ब्रान्‍ड

‘दि नेपाल डिस्टीलरिज’ ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने

इकागज |
मंसिर १९, २०८० मंगलबार १९:४८ बजे

काठमाडौँ- नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ ले आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ ।

४० यूपीको मदिरामा एबीभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ । यस्तो उत्पादनको अन्तशुल्क २५ वा ३० यूपीको तुलनामा निकै नै कम भएका कारण पछिल्लो समय यसतर्फ उत्पादकहरूको आकर्षण छ । अन्तशुल्क कम भएकै कारण यो सेगमेन्टको मदिराको मूल्य पनि उपभोक्तामैत्री छ । 


यो सेगमेन्टमा बलियो उपस्थिति जनाउने प्रतिबद्धतासहित प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए । 

‘नेपाली मदिरा बजारमा ४० यूपी सेगमेन्टमा प्रिमियम मदिराको माग धेरै छ । त्यसैले एकदमै उचित मूल्यमा आफ्ना उपभोक्ताहरूलाई कसरी प्रिमियम मदिरा उपलब्ध गराउन सकिन्छ भनेर हामीले बजारको पर्याप्त अध्ययन गरेका छौं,’ लामिछानेले भने, ‘दुई वर्षभन्दा बढी समयसम्म गरिएको अध्ययन र उपभोक्ताहरूको प्रतिक्रियालाई आधार मानेर चाँडै ४० यूपी सेगमेन्टको ह्वीस्की फ्लेभर र रम फ्लेभरको प्रिमियम मदिरा बजारमा ल्याउने घोषणा गर्दछौं ।’

नेपाल डिस्टीलरिजले मुख्य रूपमा २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा आफ्ना उत्कृष्ट उत्पादनहरू खुकुरी रम र न्यूड सुपेरियर भोड्का समावेश छन् । 

लोकप्रिय ब्राण्ड ‘खुकुरी रम’ नेपालबाट विभिन्न देशमा सबैभन्दा बढी निर्यात हुने मदिराजन्य उत्पादन हो । यसले लामो समयदेखि विदेशी मुद्रा आर्जनमा समेत टेवा पुर्याउँदै आएको छ । 


 


Author

थप समाचार
x