कला

केकीको मुडुलो टाउको : कपाल बेच्ने कि अभिनय ?

इकागज |
चैत २, २०७७ सोमबार १४:३८ बजे

काठमाडौं :  नेपालमा कलाकारले गर्ने मेहनत कपालमा टिकेको छ । नयाँ लुक भन्ने बित्तिकै कलाकारको दिमागमा कि ज्यान बनाउने कि कपाल बनाउने कुरा आउँछ । केही दिन अघि अनमोल केसी र झरना थापाबीच झण्डै मनमुटाव भएको खबर आएका थिए । यसको केन्द्रमा पनि कपाल नै थियो ।

अनमोलले ‘पारस’का लागि कपाल चाहिने भन्दै ‘ए मेरो हजुर ४’का लागि कपाल काट्न आनाकानी गरेपछि दुवैबीच दूरी बढेको समाचार आएका थिए । तर, अहिले अनमोल कपाल काट्न राजीभइवरी गीत खिच्न से–फोक्सुन्डो पुगिसकेका छन् । 


तर, यता अनमोलको कपालको किस्साले राम्ररी आराम नपाउँदै केकी अधिकारी कपाल मुण्डन गर्दै समाचारमा आएकी छिन् । आइतबार उनले कपाल मुण्डन गरेको स्टोरी इन्स्टामा राखेपछि उनको कपाललाई लिएर चर्चा सुरु भएको छ । केकीले वैशाखबाट सुटिङ सुरु हुने फिल्मका लागि कपाल मुण्डन गरेको बताएकी छिन् र प्रतिक्रिया लिनका लागि फोटो सार्वजनिक गरेको पनि बताएकी छिन् । 

धेरै भएको छैन जब सुरक्षा पन्तले यसैगरि ‘आमा’का लागि कपाल मुण्डन गरेकी थिइन् । उनको कपाललाई लिएर पनि त्यत्तिकै हंगामा भएको थियो । तर फिल्म रिलिज भएपछि धेरैले कपाललाई लिएर त्यत्रो धेरै हंगामा गर्नुपर्ने कारण नै भेटेनन् ।

सिनेमाको अन्त्यमा आउने सुरक्षाको कपाल मुण्डन गर्ने दृश्यले सिनेमालाई रत्तिभर पनि फाइदा गर्थेन । तर, निर्माण टिम र सुरक्षाले पनि यसलाई ‘के के न हो’ भन्दै प्रचार गरेका थिए । पोस्टरमै पनि सुरक्षाको अर्धमुण्डित तस्बिर हाइलाइट गरिएको थियो ।

सुरक्षाअघि अभिनेत्री दीपशिखा खड्काले पनि मुण्डन गरेको कुरा ‘क्यास’ गर्ने प्रयत्न गरेकी थिइन् । उनले ‘ प्रेमलीला’ फिल्मका लागि आफूले मात्र मुण्डन गरेकी थिइनन् उनले मुण्डन गर्ने दर्शकलाई पनि उपहारको व्यवस्था गरेकी थिइन् ।

तर, ‘प्रेमलीला’लाई यसका बावजुद कसैले प्रेम गरेनन् । यसले के देखाउँछ भने बाहिरी आवरणमा भन्दा पनि ओभरअल फिल्म र अभिनयमा काम गर्न जरुरी छ । 
अहिले केकीले ठ्याक्कै त्यही बाटो समातेकी छिन् ।

पहिला त यही कुरा फिल्म रिलिजको संघारमा सार्वजनिक गरिएको भए पनि दर्शकलाई थोरबहुत फिल्मप्रति कौतुहल बनाउन सकिन्थ्यो । फिल्म सुटिङमा नजाँदै ‘लुक’ थोत्रो बनाएपछि फिल्मप्रति के उत्सुकता रहला ? भएन समकालीन हिरोइनको नक्कल । फन्डा गर्नु त ठीकै हो, फिल्मका लागि चाहिन्छ । तर, कम्तीमा त्यो नयाँ र क्रिएटिभ भइदिए पो !


Author

थप समाचार
x