सिनेमा

टोरन्टोमा ‘गाउँ आएको बाटो’को वर्ल्ड प्रिमियर, दया र पशुपतिको अभिनयको प्रशंसा

इकागज |
भदौ २५, २०८० सोमबार ११:२९ बजे

टोरन्टो । नवीन सुब्बाको निर्देशन रहेको ‘गाउँ आएको बाटो’को आइतबार क्यानाडाको टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा भव्य प्रिमियर भएको छ । प्रिमियरमा फिल्म हेर्दे दर्शकले फिल्मसँगै कलाकार दयाहाङ राई र पशुपति राईको अभिनयको प्रशंसा भएको छ ।

फिल्म हेर्न प्रिमियरमा पुगेकी लेखक मन्जुश्री थापाले प्रिमियरका तस्बिर फेसबुकमा सेयर गर्दै स्क्रिनिङपछि निर्देशक नविन सुब्बाले पहिलो पुस्ताका स्वतन्त्र निर्देशकको अनुभव साझा गरेको बताएकी छिन् । योसँगै उनले फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र दुवैको छोरा बनेर खेलेका प्रसाई राईको अभिनयको तारिफ गरेकी छिन् । 


आइतबार टोरन्टोमा भएको प्रिमियरमा दयाहाङ राई र पशुपति राईले पनि आफ्नो भूमिकाको बारेमा चर्चा गरेको उनले उल्लेख गरेकी छिन् । आइतबार भएको प्रिमियरमा निर्देशक सुब्बा र कलाकारसँगै निर्माता आमोद राई पनि मञ्चमा थिए । 

यसअघि प्रेस स्क्रिनिङ पनि समीक्षकले फिल्म रुचाएको नवीन सुब्बाको प्रतिक्रिया थियो । प्रेस स्क्रिनिङ पछि लामो समीक्षा लेख्दै मुभी बफका लागि समीक्षा लेख्दै पल इम्मानुएलले चलचित्रले आधुनिकताको चित्रणमार्फत मानिसको अवस्थामाथि दार्शनिक प्रश्न छाडेको बताएका छन् । 

उनले नविन सुब्बा निर्देशित फिल्मले आधुनिकताको बाटोले जीविका र अस्तित्व रक्षाको सवालमा गम्भीर चुनौती खडा गरेको कुरालाई सशक्त ढंगले चित्रण गरेको बताएका छन् । 

उनले पनि दयाहाङ राईको अभिनयको प्रशंसा गर्दै उनको अभिनयले बहुआयामिक हिसाबले प्रभावित गर्ने बताएका छन् । ‘सम्पन्न जीवनको खोजीमा हामी उनीसँगै यात्रामा निस्कन्छौँ ’ समीक्षा भित्र दयाको तारिफ गर्दै उनले लेखेका छन् ।


Author

थप समाचार
x