सिनेमा

राष्ट्रिय पुरस्कारमा उत्कृष्ट फिल्म गायब विवाद : ‘प्रकाश’को मुद्दा, जुरीले पैसा खाएको आरोप

#

इकागज |
असोज ५, २०८० शुक्रबार १३:१५ बजे

काठमाडौँ - चलचित्र विकास बोर्डले गत भदौ १२ गते बाँडेको राष्ट्रिय चलचित्र पुरस्कारको विवाद अदालतसम्म तानिएको छ । चलचित्र ‘प्रकाश’का निर्देशक तथा लेखकले समारोहमा उत्कृष्ट फिल्मको पुरस्कार नबाँडिएको विषयमा सत्यतथ्य बाहिर आउनुपर्ने भन्दै बिहीबार पाटन उच्च अदालतमा रिट दायर गरेका छन् ।

चलचित्रका लेखक विकास सुवेदी, निर्देशक दिनेश राउत र जुम्लाका स्थानीय मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाइ दायर गरेको रिटमा राष्ट्रिय चलचित्र पुरस्कार कार्याविधि अनुसार गठन भएको जुरीले ‘प्रकाश’लाई उत्कृष्ट चलचित्रका लागि सिफारिस गरेकोमा बोर्डले कुत्सित मनसाय राखी सो चलचित्रलाई उत्कृष्ट चलचित्र नदिएको उल्लेख गरिएको छ । योसँगै २०७८ र २०७९ सालमा प्रदर्शित चलचित्रलाई दिइने पुरस्कारका लागि एउटा पनि चलचित्र नपाउनु आश्चर्यको विषय भएको भन्दै जुरीको निर्णयको सक्कल प्रति उपलब्ध गराउन पनि रिटमा माग गरिएको छ । 


अघिल्लो महिना बाँडिएको ‘प्रकाश’बाट निर्देशक राउतले उत्कृष्ट निर्देशक र अभिनेत्री दिया मास्केले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका थिए । तर बोर्डले सो समारोहमा उत्कृष्ट चलचित्रको घोषणा बिनै बाँकी विधामा अवार्ड बाँडेको थियो । बोर्डको यो निर्णयको चौतर्फी विरोध भएको थियो र भुवन केसी नेतृत्वको बोर्डले राष्ट्रिय पुरस्कार वितरणमा बिर्सन लायक परम्पराको सुरुवात गरेको भन्दै उनको आलोचना भएको थियो । विवाद बढेपछि जुरी सदस्य रहेका अनुप भट्टराईले आफूहरूले गरेको निर्णयलाई बोर्डले नमानेको आसयको स्ट्याटस लेखेका थिए । उनले नै आफूहरूले उत्कृष्ट चलचित्रको पुरस्कारका लागि सिफारिस गरेको घुमाउरो अभिव्यक्ति दिएका थिए ।

लगभग एक महिनापछि यही कुराको निक्र्योलका लागि भन्दै ‘प्रकाश’ टिमले बोर्ड विरुद्ध मुद्दा हालेपछि अर्का जुरी सदस्य शिवम् अधिकारीले भने नाम उल्लेख नगरीकनै अर्का जुरी सदस्यमािथ पैसा खाएको आरोप लगाएका छन् । उनले फलानो फिल्मले नै उत्कृष्ट फिल्मको पुरस्कारको पायो भन्दै हिँड्ने जुरी सदस्यले सम्बन्धित पक्षसँग आर्थिक लेनदेन गरेको शंका लागेको भन्दै छानबिनका लागि आग्रह गरेका छन् ।

यति गर्दा गर्दै पनि उनले उत्कृष्ट चलचित्रको घोषणा किन गरिएन भनेर आफू अनविज्ञ रहेको पनि बताएका छन् । बोर्डले राष्ट्रिय पुरस्कारका लागि राजेन्द्र शलभको संयोजकत्वमा ५ सदस्यीय जुरी निर्माण गरेको थियो । जसमा अनुप भट्टराई, शिवम् अधिकारी, सरिता गिरी, चेतन सापकोटा सदस्य थिए ।

 

# नाेट - समाचारका केही अंशमा अनुप भट्टराईको नाम गलत आसयमा प्रयोग भएकाले सच्याइएको छ ।

-सम्पादक ।

 

 


Author

थप समाचार
x