कूटनीति

शिखर सम्मेलनमा प्रधानमन्त्री दाहालको सम्बोधन

समतामूलक समृद्ध विश्व स्थापनामा 'नाम' ले निर्णायक भूमिका खेल्नुपर्छ

इकागज |
माघ ५, २०८० शुक्रबार १९:३ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असंलग्न आन्दोलन (नाम) ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । 

युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसंघपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । 


‘नाम’ का निरन्तरको मूल्य, मान्यता र सिद्धान्त हाम्रा लागि पवित्र रहेका उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसको पालनाले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारे । 'नाम आफैँमा सहयोगलाई प्रगाढ बनाउने थलो हो । सहयोगको माध्यमबाट विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्छ,' उनले भने । 

समृद्धि थोरैका लागि सुअवसर हुन नसक्ने तथा सामूहिक प्रयासको फल प्रत्येक देश र सबैलाई उपलब्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले सबै देशले समृद्धिलाई सकेसम्म समान रूपमा बाँडफाँट गर्न सक्ने वातावरण बनाइनुपर्ने बताए । 

'नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभइ सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो,' प्रधानमन्त्री दाहालले भने । 


Author

थप समाचार
x