क्रिकेट

चर्चित र सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेको मुद्दाबाट क्यानले के सिक्ने ?

सञ्जीव शाह |
पुस १४, २०८० शनिबार १५:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले चर्चित तथा सर्वाधिक सफल नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा शुक्रबार दोषी ठहर गर्यो ।

अदालतले गौशाला २६ नाबालिक नरहेको ठहर गरे पनि सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै बलात्कार गरेको अदालतले ठहर गर्यो ।


सन्दीपलाई दिइने सजाय पुस २५ गते निर्धारण हुने छ । काठमाडौँ जिल्ला अदालतले मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला गरेको छ । जसअनुसार बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ ।

खासमा सन्दीपमाथि बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) नेतृत्व तथा नेतृत्वले जिम्मेवारी दिएका पदाधिकारीले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा नगरेको प्रस्टै देखियो ।

क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टिम केन्या जानु अघिल्लो रात सन्दीप टिमसँगै नरहेको कुराबारे टिम व्यवस्थापक तथा टिमसँग समन्वय र सम्पर्कमा रहेका पदाधिकारी नै जानकारीविहीन थिए ।

खासमा क्लोज क्याम्प तथा कोभिड प्रोटोकलमा बस्नुपर्ने सन्दीप भने दुवै अनुशासन तोड्नुका साथै कुनै पनि कारबाही तथा परिणामको चिन्ता नगरेर निस्फिक्री  बाहिर निस्किएका थिए ।

नेपाल मात्र नभएर विश्वकै चर्चित खेलाडीको तक्मा भिडेका खेलाडीले अनुशासन तोड्दा पनि उक्त विषयमा क्यान नेतृत्व तथा जिम्मेवार पदाधिकारीले अझै पनि मौनता तोडेका छैनन् । उक्त घटनालाई लिएर सार्वजनिक रूपमा कसैलाई कारबाहीको भागीदार पनि बनाइएको छैन । क्यान नेतृत्वले स्पष्टीकरण दिने कष्ट समेत गर्न सकेको छैन ।

प्रहरीले मुद्दा दायर गरेर पक्राउ पुर्जी जारी गर्दासम्म पनि सन्दीपलाई निलम्बन नगरेको क्यानले चौतर्फी दबाबपछि मात्र सन्दीपलाई निलम्बन गर्ने निर्णय गर्यो ।

तर, उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो ।

मुद्दा विचाराधीन भएकै अवस्थामा सन्दीपले नेपाली राष्ट्रिय क्रिकेट टिमबाट देशभित्र मात्र नभएर देशबाहिर पनि खेल्न पाए । उनले फ्रेन्चाइज लिग पनि खेले । 

बलात्कारको मुद्दा खेपिरहँदा सन्दीपले नेपाली टिमका लागि मैदानमा राम्रै योगदान गरिरहेका थिए, जसका कारण सन्दीप र क्यानका आलोचकको मुख केही हदसम्म बन्द हुने अवस्था थियो ।

तर, अहिले सन्दीप भने अदालतबाट दोषी ठहर भएका छन् र क्यानले आफ्नो तर्फबाट सन्दीपमाथि गर्ने कारबाही कुरिरहेका धेरै छन् । सन्दीप दोषी ठहर भइसकेको २४ घण्टा बित्नै लाग्दा क्यान नेतृत्व तथा पदाधिकारीको कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

यसले क्यान पदाधिकारी तथा नेतृत्व अझै पनि आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको देखिँदैन ।

क्यान पदाधिकारीहरू सन्दीपको मुद्दामा मौन भए पनि भविष्यमा भने आफ्ना खेलाडीले गर्ने गतिविधि तथा अनुशासन तोड्दा के-कस्ता परिणाम आइ पर्छ भन्ने विषयमा क्यान नेतृत्व भने सजग हुनुपर्ने अवस्था आइसकेको छ ।

क्यानले विदेश भ्रमण तथा बन्द प्रशिक्षणका लागि व्यवस्थापक तथा जिम्मेवार पदाधिकारी तोक्दा उनीहरूको जिम्मेवारीबारे स्पष्ट पार्नुका साथै जिम्मेवारबाट पछि हटे हुने कारबाहीको बारेमा जानकारी गराउन सक्नुपर्छ ।

त्यति मात्र नभएर आफ्ना खेलाडीहरू बन्द प्रशिक्षण तथा खेल/प्रतियोगिता अवधिभर के-कस्ता गतिविधिमा संलग्न छन् भनेर पनि जिम्मेवार पदाधिकारीहरूले पूर्ण जानकारी राख्न सक्नुपर्ने देखिन्छ ।

साथै पदाधिकारीसँगै खेलाडीले अनुशासन तोडेको फेला परे तत्काल कारबाही गर्न सक्ने हिम्मत क्यान नेतृत्वले देखाउन सक्नुपर्छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x