सिनेमा

‘हात्तीछाप’को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा

इकागज |
असोज २, २०८० मंगलबार ११:३० बजे

काठमाडौँ- किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म ‘हात्तीछाप’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।यो फिल्मको फस्टलुकमा नायक सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सौगातलाई फस्टलुकमा ‘बोत्तल राजा’को पात्रमा प्रस्तुत गरिएको छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्म माघको २६ गतेबाट रिलिज हुने पक्का भएको छ । प्रस्तुतकर्ता नेपालीले वितरकसँग सल्लाह गरेर माघको २६ गतेलाई प्रदर्शन मिति रोजेको जानकारी दिए ।


प्रदीप भारद्धाजको लेखनमा तयार भएको यो फिल्ममा सौगातको साथमा दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल  लगायतका कलाकारको अभिनय छ । तर, फिल्मको पहिलो फस्टलुकमा भने निर्माणपक्षले सौगातलाई मात्र स्थान दिएको छ ।

यो फिल्ममा सुशन प्रजापतिको छायांकन छ । काठमाडौं र पोखरामा खिचिएको फिल्मले सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरेको छ । किरणले नै यसअघि दया, सौगात र उपासनालाई लिएर निर्माण गरेको फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद कमाई गरेको थियो ।

फिल्म ‘हात्तीछाप’मा पनि ‘२ नम्बरी’कै हिट टिम दोहोरिएको छ । दया र सौगात एकसाथ देखिदा दर्शकलाई फिल्मप्रति उत्साह थपिने पक्का छ । फस्टलुक सार्वजनिक भएपछि फिल्मप्रति दर्शकमा कौतुहलता पैदा हुने विश्वास निर्माणपक्षको छ । फिल्ममा अमलादेवी नेपाली र दिपक मनाङ्गेको लगानी छ । यो फिल्ममा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, आरआर फिल्मस्को वितरण रहनेछ । 


Author

थप समाचार
x