अपराध

सम्पत्तिका लागि सुटरलाई ५ लाख तिरेर आफ्नै बुवाको हत्या

घटनामा मृतकका ज्वाईं प्रहरी हवल्दारको समेत संलग्नता

सुभाष कर्ण |
पुस २०, २०७९ बुधबार १८:१९ बजे

जनकपुरधाम । सम्पत्ति विवादका कारण सुटर लगाएर आफ्नै बुवाको हत्या गराएको आरोपमा एक युवकसहित तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । गत पुस ९ गते साँझ धनुषाको मुखियापट्टी मुसहरनियाका ५० वर्षीय धानुषधारी दासलाई घरमै मोटर बनाइरहेको बेला अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएको थियो ।

सो घटनामा संलग्न रहेको आरोपमा मृतकका छोरा २१ वर्षीय प्रदीप दास, मृतकका ज्वाईं मधेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार ३४ वर्षीय उदय दास र सुटर नगराई २ जटही बस्ने २१ वर्षीय रञ्जित यादवलाई मंगलवार पक्राउ गरेको प्रहरीले जनाएकाे छ । प्रदीपलाई किरिया बसेको अवस्थामा घरबाटै, सुटर रञ्जितलाई घर जाने क्रममा बसबाट र प्रहरी हवलदार उदयलाई जनकपुरबाट पक्राउ  गरिएको हो ।


पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन गरी बुधबार सार्वजनिक गरेको छ । प्रदीपलाई किरिया बसेको अवस्थामा घरबाटै, सुटर रञ्जितलाई घर जाने क्रममा बसबाट र प्रहरी हवलदार उदयलाई जनकपुरबाट पक्राउ गरिएको पक्राउ गरिएको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन् । मृतक धनुषधारीले दुईवटा बिहे गरेका थिए। दुवै श्रीमतीका छोराछोरीसँग सम्पत्तिका लागि धनुषधारीको विवाद हुँदै आएको थियो । सम्पत्तिका लागि हुँदै आएको घरायसी विवादको क्रममा प्रदीपले आफ्ना भिनाजु उदयसँग योजना बनाई सुटर लगाएर आफ्ना बुवा धनुषधारीको हत्या गराएको अनुसन्धानमा खुलेको प्रहरी प्रमुख खड्काले बताए ।

प्रहरीका अनुसार मृतकका छोरा प्रदीपले सुटर रञ्जितसँग घटना घटाउन ५ लाख रुपैयाँमा डिल गरेका थिए । घटनाको एक महिनाअघि एक लाख रुपैयाँ एडभान्स दिइएको थियो । सुटरलाई पटक पटक गरी ३ लाख १० रुपैयाँ दिइएको अनुसन्धानमा खुलेको प्रहरी प्रमुख खड्का बताए । प्रहरीले घटनामा प्रयोग भएका एकथान नलकटुवा पेस्तोल, सो कटुवामा लाग्ने गोलीको खोका एकथान, अटोमेटिक पेस्तोलमा लाग्ने म्यागजिन एक र अटोमेटिक पेस्तोलमा लाग्ने गोली एक राउण्ड बरामद गरेको छ ।

घटना घटाउन मृतकका ज्वाईं उदयले मृतकका छोरा प्रदीपलाई आर्थिक सहयोग गरेका थिए । घटनापश्चात पटक पटक गरी उदयले प्रदीपलाई २ लाख १० दिएको र बाँकी रुपैया एक-डेढ महिनाभित्र दिने बताएका थिए । तीनै जनालाई मधेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेकाे हो । सो घटनामा संलग्न रहेको अर्का भारत बिहारको खजुलीका आकाश भनिने सोनु मिश्रा भने फरार रहेको प्रहरीले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x