सिनेमा

गृहमन्त्री रवि लामिछानेले हेरे ‘महाजात्रा’

इकागज |
चैत १२, २०८० सोमबार ११:३४ बजे

काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्टसले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ को चौतर्फी चर्चासँगै आफू यस शृङ्खलाको नियमित दर्शक भएकाले हलसम्म आएको गृहमन्त्री लामिछानेले बताए ।

‘मलाई यो शृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ’, गृहमन्त्री लामिछानेले भने । उनले सामान्य रुपमा आम दर्शकसँगै बसेर फिल्म हेरेका हुन् ।


फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफू आकर्षित भएको बताउँदै उपप्रधानमन्त्री लामिछानेले राजनीतिज्ञका रुपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको बताए । ‘फिल्ममा मनोरन्जनसँगै राजनीतिका विषय र देशको इस्युलाई समेटिएको छ । मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुस गरे । म र मेरो पुस्ताका नेताको उदय नै त्यसलाई कम गर्न भएको हो । हाम्रो पुस्ताका नेता रहँदा पर्दामा भ्रष्टाचार गर्ने नेताको सायदै देखिएलान’, उपप्रधानमन्त्री लामिछानेले भने ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भीडभाड हलमा देखिएको छ । प्रदर्शनको तेस्रो दिन होली भएता पनि दर्शक हलमा भरिभराउ छन् । निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ लगायत होली कार्यक्रमसँगै प्रदर्शनको तेस्रो दिन आइतबार पनि विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि र परिवार नै दशक बनेर फिल्म हेर्न आएपछि प्रदर्शकले शो सङ्ख्या समेत बढाएका छन् ।

 

 


Author

थप समाचार
x