कूटनीति

परराष्ट्र मन्त्री साउदले भने - १३३ परिवारले रसियाबाट स्वदेश फर्काइदिन निवेदन दिए

इकागज |
पुस २७, २०८० शुक्रबार १४:१२ बजे

फाइल तस्बिर

काठमाडौँ - परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा विद्रोही समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

'विपिनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ”, उनले भने, “मैले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उनले दोस्रो युद्धविरामका बेला विपिनको रिहाइ हुने विश्वास व्यक्त गरे । 


'कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ । दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ', उनले भने, 'पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेका र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ । विपिन सुरक्षित हुनुहुन्छ । उहाँ चाँडै रिहा हुनुहुनेछ ।'

मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरु नेपाल सरकारको अनुमति लिएर त्यहाँ भर्ती नभएको स्पष्ट पारे । उनले विद्यार्थी भिसा, भिजिट भिसालगायतमा रुस पुगेका त्यहाँको सेनामा भर्ती भएको बताए । रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठ शव अहिले त्यहाँको शवगृहमा राखिएको मन्त्री साउदले जानकारी दिए । 

शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल भइरहेको मन्त्री साउदको भनाइ छ । उनले भने, 'त्यसबाहेक एक सय ३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्य त्यहाँ पुगेको र जोखिममा परेका भनेर आग्रह गरेअनुसार हामीले उनीहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।'


Author

थप समाचार
x