अदालत

न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

जुम्ला, धनकुटा, माइनगर र हेटौँडा इजलासमा भिडियो कन्फ्रेन्स बहस हुने

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १४:५० बजे

काठमाडौँ- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने बताएका छन् । शुक्रबाबर सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिटै टुंग्याउने जिकिर गरे । उनले आफूले छोटो समयमा पनि न्यायप्रतिको सक्रियता बढाउने काम गरेको दाबी गरे । उनले महिलाहरू वादी भएका अंश मुद्दाहरू र नाता कायम मुद्दा छिटो छरितो गर्न अब चाँडै नै काठमाडौँ जिल्ला अदालत बाहेकका अदालतमा पनि सुरु गर्ने उल्लेख गरे ।


प्रधानन्यायाधीश श्रेष्ठले केही समयपछि नै केही जिल्लाहरूमा भिडियो कन्फ्रेन्सबाट बहस व्यवस्थापन गर्ने प्रबन्ध मिलाएको बताए । उनले जुम्ला इजलास, धनकुटा इजलास, माइनगर इजलास र हेटौँडा इजलासमा चाँडै भिडियो कन्फ्रेन्सको माध्यमबाट बहस व्यवस्थापन गर्ने तयारी रहेको बताए । उनले साना व्यवस्थापकीय कार्यबाट अनियमिततालाई कमी गर्न सकिने योजनाअनुसार अघि बढिरहेको बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले काठमाडौँ जिल्ला अदालतलाई सुव्यवस्थित बनाउन उच्चस्तरीय समिति निर्माण गरिएको र अध्ययन पछिको रिपोर्टका आधारमा लागू गर्ने बताए । उनले अनलाइनमार्फत् मुद्दा दर्ता गर्ने प्रणालीको अध्ययन भइरहेको पनि बताए । 


Author

थप समाचार
x