सिनेमा

‘कथा भित्रका कथाहरू’ मा सन्तलालको कथा

इकागज |
पुस २९, २०८० आइतबार १३:६ बजे

काठमाडौँ - दीपेन्द्र केसी कुनै समय म्युजिक भिडियो निर्देशनमा व्यस्त नाम हो । उनले नविन के भट्टराईको ‘अलिकत पीडा’, डम्बर नेपालीको ‘टाढा नलैजाउ’, हिमाल सागरको ‘मैले सोचे तिमीलाई’ लगायतका सफल भिडियो निर्देशन गरेका छन् ।

एकपछि अर्को हिट भिडियो गरेका निर्देशक दीपेन्द्र पछिल्लो समय निर्देशनमा सक्रिय छैनन् । म्युजिक भिडियो निर्देशनमा व्यस्त र स्थापित नाम बनेता पनि उनको गन्तव्य फिल्म थियो । त्यसका लागि खुलेको ओस्कार कलेजमा पढ्ने सोच उनले बताए । ‘मलाइ फिल्म निर्देशनको अफर नआएको होइन तर मैले पहिला अध्ययन नै गर्ने निर्णय लिए । अध्ययन गर्दै जाँदा मेरो हैसियत मैले बुझेँ’ दीपेन्द्र भन्छन् ,‘पढाइ सकाउँदासम्म भएको ग्यापले काम केही कम हुन थालेको थियो । पछि यसले म्युजिक भिडियो गर्दैन भन्ने हल्ला भयो ।’


सिकाईकै क्रममा म्युजिक भिडियो निर्देशक बनेका दीपेन्द्र पछिल्लो समय डकुमेन्ट्री निर्देशनमा होमिएका छन् । केही समय यता ‘कथा भित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त छन् । प्राय पशुपतिनाथ गौशालामा पुगिरहने दीपेन्द्रले एक दिन त्यहाँ कथा देखे । त्यसपछि उनलाई त्यसभित्रको कथा खोज्ने रहर लाग्यो । अनि सुरु भयो, ‘कथा भित्रका कथाहरू’ ।

‘एकदिन पशुपति पुग्दा मैले त्यहाँ छाप्रोमा खाजा बेच्नेलाई देखेँ । त्यो मानिसले त्यहाँ खाजा बेचेर जीविकोपार्जन गरिरहेका थिए । मलाई उनी भित्रको कथा जान्न मन लाग्यो र सोध्न थाले’, उनले भने,‘ त्यसपछि मैले डकुमेन्ट्रीमार्फत देखिएको कथाभित्रको कथा देखाउने निर्णय लिए ।’

त्यसपछि उनले कथा चेपाङ समुदायबाट खोजे। ‘मैले के गर्ने भनेर अनुसन्धान गरेँ । चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै डकुमेन्ट्री बनाउने निर्णय लिए र सुरु गरे कथा भित्रका कथा', उनले भने ।

मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णु बहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका छन् । चेपाङ जंगलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताएका छन् ।

उनले यसको मोसन पोस्टर पश्चात टिजर सार्वजनिक गरेका छन् । फिल्म निर्देशनका लागि गरेको अध्ययन उनले डकुमेन्ट्रीमा प्रयोग गरेका छन् । डकुमेन्ट्रीलाई उनले समय दिएर तयार गरिरहेका छन् । किनकि उनी आफैँ सन्तुष्ट हुनुपर्ने छ ।

उनले डकुमेन्ट्रीमा सन्तलाल चेपाङको कथा देखाएका छन् । उक्त कथालाई उनले तीन सेड्युलमा खिचेका थिए । ‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन्, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पिडालाई नजिकबाट बुझ्न पाएँ', दीपेन्द्र भन्छन्,‘मेरो ईच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जङ्गलमै बस्नु रहर होइन ।'

उक्त डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । उनकै बसाइरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँबस्तीमा खिचिएको छ । यसलाई निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्रीले निर्माण गरेका हुन् भने सह निर्मातामा बालकृष्ण खड्गी रहेका छन् ।


Author

थप समाचार
x