सिनेमा

‘प्रसाद २’ विवाद : ओएसआरका सञ्चालक अग्रवाललाई थप ४ दिन थुनामा राख्‍न अनुमति , निर्देशक सुदर्शन थापा खोज्दै प्रहरी

इकागज |
असोज २१, २०८० आइतबार १४:१८ बजे

काठमाडौँ - ‘प्रसाद २’ चलचित्रको विवादमा पक्राऊ परेका ओसआर डिजिटलका सञ्चालक ओम अग्रवाललाई काठमाडौँ अदालतले प्रहरीलाई थप ४ दिन  थुनामा राख्रे अनुमति दिएको छ । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले दिएको उजुरीका आधारमा  पक्राऊ गरिएका अग्रवाललाई आइतबार बौद्ध प्रहरी वृत्तले अदालतमा थप म्यादका लागि उपस्थित गराएको थियो । 

निर्माता सुदर्शन बस्नेतले सम्पादक मिलन श्रेष्ठ र निर्देशक सुदर्शन थापाविरुद्ध पनि उजुरी दिएका छन् । प्रहरीले दुवै विरुद्ध पनि पक्राऊ पूर्जी जारी गरेको छ । तर प्रहरीले दुवैलाई भने पक्राऊ गरेको छैन । निर्माता सुदर्शन बस्नेतले आफ्नो स्वामित्वमा रहेको चलचित्र ओएसआर र निर्देशक थापाले मनोमानी गरेकाले न्याय खोज्दै प्रहरीकोमा जान बाध्य भएको प्रतिक्रिया दिएका छन् ।


‘प्रसाद २ चलचित्र अहिले पूर्णतया मेरो स्वामित्वमा छ । तर यसको भोग चलन अरुले नै गरिरहेका छन् । रिलिजको बेलादेखि नै मलाई जानकारी नै नदिई विदेशमा बेच्ने र ओएसआरले पनि नहाल भन्दा भन्दै पनि गीत ट्रेलर हालेकाले मैले बाध्य भएर उजुरी दिएको हुँ,’ उनले इकागजसँग कुरा गर्दै भने, ‘पैसा तिर्न पर्यो भने चाहिँ निर्देशक मेरो नम्बर दिएर पठाउने , लिने ठाउँमा चाहिँ मलाई थाह पत्तै नदिने । त्यसैले म न्यायको शरणमा आएको हुँ ।’

चलचित्र घोषणाको सुरुवातदेखि नै विवादमा परेका फिल्म कहिले निर्देशक फेर्ने विवादमा परेको थियो त कहिले कलाकार इन–आउट शृंखलाले । सुटिङ सेटमा पनि विवादमा परेर मुस्किलले सकिएको चलचित्र रिलिजको समयमा पनि प्राविधिकले पैसा नपाएको भन्दै रिलिज रोकिएको थियो । सुटिङ गरिएको ल्वाङ गाउँका बासिन्दाले पनि पैसा नपाएको भन्दै फिल्मविरुद्ध विकास बोर्डमा उजुरी दिएका थिए । 

यो फिल्मलाई सुरुमा सुवास थापाले निर्माण गर्ने बताएका थिए । पछि निर्माणका लागि उनले केशव पाण्डेलाई भित्र्याए । तर फिल्म नबनेपछि केशव पाण्डेले सुवास थापाविरुद्ध उजुरी दिएका छन् । प्रहरीले सुवास थापाविरुद्ध पक्राऊ पूर्जी जारी गरेको थियो तर प्रहरीले उनलाई अहिलेसम्म पक्राऊ गरेको छैन । 

सुवास थापाले नै ओएसआरलाई फिल्मको डिजिटल अधिकार बेचेर पैसा लिएर गएका थिए । ओएसआरले सुवास थापासँगको यही सम्झौताका आधारमा फिल्मका गीत आफ्नो च्यानलबाट राखेको थियो । निर्माता बस्नेतले यही आधारमा ओएसआरविरुद्ध उजुरी दिएका हुन् । निर्देशक बस्नेतले निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठले आफ्नो बारम्बारको आग्रहका बावजुद फिल्म विदेशमा बेच्ने र मनोमानी गर्ने गरेकाले दुई विरुद्ध पनि उजुरी दिएको बताएका छन् । 


Author

थप समाचार
x