सिनेमा

‘परदेशी–२’को  'छुकछुके रेलैमा’सार्वजनिक

इकागज |
असोज ११, २०८० बिहीबार १०:४ बजे

काठमाडौँ-  चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा...’बोलको झ्याउरे गीत सार्वजनिक गरिएको छ। केही दिन अगाडि सार्वजनिक ‘हिजो काम...’लाई स्रोता दर्शकले रुचाएपछि निर्माण टिमले यो झ्याउरे गीत सार्वजनिक गरेको हो ।

यो गीतमा निर्देशक रायमाझी स्वयंमसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । शब्द पनि निर्देशक रायमाझी स्वयंमले कोरेका हुन् । उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत दिएका छन् । भिडियोमा चलचित्रमा मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई पनि प्रस्तुत गरिएको छ ।

शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ । भिडियोका निर्देशक रामजी लामिछाने र गोविन्द राई हुन् । यसमा नृत्य निर्देशन भने कुलमान नेपाली र शेखर घर्ती मगरको हो ।

नेपाली चलचित्रमा कमै मात्र समावेश गरिने यसप्रकारको मौलिक झ्याउे गीतले स्रोता–दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ । ‘परदेशी–२’ दशैंको छेको पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ ।

चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । युवापुस्तामा रहेको विदेश मोहको कथामा आधारित चलचित्र सेन्सर पास भइसकेको छ ।

 



Author

थप समाचार
x