त्यस्ता सेन्थेटिक ओखतीहरू लाई हाम्रो आफ्नै रैथाने र आयुर्वेदिक प्राकृतिक तरिकाको उपचार ले विस्थापन गर्नु हितकार हुने छ।


संसारमा कतै नदेखिएको र नबेहोरिएको  हदमा हाम्रोमा जब राजनीति एक पेसा तथा सर्वाधिक मुनाफाकारी सामाजिक उद्यममा परिवर्तन बन्यो तब कोभिड जस्तो पहिले नै अनुमान गरिएको महामारीमा समेत बजारमा सिटामोल, आइबुप्रोफेन र एस्प्रिन जस्ता  सेन्थेटिक ओखतीहरू समेत भेटिन छोडेको, ठुलो मात्राको कोभिडको भ्याक्सिन नै गायब भएको स्थितिको हामी मूक दर्शक बन्न बाध्य छौ।

तसर्थ हामीले चाहेर पनि नचाहेर पनि ती पीडा निवारक सेन्थेटिक ओखतीहरूको विकल्पमा  हाम्रै गाउँ घर र पखेरामा सहज पाइने जडीबुटी र हिलिङ्ग खाद्य लाईओखतीको रूपमा प्रयोग गर्न अत्यावश्यक भएको छ। महामारीको वेला एउटा सिटामोल समेत व्यवस्था गर्न नसक्ने हाम्रो सरकारले भोलि हामीले हाम्रो घर खेत बेची पैसा तिरेर खान खोज्दा समेत हामीलाई चाहिने औषधि मुलोको व्यवस्था गर्न सक्ने छैन भन्ने निश्चित रहेकाले हामीले अन्य प्रकृतिको उपचारमा समेत हाम्रो आफ्नै रैथाने, घरेलु तथा आयुर्वेदिक ओखतीको विकल्प बारे तैयार भएर बस्न जरुरी भएको छ।

सिटामोल, प्यारा सिटामोल र एस्प्रिन जस्ता पीडा निवारक सेन्थेटिक ओखतीहरूको  पटक पटकको प्रयोगले दिने दीर्घकालीन साइड इफेक्टहरूमा आन्द्रामा क्षति, कलेजोमा क्षति र मिर्गौलामा क्षति आदि पर्दछ। पेटमा ग्यास हुने, हड्डीका जोर्नी दुख्ने र मूलतः हाम्रो आन्द्रामा रहेका हाम्रो स्वस्थको रेखदेख गर्ने गट माइक्रोवायोमहरूको जीवन नै तोबा तोबा गरिदिएर हामीलाई अपच हुने, अल्सर हुने, पाचन प्रणाली र मस्तिष्क बिचको नियमित सञ्चार खलबलाई दिएर कहिल्यै नसुनिएको मानसिक रोक र अजिबका विकृतिहरू निम्ताई दिन सक्दछ।

दुख्नु, तातो भएर आउनु, रातोपन देखिनु र सुन्निनु आदि लाई औषधि विज्ञानको मान्यतामा शरीरले आन्तरिक रूपमा दर्द भोगिरहेको कुराको अभिव्यक्तिको रूपमा लिने गरिन्छ। असामान्य बाहेक अन्य दुखाइ हरूमा बिरामीहरू तत्काल इमर्जेन्सी सर्किजल हस्तक्षेपको आवश्यकता जरुरत पर्ने नहुँदा पीडा कम गर्न र सहज जीवन यापनमा सहजता ल्याउन दर्दनाशक उपायको अवलम्बन गरिन्छ।जति बेला यस्ता सेन्थेटिक ओखतीको विकास नै भएको थिएन त्यति वेला हाम्रा पुर्खाहरूले आफ्नै घर छेउको पखेरामा जता ततै हुने बैँस भनिने सेतो बिलो नामक बिरुवाको बोक्रा चपाएर प्राकृतिक रूपमै पीडा निवारक सेन्थेटिक ओखतीहरूकोहदकै तत्काल पीडा वाट  मुक्ति लिने जुक्ति अपनाउने गर्दथे।

औषधि विज्ञानको यथार्थ इतिहासको कुरा गर्ने हो भने संस्कृतमा जलवेतस र नेपालीमा  बैँस भनिने वैज्ञानिक नाम Salix tetrasperma दिइएको सेतो बिलोको बोक्राबाट प्राप्त हुने सेलिसिनलाई कलेजोले सेली-साइलिक एसिड एसिडमा परिणत गर्छ।सेली-साइलिक एसिड ज्वरो, टाउको दुख्ने आदिमा  पीडा निवारकको काम गर्दछ।

विश्वभरि पौष्टिक पूरक आहारको रूपमा, दीर्घकालीन दर्द,  सुन्निएको, रक्त सञ्चारमा देखिएको विकृतिदेखि मानसिक र शारीरिक कार्य असन्तुलन सम्मका रोगहरूको उपचार गर्ने फाइटोकेमिकलको रूपमा प्रयोग गर्ने गरिन्छ।

जब औषधि विज्ञानले सेली-साइलिक एसिड दर्द नाशक भएको थाहा पायो तब सेन्थेटिक रूपमा सेली-साइलिक एसिड लाइनै औषधीय तत्त्व राखी एस्पिरिनको विकास गर्‍यो। त्यही एस्प्रिननै आज हामी फार्मेसीमा पुगेर  आइबुप्रोफेन र प्यारा-सिटामोलको कम्प्लीमेन्ट्री (पूरक) एनाल्जेसिक (दर्द नाशक) र ज्वरो घटाउने गैर-स्टेरोइडल एन्टी-इन्फ्लेमेटरी मेडिसिन्स (NSAIMs) ओखती भनी सेवन गर्ने गर्दछौ।

सेतो बिलोको बोक्रा विकसित मुलुकहरूको लागि एस्पिरिन भन्दा महँगो विकल्प हो। हाल सेतो बिलोको सुरक्षित सेवनको मात्रा २४० मिलिग्राम प्रति दिन निर्धारित छ। जसको एस्पिरिनको भन्दा कम साइड इफेक्टहरू हुने गर्दछ।परम्परागत रूपमा प्राकृतिक सेतो बिलोको दुई ठुन्का सफा गरिएको बोक्रा चपाएर वा त्यसलाई टिंगचरको रूपमा झोल सारतत्व निकाली १ देखि २ ड्रपर भरि (चम्चा) ओखतीको रूपमा लिने गरिन्थ्यो।त्यो भनेको अहिलेको एक चक्की ३०० मिलिग्रामको एस्प्रिनको ट्याब्लेट बराबर नै हो। 

सिटामोलको मुख्य औषधीय पदार्थ प्यारा सिटामोल नै हो। जुन प्यारा सिटामोल, मकैको स्टार्च, पोटासियम सर्बेट, टाल्क (म्याग्नेसियम सिलिकेट), स्टेरिक एसिड, पोभीडोन (पोलीभिनायल-पाइरोल-आयोडिन)रघुलनशील स्टार्च मिसाएर चक्की बनाइएको हुन्छ। सेन्थेटिक प्यारासिटामोलमा यी दुनियाँ थरी तत्त्व हाल्नुको कारण एक त यसलाई ट्याब्लेट बनाउनु पर्‍यो, अर्को पाचन क्रियामा पेटमा पैदा हुने एसिड सँग जोगाउनु पर्‍यो, अनि आन्द्रामा पुगे पछि तोकिएको समयमा घुल्न पर्‍यो (डिजलुसन) आदि हो। त्यहाँ भएको मकैको स्टार्च र घुलनशील स्टार्च बाहेक अन्यको फेरी आफ्नै सेन्थेटिक प्यारा सिटामोलको जस्तै अन्य साइड इफेक्टहरू हुने गर्दछ।

हामी हाम्रो मुलुकमा आफै के गरी रहेका छौ भन्ने कुराले संसारले के गरी रहेको छ भन्ने कुरा निर्धारण गर्दैन। आज हामी हाम्रो मुलुकमा राजनैतिक धोकाको कारण किनेर खान्छु भन्दा पनि सिटामोल समेत राज्यले व्यवस्था गर्न नसक्ने भएर हाम्रो भिर पाखाको विकल्प खोज्दै छौ। तर विकसित मुलुक भने सेन्थेटिक ओखतीको एउटा सानो गुण लिन कम्तीमा तिन र औसतमा पाँच वटा बैगुन बेहोर्न पर्ने बाध्यताले प्राकृतिक हर्बल ओखती तिर लाग्न थालेको निकै भइसक्यो।

त्यसै क्रममा आज संसारभर एस्प्रिनको साटो बिलोको सुक्खा  बोक्रालाई जडीबुटीको रूपमा ग्रहण गर्ने ग्राहक को सङ्ख्या निकै बढेको छ। संसार भर बिलोको सुक्खा बोक्रा बेच्न त्यस वाट आउने एसेंसियल ओइल लगायतका सारतत्व बिक्रीको क्रम निकै बढेको छ। प्राकृतिक रूपमा उपलब्ध हुने कुनै पनि चिज त्यसमा औषधीय महत्त्वमा थप प्रवर्धन हुने अवस्था नरहेको अवस्थामा जति प्रशोधन गर्‍यो त्यति क्षमतामा ह्रास आउने हुँदाबिलोको सुक्खा बोक्राको सवालमा यो हाम्रो परम्परागत तरिकामै सेवन गर्नु उत्तम देखिन्छ।

परम्परागत तरिका अनुरूप तपाईँ यसलाई चिया जस्तै पकाएर पिउन सक्नुहुन्छ। चियामा सिन्कौली हाले जस्तो यसलाई हालेर पनि खान सक्नु हुन्छ। बैँसको पूरक खाद्य वा सप्लिमेन्टको रूप वा तरल सिरपको रूपमा वा पाउडरको क्याप्सुल बनाएर वा ट्याब्लेट बनाएर पनि सेवन गर्न सक्नु हुन्छ। आज संसारभरबिलोको बोक्राको चूर्ण वा क्याप्सुल  वा ट्याब्लेट वा झोल सबै रूपमा किन्नको लागि उपलब्ध छ। बिलोको मूलतः ज्वरो नियन्त्रण, टाउको दुखाइ, ढाड दुखाइ, ओस्टियोआर्थराइटिस जस्ता अवस्थाहरूमा आइलाग्ने असुविधाबाट छुटकारा पाउनको प्रयोग गर्ने गरिन्छ।

हुन त बिलो आफैमा प्राकृतिक जडीबुटी हो। प्राकृतिक जडीबुटी भइकन पनि यसले सेन्थेटिक ओखतीको जस्तै तत्काल राहत दिने हुँदा बैँसको बोक्राको एस्पिरिनको जे जे साइड इफेक्ट हुन्छ त्यो सबै साइड इफेक्ट हुन्छ भन्ने मान्यता राखेर सेवन गर्दा जीवन सहज हुने छ।जस्तै यसको पटक पटक वा नियमित सेवनले तपाइको पेट खराब गर्न सक्छ, मिर्गौलाको काम गर्ने प्रक्रियामा सुस्तता थपी दिन सक्छ र एस्पिरिनले जस्तै रगत पातलो गर्ने र काटेको ठाउँ वाट वा घाउ वात रगत लामो समय बग्ने जस्ता समस्या दिन सक्छ।

जसरी धेरै परिमाणमा एस्पिरिन लिनु बालबालिकाका लागि हानिकारक हुन सक्छ, त्यसै गरी बिलोको बोक्राको पनि त्यो दुर्गुण हुन्छ भनी प्रयोग गर्नु बुद्धिमानी  हुनेछ। यदि तपाईँको शरीर एस्प्रिन प्रति संवेदनशील छ वा तपाइले डाक्टरको प्रिस्क्रिप्सन बिना किन्न पाइने ओभर-द-काउन्टर (OTC) एन्टि-इन्फ्लेमेटरी ड्रग जस्तै एस्पिरिन, आइबुप्रोफेन, वा नेप्रोक्सेन हाल खाइ रहनु भएको छ भने बिलोको बोक्रा नलिनु राम्रो।

किनकि दुवै एकै प्रकारको ओखतीको संयुक्त मात्राले दिने नतिजा तपाइले सोच्नै नसकिने दिसामा जान सक्छ। यदि तपाईँ वारफेरिन (कउमाडिन) वा अन्य रगत जम्न नदिने एन्टीकोगुलेन्टको  उपचारमा हुनु हुन्छ भने पनि तपाईँले अन्य सेन्थेटिक दर्द नाशक जस्तै बिलोको बोक्रा वा त्यस वाट बनाइएको ओखती लिनबाट जोगिनै पर्छ। किनकि सेतो बिलोको बोक्राले दिने सेलिसिनले पनि अन्ततः रगत पातलो गरी रक्तस्रावको जोखिम बढाउन सक्छ।

सेतो बिलोको बोक्राले जस्तै हाम्रो परम्परागत ज्वरो र दर्द नाशक जडीबुटी आजसंसारले  पिक्नोजिनोल (Pycnogenol) भनेर चिनिने  पाइनको रुखको बोक्राको सार तत्त्व हो। पाइनको रुखको बोक्रा भनेको सल्लाको रुखको बोक्रा भनेको हो। 

पिक्नोजिनोलमा ६५-७५% फ्लाभोनोल मनोमरको रूपमा रहेको क्याटेचिन, इपि-क्याटेचिन र ट्याक्सी-फोलिन मुख्य औषधीय गुण भएको तत्त्व हुने गर्दछ।क्याटेचिन र इपि-क्याटेचिन टेनिन युक्त फ्लेभोनोइडको बाक्लो मिश्रण हो। अन्य तत्त्वहरूमा बेन्जोईक एसिड ग्रुपका प्यारा -हाइड्रोक्सी बेन्जोईक एसिड, प्रोटो-क्याटेचुईक एसिड, भेनेलिक एसिड र ग्यालिक एसिड हो। सिनामानिक एसिड ग्रुपमा प्यारा-कौमारिक एसिड, क्यफीईक एसिड, फेरुलिक एसिड रहेको देखिन्छ। त्यस्तै मिनीरल्सहरुमा क्याल्सियम, पोटासियम, आइरन, म्यग्निज, जिङ्क, कपर, सिलानियम रहेको हुन्छ।  

पिक्नोजिनोल हाम्रो शरीरले अत्यन्त सहज रूपमा अवशोषण गरी सदुपयोग गर्न सक्छ। पिक्नोजिनोलका एउटा एउटा गरी छुट्टाएर बनेको तत्त्वले भन्दा पिक्नोजिनोलको रूपमा रहेको उक्त तत्त्वहरूको सामूहिक मिश्रण एक आपसमा संयुक्तमा रहेर शरीरमा सोसिन र विशिष्ट औषधीय भूमिका निभाउन प्रभावकारी हुने अनुसन्धानहरूले देखाएको छ।

यथार्थमा सामूहिक मिश्रणको रूपमा रहँदा समूहमा रहेका तत्त्वहरू एकले अर्कोको सहयोगी वा सिनार्जेटिक कार्यगर्ने भएकोले पिक्नोजिनोलले एउटा एउटा शुद्ध कम्पोनेन्टहरूले भन्दा पिक्नोजिनोलले बृहत् जैविक प्रभावहरू प्रदर्शन गर्न सफल भएको हो। आज पिक्नोजिनोल विश्वभरि पौष्टिक पूरक आहारको रूपमा, दीर्घकालीन दर्द,  सुन्निएको, रक्त सञ्चारमा देखिएको विकृतिदेखि मानसिक र शारीरिक कार्य असन्तुलन सम्मका रोगहरूको उपचार गर्ने फाइटोकेमिकलको रूपमा प्रयोग गर्ने गरिन्छ।

पिक्नोजिनोलको मिश्रणका आधारभूत रासायनिक तत्त्वको रूपमा रहेको मुख्य मुख्य तत्त्वहरूको विशेषता केलाएर हेर्दा सामूहिक रूपमा तिनीहरू एउटा बलिष्ठ एन्टिअक्सिडेन्ट नै निर्माण गरेको भेटिन्छ। वास्तवमा यसका मुख्या फिनोलिक एसिडहरू, पोलि-फिनोलहरू र विशेष रूपमा सुगन्धित रिङहरूबाट बनेका सुगन्ध दिने फ्लेभोनोइडहरू एक वा सो भन्दा धरै हाइड्रोक्सिल ग्रुपका फ्लेभोनोइडहरू भेटिन्छन्। जसले मूलतः शरीरको संवेदनशील अङ्गहरूमा क्षति पुर्‍याउने सम्भावना बोकेका अस्थिर फ्री-रेडिकलहरुलाई स्थिर फिनोक्सिल रेडिकलहरूमा परिवर्तन गरी शरीर लाई दुख हुन वाट जोगाउने गरेको देखिन्छ।

हाम्रो हिमालयको सल्लो अर्थात् पिनस रोक्सबर्गी (Pinus roxburghii Sarg.) परम्परागत रूपमा धेरै औषधीय उद्देश्यका लागि प्रयोग भएको हामीलाई थाहा छ। अनुसन्धान वाट यसको बोक्राको तेल अर्थात् एसेन्सियल ओइल दर्द नाशक एनाल्जेसिक र एन्टि-इन्फ्लेमेटरी हुने र ज्वरोको समेत ओखती हुने प्रमाणित गरिदिएको छ। जडीबुटीको रूपमा व्यापक प्रयोग हुने सल्लोको बोक्रा हाम्रो रैथाने प्राकृतिक  दर्दनाशक र ज्वरोको ओखतीको विकल्पको रूपमा प्रयोगमा ल्याउन सकिन्छ।

(घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन्।)

 


Author

थप समाचार
x