सिनेमा

‘छड्के २’ को असफलता : ‘कृ’ ‘क्याप्टेन’ हुँदै ‘ए मेरो हजुर’ शृंखलाको  असर

इकागज |
फागुन २३, २०७९ मंगलबार १४:१७ बजे

काठमाडौँ -  अनमोल केसी अभीनित ‘छड्के २’ले अकल्पनीय कमजोर व्यापार गरेको छ । अनमोलको यो सफलतालाई धेरैले ‘छड्के २’को कथा र मेकिङसँग जोडेर मात्र व्याख्या गरिरहेका छन् । तर ‘छड्के २’ ले पहिलो दिन र पहिलो सोमा जुन अकुपेन्सी देखायो त्यसले यसको असफलता यही फिल्म मात्र जिम्मेवार नरहेको देखाउँछ । किनकि अनमोलका यसअघिका फिल्म पहिलो दोस्रो दिन ठीकठाक दर्शक पाउँथे । स्टारको फिल्म नराम्रो हुँदो पहिलो दोस्रो दिनबाट फिल्मको गुणस्तरअनुसार दर्शक आउन कम हुन्छन् । तर ‘छड्के२’ले न त पहिलो सो दर्शक पायो न पहिलो दिन । 

अनमोल केसीले ‘कृ’बाट आफ्नो पारिश्रमिक ह्वात्त बढाएका थिए । ७–८ लाखको हाराहारीमा पारिश्रमिक लिइरहेका अनमोललाई निर्माता सुवास गिरीले २० लाख दिएको समाचार लेखाएका थिए । जबकि यो फिल्मका एउटा निर्माता भुवन केसी पनि थिए । तर ‘कृ’ फ्लप भयो । पत्रकारले यो फिल्मलाई हिट लेखे पनि निर्माता सुवास गिरी ६ महिनापछि यो फिल्मबाट ८५ लाख डुबेको बताउने गर्थे । यसपछि पनि निर्माताको अनमोल मोह कम भएन । दोब्बर बढ्यो । ‘कृ’ फ्लप हुनुका बावजुद निर्माता उनलाई ५० लाख दिन तयार भए । उनलाई ५० लाख दिएर लिन चाहानेको ताँती थियो । उनले यो ताँतीबाट छानेर ‘ए मेरो हजुर ३’मा अभिनय गरे । 



योभन्दा अघि उनले घरकै ब्यानर काजल फिल्मस्बाट ‘क्याप्टेन’ गरेका थिए जसको पनि बक्स अफिस रिपोर्ट राम्रो थिएन । भुवन केसी आफैँले निर्माण गरेको यो फिल्मको समीक्षा पनि राम्रो थिएन । ‘ए मेरो हजुर ३’ हिट फिल्म थियो तर यो फिल्ममा अनमोलको कामको कुनै तारिफ भएन । छाडा संवाद र दृश्यले भरिएको यो फिल्ममा निर्देशक झरना थापाले आफ्नै छोरीको मुखबाट पत्याउनै नसकिने संवाद बोलाएको आरोप लागेको थियो । हँसाउनलाई द्धिअर्थी संवादको फिल्मभरि प्रयोग थियो । पैसा कमाए पनि यसलाई राम्रो फिल्मको कोटीमा कसैले राखेका थिएनन् । 

यस्ता आरोपलाई सुनेको नसुनै गर्दै अनमोलले ‘ए मेरो हजुर ४’ गरे । ‘केजीएफ२’ सँग प्रतिस्पर्धा गरेको यो फिल्मले न त बक्स अफिसमा सफलता पायो न दर्शकलाई राम्रो लाग्यो । प्रेमकथाका फिल्ममा मात्र काम गरेर हुँदैन भनेपछि अनमोलले ‘ग्याङस्टर’को भूमिका रहेको ‘छड्के २’ छानेका थिए । तर हरेक विधामा कमजोर रहेको यो फिल्मले अनमोललाई ४ सय ४० को झड्का दिएको छ । नामै नसुनेका कलाकारको फिल्मभन्दा ‘छड्के २’को व्यापार कमजोर छ ।

म्युजिक भिडियो नखेल्ने, मिडियामा जथाभावी नआउने र आउँदा पनि सन्तुलित हिसाबले बोल्ने स्वभावका कारण अनमोललाई दर्शकले रुचाउँथे । तर ‘कृ’देखि उनी मिडियामा छताछुल्ल देखिन थाले जुन ‘ए मेरो हजुर ४’सम्म पनि जारी थियो । तर यो बीचमा अनमोलले अभिनय गर्न नसक्ने आफ्नो छविलाई बदल्ने फिल्म गर्ने कोशिस पनि गरेनन् । उही पुरानै बासी फिल्ममा रमाए ।

फलतः ‘कृ’देखि नै उनका फिल्मको व्यापार घट्दै गइरहेको थियो । ‘ए मेरो हजुर ३’ अपवाद थियो तर यो शृंखला हिट हुनमा अनमोलको भन्दा पनि यसको अघिल्लो शृंखलाको योगदान थियो । यसरी अनमोलले इनिसियल स्टारको पोजिसन खराब फिल्म गरेर निरन्तर गुमाइरहेका थिए । अन्ततः यसको असर ‘छड्के २’मा देखिएको हो । अनमोलले यो कुरा विचार गरेर आफूलाई निखारेर फिल्ममा प्रस्तुत गरे मात्र उनको कमव्याक सम्भव छ । हैन भने अनमोल पनि कुनै दिन अहिलेको आर्यन सिग्देल बन्ने सम्भावना रहन्छ । 


Author

थप समाचार
x