सिनेमा

'आँपको अचार'का निर्देशक इयनको ‘भिडियो गेम’ शैलीमा बनेको 'बासेन्जी'

इकागज |
असोज ११, २०८० बिहीबार १६:१८ बजे

काठमाडौं - हामीले भिडियो गेममा प्रथम पुरुष (वा भनौं आफ्नो आँखाले जे देखेको छ त्यही) र तृतीय पुरुष (वा भनौं आफ्नो अगाडि जो छ त्यही) मा पात्रहरूलाई यता-उता गराएको  खेल खेलेकै छौं । यो शैली सन् ९० को दशकदेखि नै भिडियो गेममा प्रचलनमा त आइसकेको छ । तर यही असोज २६ गते प्रदर्शन हुन लागेको चलचित्र 'बासेन्जी' नेपाली चलचित्र वृत्तमा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतिकरण हेर्न पाइनेछ ।

अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको 'बासेन्जी' हरर जनरामा निर्माण गरिएको चलचित्र हो । चलचित्र 'प्रवेश' पात्रको आँखाबाट र उसैलाई केन्द्रीय पात्र बनाई देखाइएको छ । प्रवेश पात्र पश्चिम नेपालबाट काठमाडौं आएको छ, उसको बुवालाई कृषि विषयमा खोजपत्रकारिता गरेको निहुँमा बरखास्त गरिए पछि । यसै सिलसिलमा उसले आकाश पात्रलाई भेट्छ जसले आफ्नो मनमा उठेका आँधीलाई शान्त पार्न काठमाडौं नजिकको गाउँमा जान सल्लाह दिन्छ । अनि सुरू हुन्छ डरलाग्दा, रौं खडा गर्ने खालका घटनाको सिलसिला । यो नै 'बासेन्जी' चलचित्रको मुख्य विषय हो । र यही 'प्रवेश' पात्रको आँखाबाट प्रथम पुरुष र उसलाई हेर्नका लागि तृतीय पुरुष क्यामरा राखी चलचित्रको निर्माण गरिएको छ ।


यस अघि “म्याङ्गो पिक्कल” (आँपको अचार) नेपाली कथानक चलचित्र निर्देशन गरेका इयक स्कट क्लेमेन्ट नेपाली परिवेश र नेपाली जीवनबाट प्रभावित भई नेपालमा नै चलचित्र निर्देशन गर्ने धोको बोकेका चलचित्रकर्मी हुन् । 'आँपको अचार' चलचित्र आफ्ना मित्रहरूसँगको सहकार्यमा निर्माण गरिएको चलचित्र पश्चात् गौरीशङ्कर इन्टरटेनमेन्टसँग आबद्ध सुरज मैनाली र गौरव बस्नेतसँग मिलेर क्लेमेन्टले “बासेन्जी” चलचित्रको लेखन कार्य गरेका हुन् । यो चलचित्रमा प्रवेशको भूमिकामा कलाकार असिम निरौला आबद्ध छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । वरिष्ठ कलाकार मिथिला शर्मा र सरिता गिरीको पनि यो चलचित्रमा प्रमुख भूमिका रहेको छ ।

निर्देशक क्लेमेन्ट भन्छन्, 'नेपाली चलचित्रमा यो यस्तो प्रयोग हो जुन हालसम्म गरिएकै छैन । हामीले प्रथम पुरुषको दृष्टिकोणका लागि टाउकोमा क्यामरा राख्ने विशेष उपकरण तयार पारेका थियौं जसले पात्रको परिप्रेक्ष्यबाट उसको संसार देखाइन सकियोस् । त्यसै गरी तृतीय पुरुषको दृष्टिकोण देखाउनका लागि गिम्बल प्रयोग गरेका छौं जसले पात्रलाई नजिकैबाट नियालेर वा उसको हाउ-भाउ नियालेर हेर्न सकियोस् । मलाई पूरा विश्वास छ – हामीले नेपाली दर्शकलाई केही नयाँ पस्किन पूर्ण सफल भएका छौं ।' 'बासेन्जी' यही २०८० असोज २६ गतेका दिन नेपालभरि नै प्रदर्शन हुँदै छ ।


Author

थप समाचार
x