समाज

सन्दीप लामिछानेलाई भिसा नदिएको खण्डमा जेठ १६ गते अमेरिकी राजदूतावास घेराउ गरिने [भिडियोसहित]

इकागज |
जेठ १४, २०८१ सोमबार २१:३७ बजे

काठमाडौँ- विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको खण्डमा आगामी जेठ १६ गते माइतीघर मण्डलादेखि र्‍याली निकाल्दै नेेपालस्थित अमेरिकी राजदूतावास घेराउ गरिने भएको छ । 

सोमबार सामाजिक सञ्जालमार्फत एक भिडियो पोस्ट गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले यस्तो घोषणा गरेका हुन् । उक्त घोषणामा शाहीले पार्टीगत नभइ व्यक्तिगत र एउटा राष्ट्रवादी शक्तिहरूको रूपमा घोषणा गरेका हुन्​ । यसमा राप्रपाको सहभागिता भने रहँदैन । किनभने शाहीले सन्दीप लामिछानेको समर्थनका हिसाबले र्‍याली निकाल्ने बताएका छन् । 


साथै ​उनले सन्दीपका लागि आवाज उठाउँदै अमेरिकी राजदूतावास घेराउमा सहभागी हुन देशभरका नागरिकलाई अपील समेत गरेका छन् ।

उनले भनेका छन्, 'विश्वमा नेपाली झण्डा फरफराउन नेपाल र  नेपालीको लागि #sandiplamichhane को लागि को-को तयार हुनुहुन्छ सम्पर्क नम्बर दिनुहोस् पर्सि १६ गते माइतीघर मण्डला हुँदै अमेरिकी राजदूतावास घेराउको लागि ।।'

अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरू नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर, अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि खेलाडी परिवर्तनका लागि सहमति दिने जानकारी गराएको थियो । तर, अमेरिकी दूतावासका अधिकारीले भिसा दिन मानेका छैनन् । 

 


Author

थप समाचार
x