सिनेमा

कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि 'उपहार' लाई हेर्नुहुनेछ : रेखा थापा

इकागज |
फागुन १०, २०८० बिहीबार १६:४२ बजे

काठमाडाैँ- अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’ मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानको जन्मदिन मनाउन परिवारसँग अमेरिकामा रहे पनि यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’ को प्रचारप्रसार अमेरिकामै बसेर गरिरहेकी छिन् । उनले त्यहीँबाट विभिन्न सञ्चार माध्यममा अन्तर्वार्ता दिइरहेकी छिन् ।

रेखाले निर्देशन र अभिनय गरेको फिल्म ‘मालिका’ पाँच वर्षअघि दर्शकमाझ आएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् । 'मालिकापछि मैले अभिनेत्रीकै रूपमा फिल्ममा त काम गरिनँ । तर, एक/दुई वटा फिल्मका गीतमा केमियो गरेँ,' उनी भन्छिन्, 'फिल्ममा काम गर्ने सोच त थियो, तर बीचमा कोभिड महामारीको लकडाउनले त्यो सम्भव भएन ।’


रेखाको बुझाइमा ‘उपहार’ अमूल्य विषय हो । उनको भनाइमा ‘उपहार’ दर्शकको मन मस्तिष्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । ‘नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’ लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । यो फिल्म हेर्दा आम दर्शकले नयाँ ऊर्जा पाउनुहुनेछ ।’

रेखाका अनुसार ‘उपहार’ ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको छ । नेपाली फिल्ममा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने उनले त्यो आरोपलाई ‘उपहार’ ले गलत साबित गर्ने दाबी गरिन् । ‘हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ,’ रेखा भन्छिन् ।

रेखाले ‘उपहार’ मा समाज रूपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् । फिल्ममा नारी मात्र होइन, पुरुष पनि पीडित छन् भन्ने कुरा देखाइएको उनले सुनाइन् ।

‘५-१० वर्ष यता नेपाली फिल्ममा देखिँदै आएका कथाभन्दा ‘उपहार’ को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मन पराउने कथामा फिल्म बनाएका छौं । फिल्मको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनाव मुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ,’ उनले भनिन् ।

रेखाले नयाँ कलाकारसँगको सहकार्यले आफू खुसी भएको बताइन् । ‘फिल्मको प्रमोसनमा नयाँदेखि पुराना कलाकारहरूले उत्तिकै साथ दिइरहनुभएको छ । मेला, महोत्सव होस् या मिडिया अन्तर्वार्तामा उहाँहरू सक्रिय हुनुहुन्छ,’ रेखा भन्छिन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।


Author

थप समाचार
x