सिनेमा

राजेश हमालको ‘मधु मस्ती’मा फ्यानको गुनासो, जनताको दुःखमा सधैँ ओभानो

इकागज |
कात्तिक २०, २०८० सोमबार १५:५४ बजे

काठमाडौँ - प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्ने नगर्ने व्यक्तिको व्यक्तिगत रुचिको विषय हो । तर यस्तो बेलामा बेपर्वाह देखिनु, कतै पनि राम्रो मानिन्न । तर अभिनेता राजेश हमाल यस्तो अवसरमा लगभग गयल नै हुन्छन् । 

भर्खरै पनि त्यस्तै भयो । रुकुम र जाजरबोटमा गएको भूकम्पले हजारौँ मानिस घरबार विहीन भएका छन् । सयभन्दा बढी मानिसको मृत्यु भएको छ । तर राजेश हमालले यो खबरबाट बेखबर वा लापरवाह देखिए । भूकम्प गएको भोलिपल्ट उनले देशमा केही नभएझैँ श्रीमती मधु भट्टराईसँगको तस्बिर पोस्ट गरे, शीर्षक थियो, ‘मधु मस्ती’ । तर राजेश हमालले जे गरे पनि टाउको चढाउने फ्यानलाई पनि यसपटकको मस्ती भने घत परेन । उनलाई ‘महानायक’ नभन्नेमाथि खनिने फ्यान पनि हमालको यो असंवेदनशिलताले कुँढिए । हमालको पोस्टमुनि असन्तुष्ट फ्यानको प्रतिक्रियाको चाङ लाग्यो । 


तर उनलाई नजिकबाट पछ्याउनेका लागि हमालको यो पोस्ट अनपेक्षित होइन । देशमा जेजति संकट परेका छन्, तिनमा देशको प्रभावशाली अभिनेताको रुपमा उनको भूमिका लगभग देखिन्न । अझ यस्तो बेला नेतृत्व लिएर अगाडि बढ्ने त परको कुरा ।२०७२ सालको भूकम्पको समयमा हमाल विदेशमा थिए । त्यसबेला उनको उपस्थितिमा केही कार्यक्रम भएर दाताले सहयोग घोषणा गरे । तर रामरमाइलोको समयमा गरिएको घोषणा पीडितसम्म जम्मै भएन । हमालले उठेको पैसा कतै हस्तान्तरण गरेको समाचार आएन । हमाल आफैँले सहयोग गरेको पनि देखिएको थिएन ।

सन् २०१९ देखि सुरु भएको कोभिडले सबैभन्दा धेरै थलिनेमा पर्यटन उद्योगपछि चलचित्र क्षेत्र थियो । लगभग दुई वर्ष फिल्मको काम ठप्प हुँदा प्राविधिकको बिचल्ली भएको समाचार आए । संघ संस्थाले हार गुहार गरेर सहयोग जुटाए । यही बेला राजेश हमालले पनि सहयोग बाँड्ने भनेर कार्यक्रम गरे । उनको हातबाट राहत पनि बाँडियो । तर यो राहतमा राजेश हमालले सुको पनि हालेनन् । पत्रकारले जब राजेश हमालले किन अलिकति पनि सहयोग नगरेको प्रश्न गरे ? हमालले जवाफ दिएनन् । प्रश्न सोध्ने पत्रकारलाई आँखा तरे । 

भन्नलाई त हमाल आफू कुलीन परिवारमा जन्मेर पनि दुःखी गरिबको भूमिका निर्वाह गर्नलाई ‘इम्प्याथी’को सहारा लिने गरेको जवाफ दिन्छन् । तर संकटमा मस्ती गरेको कुरा पोस्ट गर्ने हमालले कसरी दुःखी गरिबको ठाउँमा आफूलाई उभ्याउँछन् होला पत्याउन गाह्रो छ । कम्तिमा अहिलेसम्म त देखिएको छैन है !


Author

थप समाचार
x