सिनेमा

'परदेशी २'को बाग्लुङमा प्रिमियर

इकागज |
असोज १३, २०८० शनिबार १२:३५ बजे

काठमाडौँ- गायनमा जमेका अभिनेता प्रकास सपुतको डेव्यू सिनेमा 'परदेशी २'को बाग्लुङमा प्रिमियर गरिएको छ । बिएसआर मुभिजमा आयोजित प्रिमियर शोमा पत्रकार र स्थानीय दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

प्रिमियरअघि ‘परदेशी २’ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्का लगायतका जनप्रतिनिधिले पुष्पगुच्छाले स्वागत गरेका थिए ।


प्रिमियरमा सहभागी मेयर श्रेष्ठले बागलुङमा सिनेमाको प्रिमियर आयोजना हुनुले नगरको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । बागलुङ नगरलाई सिनेमा छायांकनको गन्तव्यस्थल बनाउन नगरपालिकाले काम गर्ने बताए । बाग्लुङ गायक तथा अभिनेता प्रकाश सपुतको गृह जिल्ला पनि हो । सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा उपस्थित दर्शक तथा पाहुनाका आँखा रसाएका थिए । सिनेमा हरेका सबै दर्शकले परदेशी २ अहिलेको समय सापेक्ष बनेको भन्दै राम्रो प्रतिक्रिया दिएका छन् ।

आफूले अभिनय गरेको पहिलो सिनेमा गृह जिल्लामा पहिलो प्रदर्शन गर्न पाउँदा निकै खुसी लागेको सपुतले बताए । 'आफ्नो डेव्यू सिनेमाको पहिलो दर्शक नै गृह जिल्लाबासी हुँदा आफूलाई भाग्यमानी ठानेको छु, साथै आफ्नो पहिलो प्रयासलाई पहिलो दर्शकको रुपमा जिल्लाबासीलाई हेर्न अवसर जुराईदिनु भएकोमा निर्देशक नारायण रायमाझी र निर्माता राजेश वंशल सरप्रति आभारी छु,'उनको भनाइ थियो ।

नारायण रायमाझी निर्देशित सिनेमा आगामी असोज २६ गतेबाट नेपालसहित विदेशका विभिन्न ठाउँमा रिलिज हुँदैछ । दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमामा प्रकाश र केकीका अलवा नीर शाह, दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु र रोशनी कार्की लगायतको अभिनय छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानी रहेको सिनेमामा गीतकार तथा संगीतकार रमेश विजीको कथा लेखन छ । सिनेमाले उच्च शिक्षाका लागि विदेशिन बाध्य विद्यार्थीको कथालाई प्रस्तुत गरेको छ । २०१५ मा प्रदर्शन आएको परदेशी पनि वैदेशिक रोजगारीको कथामा आधारित थियो । 

मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । सिनेमालाई डिसिएन र एफडी कम्पनीले वितरण गर्दैछन् ।


Author

थप समाचार
x