कर्पोरेट

नेपाल लाइफ इन्स्योरेन्सद्वारा जीवन बीमाबारे अन्तरक्रिया कार्यक्रम आयोजना

इकागज |
चैत ९, २०८० शुक्रबार २१:२ बजे

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यतामा सम्पन्न उक्त विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गद नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजनाा गरिएको कुरा बताए । यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा भइरहेका विकासक्रम तथा असल अभ्यासहरूसँग चिरपरिचित हुन सहज हुने बताए ।


यस प्रकारको आयोजनाले knowledge sharing हुनेमा विश्वस्त रहेको कुरा प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । 

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले यस विशेष आयोजनाका निम्ति यस कम्पनीलाई धन्यवाद ज्ञापन गरे । उनले अहिले बदलिँदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरू चालिरहेको कुरा बताए । संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरू जारी गर्दै आएको समयमा संसारमा भइरहेको अभ्यासको जानकारी सोही क्षेत्रमा प्रत्यक्ष रूपमा काम गरी रहेका फिलिप ज्याक्सनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको बताए । बीमा बजारको विकासका निम्ति नवीनतम् प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरू हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे ।   

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनले नेपालको बीमा क्षेत्रका अवसर,समस्या र चुनौतीका बारेमा बृहत प्रस्तुतीकरण दिएका थिए । साथै नेपाली जीवन बीमा कम्पनीहरूलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरेका थिए । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पारेका थिए ।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनाले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने कुरा बताए । 


Author

थप समाचार
x