सिनेमा

चलचित्र विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्रदान

इकागज |
माघ १०, २०८० बुधबार २१:५६ बजे

फाइल फोटो

काठमाडौं - माघ ९ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारेमा जानकारी दिइन्।

सरकारको स्वीकृतिसँगै चलचित्र विधेयकको मस्यौदालाई अन्तिम रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बाटो खुलेको छ। विधेयकको विषयमा माघ ४ गते चलचित्र विकास बोर्डले चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझाव सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेको थियो। 


नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरूका प्रतिनिधिहरू तथा चलचित्रकर्मीहरूसँग माग र सम्बोधनका विषयमा केन्द्रित रही छलफल गरेको थियो। करिब तीन महिना पहिले बोर्डले आवश्यक राय सुझाव एवं पृष्ठपोषणका लागि मस्यौदा सार्वजनिक गरेको थियो। सोही मस्यौदामा आधारित रही सबै संघ संस्थाहरूले परिमार्जनको माग गरेकोमा राय सुझाव लिखित रूपमा माग गरी त्यसबारेमा छलफल गरिएको थियो।

यसरी अगाडि बढ्नेछ चलचित्र विधेयकः
चलचित्र विकास बोर्डले प्राप्त गरेका राय सुझावका आधारमा तयार भएको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जानेछ। सो मस्यौदालाई सञ्चारले अर्थ मन्त्रालयमा सहमतिको लागि पठाउनेछ। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि विधेयक तर्जुमा सहमतिको लागि कानुन मन्त्रालयमा जानेछ। 

कानुन मन्त्रालयबाट सहमति आएपछि संसद पठाउनु अघिको स्वीकृतिको लागि पुनः मन्त्रिपरिषद्मा मस्यौदा जानेछ। यसका बारेमा मन्त्रिपरिषद्को विधायन समितिमा छलफल हुन्छ। त्यहाँ स्वीकृत भएपछि कानुन मन्त्रालयमार्फत संसदमा दर्ता हुन्छ। विधेयकले अन्तिम रूप लिन संसदमा दफावार छलफल हुनेछ। संसदबाट पास भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि त्यो ऐन बन्छ र कानूनको रुप लिन्छ।

बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले नयाँ चलचित्र ऐन पारित गराउन चलचित्रकर्मीहरूले धेरै वर्ष देखि गरेको प्रयास सफलताको चरणमा प्रवेश गर्न लागेकोमा खुसी व्यक्त गरे। उनले नेपालको राष्ट्रिय चलचित्रको हितमा हुने गरी सबैको साझा सहमतिमा चाँडै विधेयक पारित हुनेमा आशा लिएको बताए।


Author

थप समाचार
x