क्रिकेट

केन्या क्रिकेटः विश्वकपको सेमिफाइनल यात्रादेखि गुमेको एकदिवसीय मान्यतासम्म

सञ्जीव शाह |
भदौ ११, २०७९ शनिबार १५:५१ बजे

काठमाडौँ- सन् २००३ मा केन्याको क्रिकेट टिमले हात पारेको सफलतालाई कसले भुल्न सक्छ होला ? अन्डरडग टिमको रुपमा आएका केन्याले अप्रत्यासित नतिजा मात्र निकालेन उत्कृष्ट ब्याटिङ, जादूमय बलिङ तथा फिल्डिङका कारण सन् २००३ मा केन्या, दक्षिण अफ्रिका र जिम्बावेले आयोजना गरेको आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलसम्म पुग्यो । 

केन्याका लागि आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलसम्म पुग्नु नै सबै भन्दा ठूलो सफलता हो । केन्याले हालसम्म पाँच पटक एकदिवसीय विश्वकप तथा एकपटक टी-ट्वान्टी विश्वकप खेलेको छ । 


सन् २००३ को विश्वकपमा श्रीलंकालाई ५३ रनले पराजित गर्दै केन्याले सनसनीपूर्ण नतिजा निकालेको थियो । सुपर सिक्समा जिम्बावेलाई ७ विकेटले हराउँदै सेमिफाइनल पुग्यो तर भारतसँग ९१ रनले पराजित भएपछि केन्याको यात्रा टुंगियो । 

तर केन्याले सबैभन्दा पहिलो सनसनीपूर्ण जित भने पहिलो पटक सहभागिता जनाएको सन् १९९६ को विश्वकपमै हात पारेको थियो । पाकिस्तान, भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भएको एकदिवसीय विश्वकपमा केन्याले पूर्व विश्वकप विजेता वेस्ट इन्डिजलाई ७३ रनले पराजित गर्दै सनसनीपूर्ण नतिजा निकालेको थियो । 

स्टिभ टिकोलो, माउरिस ओडुम्बे तथा थोमस ओडायो जस्ता खेलाडीको मदतमा विश्वकपमा देखाएको प्रदर्शनका कारण केन्यालाई आईसीसीले एकदिवसीय टिमको मान्यता प्रदान गर्‍यो । सन् १९९८ मा बंगलादेश र भारतसम्मिलित सिरिजमा केन्याले भारतलाई ६९ रनले पराजित गर्दै अर्को सनसनीपूर्ण जित हात पारेको थियो । 

तर सन् २००३ को विश्वकपपछि केन्याले पाएको अवसरलाई सदुपयोग मात्र गर्न सकेन । उसका क्रिकेटरहरु रातारात सुपरस्टार बने तर उनीहरुको स्टारडम धेरै समय टिकेन ।

विश्वकपपछि केन्याले युएईमा पाकिस्तान, श्रीलंका र जिम्बावेसम्मिलित चारदेशीय सिरिज खेल्ने मौको पायो । तर तीनवटै खेलमा पराजित हुन पुग्यो । युएईमा गरेको प्रदर्शनले केन्याको क्रिकेट मैदानमा मात्र नभएर मैदान बाहिर पनि असफलतातर्फ लम्कदै थियो । 

युएईको सिरिजपछि केन्याले तीन वर्षमा केवल दुईवटा एकदिवसीय खेल मात्र खेल्यो । अर्कोतर्फ सन् २००४ मा माउरिस ओडुम्बेलाई खेल मिलेमतो गरेको आरोपमा क्रिकेटबाट प्रतिबन्ध लगाइयो । 

अर्कोतर्फ सन् २००४ मै केन्याका महान क्रिकेटर मानिने स्टिभ टिकोलोको अगुवाइमा केन्याको क्रिकेट बोर्डमा आर्थिक अनियमितता भएको भन्दै आन्दालोन भयो । सन् २००५ को अन्त्यसम्म केन्या क्रिकेटसँग कुनै स्पोनसर पनि रहेनन् भने क्रिकेट बोर्ड पनि आन्तरिक रुपमा भंग भइसकेको थियो । 

सन् २००५ मा पुनः सुधार कार्य भयो तथा सन् २००६ मा केन्या क्रिकेट एसोसियसन भंग भयो भने त्यसलाई क्रिकेट केन्याले विस्थापित गर्‍यो । सन् २००७ मा केन्याले टी-ट्वान्टी विश्वकप तथा एकदिवसीय विश्वकप समेत खेल्यो ।

सन् २०११ मा केन्याको क्रिकेट टिमभित्र विवाद देखियो जसको नतिजास्वरुप सन् २०११ को विश्वकपमा केन्याले सबै ६ खेलमा पराजय भोग्यो । राजनीतिक तथा आर्थिक कारणले क्रिकेट केन्याले सुधारका प्रयास चालेपनि केन्याको क्रिकेट भने पुनः उकालो लाग्ने संकेत देखाएन ।

फलस्वरुप सन् २०१४ मा १८ वर्षपछि केन्याले आफ्नो एकदिवसीय मान्यता गुमायो । सन् २०१४ को आईसीसी विश्वकप छनोटमा सुपर सिक्समा पाँचौ भएपछि उसको एकदिवसीय मान्यता गुम्यो । सन् २०१८ मा आईसीसीले आफ्ना सबै सदस्यता टी-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णयका कारण उसले टी-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको छ । 

अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमले पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज तथा तीन खेलको एकदिवसीय सिरिजका लागि केन्याको भ्रमण गरिरहेको छ । एकदशक भन्दा लामो समयपछि केन्याको भ्रमण गर्ने नेपाल पहिलो टिम हो । 

एजेन्सीको सहयोगमा ।
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x