कूटनीति

रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन उपविदेशमन्त्रीलाई परराष्ट्रमन्त्रीको आग्रह

इकागज |
माघ ६, २०८० शनिबार ७:१४ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले रूससँग नेपाली नागरिकहरूलाई रूसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रूसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई फिर्ता गरिदिन आग्रह गरेका हुन् ।

‘हामीले रूसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उनले भने, ‘त्यस कारण रूसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ ।’


परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरेको बताएका छन् ।

‘रूसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन् । आफन्तको शव प्राप्त गरी आफनो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो । त्यसकारण नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं,’ मन्त्री साउदले रूसी उपविदेशमन्त्रीसँग भने, ‘रूसी पक्षले मृतकका परिवारलाई रूसी कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएको छ । यसका लागि प्रक्रिया छिटो अघि बढाउन अनुरोध गर्दछौँ ।’

जवाफमा रूसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताए । रूसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा दुई पक्षबीच नेपाल–रूस सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

उनले नेपाल र रूस सम्बन्धको लामो इतिहाससमेत उल्लेख गरे । ‘हाम्रो सम्बन्धको जग बलियो छ,’ रूसी उपविदेशमन्त्रीले भने, ‘हामीले यी सम्बन्धलाई अगाडि बढाउनुपर्छ ।’


Author

थप समाचार
x