ब्लग

चोभार गन्थन

विमल सिटौला |
पुस ३, २०७९ आइतबार १५:१९ बजे

साँझ हुनुभन्दा केही घण्टा अगाडिको समय । दिन उतरार्धतिर ढल्किएको थियो । आन्तरिक पर्यटकको चहलपहल मिनेट-मिनेटमा झाँगिएको समय । भलै हेमन्तले आफ्नो साम्राज्य बढाए पनि त्यसको प्रभावस्वरूप विवेकी प्राणीले आफूलाई बचाउँन अनेक प्रयत्न गरेका दृष्यहरू । धर्तिउचा वायुमण्डलमा साइबेरियन पंक्षिका बथान एकसुरले उडिरहेझैँ अनेक योजना र गन्तव्य मनमा गुथेर डिलउपर यत्र, तत्र, सर्वत्र छरिएका मानवहरू र अन्य पशुपंक्षीहरू । ती सबै राजधानीको दक्षिणपश्चिम भेगतिर विराजमान भएका दुई बिराट् चट्टानका डिल आसपास बसेर, रमेर, तपेर, डुलेर, थाकेर, झिँझिएर; पुन: गम्भीर भएर जिज्ञासा पोखेका झुन्ड-झुन्डका दृष्यहरूले यस भूमिमा प्रवेश गरेका एकाध नव जिज्ञासु प्राणीहरूको मनभरि उत्सुकताको चाङ लगाइदिन्छन् ।

हो, वर्तमानमा एक जिज्ञासु प्राणी पनि त्यहीँ समोच्च भागमा विरत भएको छ जुन भूमिको पौराणिक नाम हो- ‘च्वाबाह: ।’ ‘च्वा’ को अर्थ समोच्च माटो र ‘बाह:’ को अर्थ बस्ती भन्ने बुझियो । पछिपछि चोभार भन्न थालिएको इतिहास रहेछ । त्यहीँ च्वाबाह: मा पर्यटकका चार दिशातिर केही वर्षदेखि नेपाली हातले खिपेर नडगमगाई उभिएका ३३ फिट अग्ला नव अवतारका मन्जुश्री सायद तीनका बार्हथरी कुरा सुनिरहन्छन् अनि एकसुरले घरी गम्म पर्छन् र घरी खित्खिताई रहन्छन् जसरी उनी देखिन्थे हिजोअस्ती पनि । तर, उनी बोल्दिनन् पो । नत्र कति भीड हुन्थ्यो होला यहाँ इतिहास पारखीहरूको ।


चन्द्रागिरीपट्टिबाट यही बखत चिसो स्याँठ हुँइकिदिन्छ । मानौँ, यतिखैरै लाङटाङ लिरुङ वा गणेश हिमालको पछ्यौरी उडाउदै निर्मल बतास बटारिएर चलेको छ र हुत्तिएर खाँदिएको छ तल्तिरका खोचहरूमा । यसले कति बिगार गरेको छ पहाडी बस्तीहरूमा र कति कष्ट दिएको छ तराईका जनजीवनमा ! बस् आशा गरौँ- त्यो अखबारमा शुभ नै पढ्न पाइएला । तर, यो मुटु छेड्ने चिसोले डाँडामाथि आफ्नै सुरमा रमाइरहेका मनुष्यजातिलाई जितिरहेका दृष्यहरू नमिठा पनि त लाग्छन् । उनीहरू आछु.... छु.. गर्दै कोल्टे फर्किन्छन् । जेबमा हात घुसार्छन् । त्योभन्दा अघि जिपरलाई माथि घाटीसम्म नमज्जाले घिच्याउँछन् । सिरेटो चलेसँगै देखिन्छन् पनि माथिमाथि उकालोतिरका अप्रिय दृष्यहरू- बुढाबुढी र केटाकेटीहरूले हतासमा बाटो तताइरहेका ।

छिनभरको मौसम परिवर्तनले गर्दा जिज्ञासुलाई हठात लाग्यो- ‘अब मानिसहरू तितरबितर हुने भए । केही उत्सुकीहरूको जमघट मात्र बाँकी रहने भयो यहाँ ।’ नभन्दै दृष्यहरू पनि थोरै फेरिए । मानौँ अब कुराहरू केही गम्भीर मोडतिर लहस्सिए । स्याँठले मानिसको हतासपन एकाएक बढाएर लग्यो । के थाहा ? यतिखेरै चोभारदेवमा फुस्फुस् हिउँ झर्ने पो हो कि । इतिहास छैन भन्न पनि मिल्दैन नि मौसमको साम्राज्यमा, जहाँ इतिहास वा किंम्वदन्तीको गर्मागर्मी चलिरहेछ ।

रमाइरहेका होनहार एक प्रेमजोडीलाई चोभारमा घामले चुम्बन गर्‍यो । यस्ता रमाइरहेका दृष्य त कुना, कान्ला, डाँडा, पाखातिर कति हो कति भेटिन्छन् यहाँ । लाग्छ- चोभार पिरतीको फूलबारी हो ।

सुरु हुन्छ चोभारको उच्च भागमा खडा भएकी आदिनाथका आकास उँचा आँखाबाट । ‘आदिनाथका आँखा किन उँघोतिर ?’ ‘त्यो ताका कसरी खडा भए आदिनाथ त्यो डाँडामा ?’ आँखामा प्राकृत धर्म बोकी ज्योतिलाई बगाउँदै बाग्मती गल्छिबाट बटारिएजस्तै पर्यटकका कौतुकमय चालाको मन त्यतै गइदिन्छन्, केही दूर । जिज्ञासु भने मन गर्छ त्यहीँ बसेर मन्जुश्रीको कुरा खोतल्न, अगाडि आसिन उनको वर्णन कसैबाट सुन्न । ‘आ.. कुरा त बुढापाकाकै सुन्ने हो । आलाकाँचाको के सुन्नु नि ।’ ,अन्तत: जिज्ञासुलाई पनि यस्तैयस्तै बोध हुन आउँछ । ‘हो ता नि ।’ ऊ अघिल्तिरको झुन्डमा चिसोको बेपर्वाह गरेर चाख दिन्छ ।

‘आदिनाथ त थसी(ललितपुर) का देवता हुन् नि । त्यो ताका त्यो ठाउँमा पानी लगातार नबर्सिएर अनिकालै लाग्यो रे । फलस्वरुप, थसीबासीहरूले रिसले चुर हुँदै आदिनाथलाई ‘अलच्छिनी देवता’ को पगरी लगाएर बाग्मतीमा हुत्याइदिए । स्वच्छ र सफा निलो पानीमा त्यो बग्दैबग्दै नख्खु दोभानमा पुगेर अड्कियो । त्यसलाई एक गोठालाले देखेका र नजिक जाँदा ती गोठालासँग आदिनाथले आफू माथि डाँडामा बस्न चाहेको इसारा गर्दै आँखा माथितिर उठाएका र सोही चाहनाअनुसार बजागाजासहित उनलाई जस्ताको त्यस्तै चोभार डाँडामा स्थानान्तरण गरियो । अन्ततोगोत्वा: आदिनाथ खडा भए चोभारको समुच्चलीमा, आँखा आकासतिर गाडेर ।’ एक किंम्बदन्तीले यसो भन्यो ।

‘इतिहास त यति मात्र होइन होला नि । थसीबासीले किन त्यसो गरे त बिचरा आदिनाथलाई, ए बाज्या के छ यसको कारण ?’ ,छेउको एक जिज्ञासु प्राणीले आदिनाथको पक्षमा ढल्किएर पृच्छा गर्‍यो ।

बाज्या अगाडि बढ्छन्, ‘चोभारको सम्बन्ध काठमाडौँसँगै छ नि । आदिनाथ कहँलिनुअघि यो ठाउँ बसुन्धरादेवी (म्हा: सुख्वा: द्धयो) को थियो रे । एक रथ यहाँबाट तानेर सेतो मच्छिन्द्रनाथ (जनम्हा: द्द्यो) को रथमा ठोक्काएपश्चात् चोभार नै फर्काइन्थ्यो । अब, फर्काउने क्रममा: व्हंगाल (हालको बल्खु) आइपुग्दा अचानक अवरोध खडा भयो । अवरोध चैँ घनघोर वर्षाले निम्ताइदियो । हावाहुरी र आँधिबेहेरी चल्यो । रथ गुडाउनै सकिएन । त्यो रात रथलाई बल्खुमै पुजारीले कुर्ने निधो भयो । तर, मध्यराति अचम्मको क्रुर घट्ना घट्यो । तिब्बतीहरूको एक झुन्डले रथमाथि आक्रमण गर्यो र यहाँकी बसुन्धरादेवीको अपहरण भयो । यसले गर्दा रथयात्राको परम्परा त बिथोलियो बिथोलियो, च्वबाह: भगवानविहीन भएर संस्कृति नै नासिएर जाने कुराबाट जनता त्रसित भए । अनि, यही कामना गरे- उनको आत्मा फर्किएर आओस् प्रभु !’

‘उनी बडो हाउभाउका साथ अगाडि बढे, 'नभन्दै एकदिन उनको आत्मा युवतीको रुप धारणगरी काठमाडौँ फर्किन सफल भइन् र गोरेटो खोजेर उही बल्खुसम्म आइपुगिन् । बल्खुबाट चोभार निस्कने बाटो नै पहिल्याउन नसकी छटपटाइरहेको बखत एक तान्त्रिकले खेलाउँदै ललितपुरको थसी लगे र थसीबासीले नयाँ भगवान मानेर नाम दिए- ‘आनन्दादी लोकेश्वर’ ! तर, उनी त्यहाँ कहाँ खुसी हुन सकिन र ? उनको मन त चोभार डाँडैमा थियो नि । उनको नासुखका कारणले त्यो भेगमा अनिकाल निम्तियो । महामारी फैलियो । बालीनाली नष्ट भयो । भोकमरी चल्यो । थसीबासी भर्खर बसाएकी आन्नदादी लोकेश्वरसँग रिसाएर यो निर्णय गरे कि अब यो भगवानलाई नख्खु खोलामा बगाइ दिनुपर्छ अनि मात्र सबै ठीकठाक हुनेछ । सोहीपरी त्यसै गरे । लोकेश्वर बग्दै बग्दै जाँदा एक गोठालाले पछि देखेका त हुन् र ‘च्वाबाह:’ मा ल्याएका हुन् !’

आदिनाथ लोकेश्वरको कथा त सकियो तर सकिएन मनका जिज्ञासाहरू । यस्ता कुरा सुन्न सायद जोसुकै जिज्ञासुलाई बढो गजब लाग्छ । पल्लो झुन्डमा चोभारमा अवस्थित एक हजार दुई सय पचास मिटर लामो गुफाको कुरा चलिरहेको छ । यतिखेरै जिज्ञासुलाई शंकर लामिछानेको ‘चखुंतिति बखुंतिति’ निबन्धको यादले अठ्यायो । अनि, ऊ मनमनै परिहाँसले मरिहाल्यो । दायाँपट्टी जलविनायक मन्दिरको कुरा चल्दै होला । मास्तिर बिरक्तिलो राजनीतिले तीन युवालाई अल्झाइरहेको दृष्य । यस्तै यस्तै गन्थन कतै न कतै त हुँदैजाँदै थियो । धेरै त मन्जुश्रीविशेष गन्थन नि । कतै माथि चैत्य गुम्बाको भने कतै कर्कटक नागविशेष टौदह रानीको । कतै माथिकी आदिनाथ जात्राको त कतै त्यहि प्रकृतिक धरातलको, भू-बनौटको ।

माथिपट्टि यसो पश्चिम डाँडामा शक्ति क्षीण हुँदै गइरहेको घामले चुम्बन गर्‍यो एक जोडा रमाइरहेका होनहार प्रेमजोडीमा । यस्ता रमाइरहेका दृष्य त कुना, कान्ला, डाँडा, पाखातिर कति हो कति भेटिन्छन् यहाँ । लाग्छ- चोभार पिरतीको फूलबारी हो । एक क्षण प्रेमिकाले आफ्ना प्रेमीसँग बडो लाडे पल्टिएर भनेको जिज्ञासुका तीखा कानले सुनिहाले- ‘सुन न राजा एउटा कुरा । मलाई माया गरेनौँ भने म यो तल्तिरको खाडीमा हाम फाल्दिन सक्छु नि ।’ कति कठोर निर्णय तिनको कलिलो प्रेममा ? यो सुनेपश्चात् जिज्ञासुको मन एकदम चिसो भएर आयो र आफ्नो शरीर नै ती भएतिर फर्कायो र चाख दिएर सुन्यो । तर, ती एक जोडी हठात् खित्तित्त हाँस्न पुगे । फेरि आफ्नो शरीर पहिलेकै स्थानमा पुर्यायो जिज्ञासुले । तर, पछाडिपट्टिको त्यो झुन्ड जाडोको बढ्दो गतिले गर्दा तितरबितर भइसकेका देखिए ।

कुनै जिज्ञासुका लागि कमी नै के छ र यहाँ ? कोही नभए पनि प्रकृति साथमा छिन् । अलि पर्तिर अर्को झुन्ड थियो जहाँ मन्जुश्रीको बारेमा इतिहास गुञ्जिरहेको थियो । ‘स्वयम्भु पुराणअनुसार प्राचिन कालमा मन्जुश्री दुई महिला(बरदा र मोक्षदा) का साथ चिनबाट तिर्थयात्रामा नेपाल निस्केका थिए । त्यो ताका नेपाल खाल्डो जलमग्न थियो । बाघद्वारबाट निस्केकी बाग्मती विभिन्न ठाउँको विचरण गर्दै जाँदा चोभारको चट्टानमा ठोक्किरहेकी थिइन् । तब मन्जुश्रीलाई लाग्यो- चोभारको यो डाँडोलाई काट्यो भने पक्कै वस्ती बसाउन सकिन्छ होला । उनले हत्तपत्त यही सोचेर आफ्नो चन्द्रहंस खड्कले त्यो भीमकाय चट्टानलाई गहिरो गरी दुई टुक्रा पारिदिए । र, यसरी उपत्यकालाई मानिस बस्न योग्य बनाएको किंवदन्ती छ । शीरको मुकुटमा सात चुच्चो र कपालका पाँच चुल्ठो भएका मन्जुश्री ज्ञानको ज्योति बालेर प्रज्ञापारमिता पुस्तक हातमा च्यापी यो पुण्यभूमिको दर्शन गरेको इतिहास छ ।’ वरपरका ती जिज्ञासुको मन शान्त भयो । तर, एक जिज्ञासुको मनमा एकाएक यो गन्थन सल्बलायो- हुन त उनको भ्रमण माथि स्वयम्भुनाथतिर पनि थियो होला तर त्यो कुरा अर्को गन्थनमा आउँला नि त !’

मन्जुश्रीकै अगाडि बसेर गन्थन मन्थन सुनिरहेको अवस्थामा जिज्ञासुको मन शान्त भएसँगै जलविनायक मन्जुश्री पार्क परिसरभित्र मन्जुश्रीले आफूलाई हेरिरहेको भान भयो । करिब ३० रोपनी जग्गामा एक्लै रमाएर उनी आफूले अगाडिको चट्टानलाई च्वाट्ट छिनाल्न प्रयोग गरेको खड्क दायाँ हातमा र बायाँ हातमा प्रज्ञा-पारमित नामको पुस्तक बोकी त्यहीँ छिनालेको चट्टानतिर आँखा गाडेर उभिरहेका छन् । शुध्दताको प्रतीक कमलको फूलमाथि विराजमान भएर किसिम किसिमका पर्यटकलाई नियालिरहेका छन् र लोभ्याइरहेका छन् तीनका आँखाहरूलाई आफूतिर । नेपाली र चिनियाँ शैलिका मिश्रित कपडा परिधान गरेर छन् । झन्डै ६ वर्षको नेपाली मूर्तिकारहरूको रफतपश्चात श्रृङ्गारयुक्त भएर चिनियाँ शैलीमा उनको अपूर्वता खडा भएका छ । तिनी बडो अद्भूत देखिन्छन् हेरिहँदा, एक महान पुरुष जसको देहभरि आरुण्य भाव झल्किन्छ र हेरिरहुँ लागिरहन्छ उत्सुकीलाई । बौद्द धर्मालम्बी भए पनि सबै धर्मका अनुयायीले उतिकै सप्रेम, सदभाव र सम्मान गरेका छन् । अत: सम्पूर्ण भ्रमणकर्ताको आस्थाको केन्द्र बनेका छन् ।

जिज्ञासुले वरपर वायुमण्डलमा आँखा नचायो तब क्षितिजीय ज्योति क्षीण भएको पायो । एक्कासि निहारिकाको समूहले बचेखुचेको आभालाई क्षितिजमा कालो पर्दा लगायो । फलस्वरुप, झन् उँचाउँचा भएर गयो चन्द्रागिरीको बाटो हुँदै आएको चिसो पाहुनाको प्रभाव । यसप्रकार क्रमश: ती डाँडामाथि भ्रमणकर्ताको चहलपल कम भएर गयो । वरपरका झुन्ड भोलिको आशामा छुट्टिए । सडकमा गाडी गुडेको आवाजसिवाय अरु केही आवाज गुञ्जेन त्यहाँ- स्वाँ.....हुर्र.....टुर्र...! जिज्ञासु पनि फर्कियो आफ्नो बाटो तर ठाउँठाउँमा बलेका प्रेमका बत्तीहरूले उसका आँखालाई तानिरहे । त्यो जिज्ञासु नदेखेझैँ गरी आफ्नो बाटो हिँडिरह्यो त्यो साँझ, अर्को दिनको आशामा र पुन: अर्को दिन अरु किंवदन्ती सुन्न पाउने अभिलाषाले घनीभूत भएर ।


Author

विमल सिटौला

सिटौला त्रिवि केन्द्रीय शिक्षा विभागअन्तरगत स्‍नातकोत्‍तर तहमा अध्ययनरत छन् ।


थप समाचार
x