सिनेमा

फेरि सर्यो नेफ्टा, मानव तस्करीको आरोपमा अनुसन्धान गर्न प्रहरीलाई पत्र

इकागज |
साउन ४, २०८० बिहीबार १५:१५ बजे

काठमाडौं - अमेरिकामा आयोजना हुन लागेको ११ औं संस्करणको नेफ्टा फिल्म अवार्डको नयाँ मिति घोषणा भएको छ । आयोजक युएस खबर र फेम नेपालले बुधबार वक्तव्य जारी गर्दै आगामी सेप्टेम्बर ३ (भदौ १७)लाई नयाँ मितिको रुपमा घोषणा गरेका हुन् ।

 पूर्वनिर्धारित जुलाई २२ को मितिमा आवश्यक तयारी नपुगेकाले नयाँ मितिमा अवार्ड कार्यक्रम गर्न लागिएको आयोजक संस्था युएस खबरका सम्पादक ओम आचार्यले जानकारी दिए ।


 विज्ञप्तिमा भनिएको छ, ‘हामी उत्कृष्ट र सफल कार्यक्रम बनाउनको लागि अडिएका मात्र हौं, रोकिएका होइनौं । हामी निकै उत्साहित थियौं र छौं । हामी टिम थप मिहेनतका साथ अघि बढेको छ । हामी विश्वस्त पार्न चाहन्छौं, जसरी हामीले प्रचार प्रसार गरेका छौं, सोहि अनुसारको कार्यक्रम गर्नेछौं ।’

 टेक्ससको ड्यालसमा अवार्ड समारोह तय गरिएको छ । यसअघि उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा पाँच उत्कृष्ट मनोनयन घोषणा भैसकेको छ । नेफ्टा अध्यक्ष पुष्कर लामाले अवार्डलाई भव्य र सभ्य तुल्याउन आफूहरु कटिबद्ध रहेको बताए । नेफ्टा अवार्डका अघिल्ला संस्करणहरु यसअघि नेपालसहित मलेसिया, हङकङ, युएई र कतारमा आयोजना भैसकेको छ ।

योसँगै पुस्कर लामाले नेफ्टा अवार्ड आयोजनाको नाममा मानव तस्करीको आरोप लागेकाले नेपाल प्रहरीलाई सत्यतथ्य छानबिनका लागि आग्रह गरेका छन् । उनले प्रहरी प्रधान कार्यालयलाई निवेदन लेख्दै कार्य समिति सदस्य ३ जना र कलाकार ८ जना गरी जम्मा ११ जनाको भिजा आवेदन दिएको जनाएका छन् । 

नेफ्टा अवार्ड अमेरिकाको डालस टेक्सासमा आयोजना गर्ने समाचार आइरहँदा अवार्डको नाममा गैर कलाकारलाई पनि भिजा लगाएर लैजान लागिएको र यसवापत् ५० लाख रुपैँया आयोजकले उठाएको फेसबुक स्ट्याटसहरू आएका थिए । निवेदक लामाले आफूहरू त्यस्तो काममा संलग्न नभएको र कसैले आफ्नो नाममा पैसा उठाएको भए प्रहरीसँग सम्पर्क गर्न पनि आग्रह गरेका छन् । 


Author

थप समाचार
x