सिनेमा

बसुन्धरा भुसाल भन्छिन्, ‘सहकारीले हामीलाई सडकमा नै ल्यायो, १८ गते फेरि धर्ना बस्छौँ ।’

इकागज |
साउन १६, २०८० मंगलबार ११:२९ बजे

काठमाडौँ - सोमबार माइतीघर मण्डलामा सिभिल सहकारीमा डुबेको पैसा उठ्नुपर्ने माग राख्दै अभिनेत्रीद्धय बसुन्धरा भुसाल र चैत्यदेवी धर्ना बसेपछि अचानक दुई अभिनेत्रीको पैसा डुबेको कुराले चर्चा पायो । भुसालका अनुसार सिभिलमा मात्र उनीहरूको दुई करोड ६० लाख रुपैँया डुबेको छ । सिभिलका सञ्चालक इच्छाराज तामाङ अहिले यही कसुरमा जेलमा छन् ।

बसुन्धरा भुसालले आफूहरूले विभिन्न समयमा जम्मा गरेको पैसा सिभिलले डुबाइदिएको बताइन् । ‘मिति याद छैन तर धेरै पहिलेदेखि नै पैसा जम्मा गर्दै आएका थियौँ । यसमा मेरो, चैत्यदेवीबाहेक छोरा बुहारीको पनि पैसा छ । तर नागरिकको यत्रो पैसा डुब्दा पनि सरकारले केही नगर्ने रैछ,’ उनले भनिन् ।


सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै सोमबार अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका थिए । सहकारी पीडितहरू ६१ दिनदेखि माइतीघरमा धर्नामा बसेका छन् । त्यही धर्नामा नेपाली चलचित्रका दुई अभिनेत्रीहरु पनि सहभागी हुँदै दश घन्टे अनसन बसेका थिए । १८ गते फेरि अनसन बस्ने पालो रहेको उनले बताइन् । 

भुसालले आफूहरूलाई कानुनी लडाइँ लड्न पनि गाह्रो भएको बताइन् । सिभिलका प्रमुख इच्छाराज तामाङले १०–१२ जना वकिल राखेर बहस गरिरहेको तर आफूहरूसँग एक जना वकिल राख्ने पनि हैसियत नभएको भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने भुसालको अनुरोध छ । छानबिनबाट इच्छा राज तामाङको १३ करोडको प्रोपर्टी भेटिएको र आफूहरू धर्नामा रहेकाका कुल लिनुपर्ने रकम ११ करोड रहेकाले सरकारले यति मात्र गरिदिए पनि आफूहरूलाई राहत हुने उनको भनाइ छ । 

चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ । साथै, उनीहरुको सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुको भनाइ छ ।भुसालले सिभिलसँगै कान्तिपुर सहकारीले पनि आफूहरूलाई डुबाएको बताएकी छिन् । तर सिभिलको तुलनामा कान्तिपुरमा फसेको रकम थोरै भएको उनको भनाइ छ । 


Author

थप समाचार
x