सिनेमा

‘नाङ्गो गाउँ’ हेर्दा भक्कानिइन् हिसिला, बाबुराम भन्छन् -यस्ता चलचित्र करमुक्त गरौँ

इकागज |
असोज ९, २०८० मंगलबार २०:१० बजे

काठमाडौँ - ‘नाङ्गो गाउँ’ हेर्न पूर्वमन्त्री हिसिला यमीसहित हल पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले फिल्मले आफू दुवैलाई रुवाएको बताएका छन् । फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै तथा सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै भट्टराईले दुवैलाई आँशु लुकाउन गाह्रो भएको प्रतिक्रिया दिएका थिए ।

' दीपेन्द्र लामा लिखित र निर्देशित नयॉ चलचित्र “नांगो गाउॅ” हेरेपछि हिसिला र म दुवैलाई आँसु लुकाउन निकै गाह्रो भयो । नेपाली राजनीतिमा र विशेषतः निर्वाचनमा माथिदेखि तलसम्म र दलहरूदेखि जनस्तरसम्म झॉगिदै गएको भ्रष्टाचार,छलकपट,धोकाधडि, किनवेच को कुसंस्कारसंग लड्न र निष्ठामा टिक्न कति कठिन छ त्यो बुझ्न सबैले यो फिल्म हेर्नैपर्छ, बाबुरामले लेखेका छन् ।


भदौको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । दोश्रो सातामा पनि यो फिल्म हेर्नका लागि हलमा दर्शकको चाप राम्रो छ । यसैबिच, मंगलबार फिल्म हेर्न पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यमी काठमाडौंका सिभिल मलमा पुगेका छन् । फिल्म हेरिसकेपछि हिसिला भावुक बनिन् । उनी भिडबाट आँशु पुछ्ँदै बाहिरिएकी थिइन् तर सञ्चारकर्मीले खोजेपछि पत्रकारसामु उपस्थित उनले फिल्मको कथावस्तु र विशेषगरि क्लाइमेक्सले छोएको बताएकी थिइन् । भट्टराई चलचित्रको पलायनवादी अन्त्य भने आफ्नाे जीवन दर्शनभन्दा भिन्न रहेको बताएका थिए । भट्टराईले भने–‘फिल्मको कथावस्तु उत्कृष्ट छ । फिल्मको अन्तिममा मुख्य पात्रले गाउँ छाडेको कुरा मलाई थोरै चित्त वुझेन । अरु, कुरामा त फिल्ममा आलोचना गर्नुपर्ने ठाउँ छैन ।’

बाबुरामले फिल्मका मुख्य पात्रले राजनीतिमा हार खाएपछि गाउँ छाडेपनि आफूले भने नछाड्ने बताए । उनले भने–‘मलाई गोरखा छाडेर छोरीलाई काठमाडौंमा उठायो भनेर पनि आरोप लगाइयो । तर, छोरी मानुषीलाई स्वतन्त्र युवाहरूले काठमाडौंमा उठाएका हुन् । म गाउँ छाडेर हिड्नु हुँदैन भन्ने पक्षमा छु ।’ बाबुरामले आफू चुनावमा नउठ्नुको कारण पनि यही फिल्ममा देखाउन खोजिएको भन्दै यसलाई यथार्थ कथा भने ।

बाबुरामकाे कुरामा सहमति जनाउँदै निर्देशक दीपेन्द्र लामाले चलचित्रको दोस्रो भागमा हिरो गाउँ फर्कने कथा समावेश गर्ने बताएपछि भने बाबुरामले खुसी व्यक्त गरेका थिए । उनले यस्ता चलचित्रलाई राज्यका विभिन्न तहले करमुक्त गरेर जनस्तरसम्म पुर्याउन सके राम्रा फिल्म निर्माताहरूलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा राखेका थिए ।

भदो २९ बाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा राम श्रेष्ठको लगानी छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।


Author

थप समाचार
x