कूटनीति

सीमा सुरक्षा समितिको बैठक सम्पन्न

सीमामा हुने अपराध, लागूऔषध ओसारपसार, सीमा स्तम्भबारे छलफल

सुभाष कर्ण |
फागुन १३, २०७९ शनिबार १९:२८ बजे

जनकपुरधाम- नेपाल र भारतका सुरक्षाकर्मीबीच सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ ।

शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागूऔषध ओसारपसार, सीमा स्तम्भको अवस्था लगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताएका छन् ।


उनले दुई देशबीचको सुरक्षाकर्मीहरूको संयुक्त बैठक सम्पन्न भएको बताउँदै बैठकले सीमा सुरक्षा व्यवस्थामा कडा गर्दै अपराधका सूचनाहरू एकआपसमा आदानप्रदान गर्नेसहितको निर्णय भएको जानकारी दिए ।

नेपाल र भारतका सुरक्षाकर्मीको नियमित बैठक भएको बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘यसमा हामी सीमा क्षेत्रमा हुने अपराध, अतिक्रमण, फेक करेन्सी, लागूऔषध ओसारपसार नियन्त्रण लगायतका सम्बन्धमा छफलफल गरेका छौं । यी बैठकले दुई देशबीचको सम्बन्ध पनि सुमधुर हुन्छ र हामी समय समयमा सुरक्षाकर्मीहरूबाट सहयोग पनि पाउँनेछौं ।’

बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागूऔषध सम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरूको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्ने लगायतको निर्णय भएको उनले जानकारी दिए ।

बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूको उपस्थिति रहेको थियो । भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्दकुमार वर्मा, बिहार प्रहरी, एसएसबीलगायतका सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x