सिनेमा

अझ पनि रणवीर कपूरकै 'बर्फी’को साथी भनेर चिनिन्छु: अभिनेता सापकोटा

इकागज |
असोज ११, २०८० बिहीबार १४:२१ बजे

काठमाडौँ - अभिनेता भोलाराज सापकोटा चाँडै नै  ‘कौसीद’ मा देखिँदैछन् ।  चलचित्रमा आफूइमान्दार शिक्षकको भूमिकामा देखिने उनले बताए ।  भारतमा ‘बर्फी’ चलचित्रमा काम गरेपछि चर्चामा आएका अभिनेता सापकोटा नेपाली चलचित्र र रङ्गमञ्चको स्थापित नाम हो ।

तर धेरैले उनलाई ‘बर्फी’ को रणवीरको साथीको भूमिकामा चिन्छन् । 'मैले नेपाली रङ्गमञ्चमा काम नगरेको होइन, तर बलिउडको प्रभाव बढी भएकाले अभिनेता रणवीर कपूरका साथी भनेर चिनारी पाएको छु । नेपाली नाटक प्रेमीले मलाई विभिन्न नाटकका पात्रको रुपमा चिन्नुहुन्छ”, अभिनेता सापकोटा भन्छन्, “रङ्गमञ्चमा सिकेका कुरा चलचित्रमा प्रयोग गर्न नपाउँदा कहिलेकाहीँ खल्लो लाग्छ । त्यस समयमा निर्देशकको कलाकार (डिरेक्टर्स एक्टर) भइदिन्छु ।'


केही चलचित्रमा आफ्नो पात्रलाई निर्माण गर्न नपाउँदा निर्देशकका अनुसार काम गरेको उनको अनुभव छ । तर  ‘कौसीद’मा भने चरित्र र अभिनय दुवै खुलेर गर्ने मौका पाएको सापकोटा बताउँछन्, 'मैले देखेका थुप्रै शिक्षकमार्फत प्रभावित भएर कौसीदको पात्र बन्न तयार भएको हुँ ।'

चलचित्रमा  श्रीमती र आफन्तको अनुरोधमा बैंकबाट ऋण लिएर घर निर्माण गरेपछि अचानक बढ्ने ब्याजदरले निम्त्याउने समस्या चलचित्रमा देखाइएको छ । उनले इमान्दार भएर सामना गर्नुपर्ने कठिनाइलाई चलचित्रमा देखाइएको बताए  । कतिसम्म भने  चलचित्रको कथा मन परेपछि चरित्र निर्माणमा आफू स्वयम् खटिएको उनले बताए । 'प्राय निर्देशकले नै पात्रलाई तयार गर्नुहुन्छ । मसँग केही उदाहरण भएकाले मैले प्रयोग गर्ने अनुमति मागे र पाएँ पनि । यस्ता चलचित्रले अप्ठ्यारो स्थितिमा पनि संयमता गुमाउनु हुदैन भन्ने सन्देश दिन्छन् । यो हाम्रै समाजमा घटिरहने एउटा कथा हो', अभिनेता सापकोटाको भनाइ छ । 

कुमार भास्करले निर्देशन गरेको चलचित्रमा अभिनेता सापकोटासँगै ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दिप लोहनीलगायत कलाकारले अभिनय गरेका छन् । चलचित्र आउँदो हप्ता रिलिज हुँदैछ ।

-रासस


Author

थप समाचार
x