क्रिकेट

टस हारेर ब्याटिङ गर्दै नेपाल

इकागज |
फागुन ९, २०८० बुधबार ८:५४ बजे

काठमाडौँ- नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत तेस्रो खेलमा नामिबियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । बुधबार बिहान टीयु क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

लिग-२ को जारी त्रिकोणीय सिरिजमा सहभागी देशले आफ्ना २-२ खेलमा एक एक खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग ४ विकेटको हार व्यहोरेको थियो । त्यसपछि नेपालले नेदरल्यान्ड्समाथि शानदार जित हासिल गर्दै सिरिजमा पुनरागमन गरेको थियो । त्यस्तै नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।  


नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ ।

लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।
 


Author

थप समाचार
x