कला

आर्यनको स्टारडमलाई चुनौती दिने एउटा गीतको भ्युज !

इकागज |
साउन २९, २०७८ शुक्रबार १६:४३ बजे

काठमाडौं :  हुन त कुनै पनि सिर्जनाको तुलना यसले पाउने दर्शकसँग नगर्दा पनि हुन्छ । हाहाहुहु धेरै बिक्ने समयमा दर्शकले गम्भीर कुरालाई ध्यान नदिन पनि सक्छन् । तर, यस्ता सिर्जनामा कुनै फिल्म स्टारको नाम जोडिएको छ भने त्यसले धेरथोर दर्शक पाउने अपेक्षा स्वभाविक हुन्छ । तर, हामीले राख्ने अपेक्षा गलत पनि हुनसक्छ । जस्तो कि आर्यन सिग्देल ।

आर्यन सिग्देल कुनै समय नेपाली सिनेमाका सबैभन्दा महंगा स्टार थिए । निर्माता उनलाई फिल्ममा लिन हदैसम्मको मूल्य चुकाउन तयार थिए । तर, उनको यो माग धेरै समय रहेन । लगातार फिल्म फ्लप हुने र यही मौकामा अनमोल केसी र प्रदीप खड्का सतहमा आएपछि निर्माता आर्यन छाडेर यता लोभिए ।


उता ‘लुट’पछि नेपाली फिल्म उद्योगमा उदाएका सौगात मल्ल र दयाहाङ राईले पनि आर्यनको बजार खोसे । आर्यनले यो समयमा आफैं फिल्म बनाएर क्रेज थाम्न नखोजेका हैनन् तर कमजोर निर्देशकका औसत फिल्मले उनलाई दौडमा रहन दिएनन् । त्यसयता पनि केही निर्माताले उनीप्रतिको भरोसा नछाडी फिल्म बनाए तर तिनले झन् हालत बेहोर्न परो । ‘हजार जुनीसम्म’, ‘चचहुइँ’जस्ता केही फिल्म यही कोटीमा परे । 

यता फिल्ममा असफलताको असरले आर्यनले म्युजिक भिडियोमा पनि खप्नु परो । पल शाह, पुष्प खड्का र आकाश श्रेष्ठ जस्ता  हिरोलाई म्युजिक भिडियो खेल्न भ्याइनभ्याई हुँदा आर्यनको भागमा मुस्किलले एकदुई भिडियो परे । तर यसरी खेलेका भिडियोमा पनि दर्शकको रुचि देखिएन ।

अरु हिरोले खेलेका भिडियोले छिनमै एक लाख घटाउँदा आर्यनलाई त्यति भ्युज पनि आकाशको फल भयो । यसको पराकाष्ठा देखिएको छ, हप्ता दिनअघि रिलिज भएको ‘जब’ भन्ने म्युजिक भिडियोमा ।

आर्यनले दोस्रो लकडाउन पछि यो गीतको सुटिङ गरेका थिए । दुई तीन सुटिङ भएको यो गीतको आर्यनले यति अपडेट दिइरहेका थिए कि मानौं भयंकर नै भिडियो खेलिरहेका छन् । तर, जब भिडियो रिलिज भयो, कसैले हेर्ने कष्टसम्म पनि गरेनन् । सार्वजनिक भएको १ हप्तामा बल्ल यो गीतले १५ हजार भ्युज पाएको छ । जबकि आर्यनकै फेसबुकमा मात्र २ लाख हाराहारी फ्लोअर छन् । भएन गीत निर्माण गरेको युवा फिल्मस्ले भिडियो स्पन्सर्ड पनि गरेको छ । 

गीतको भिडियो राम्रो छ । कमजोर छ त अडियो । सनुप पौडेलको स्वर रहेको गीतमा केही पनि नयाँ छैन । तर, गीत नसुन्ने आफ्नो ठाउँमा भयो तर आर्यनले यत्ति धेरै प्रमोट गरेपछि एकचोटी त भिडियो क्लिक गर्नुपर्ने नी । गीतको भ्युजले आर्यनका ५ प्रतिशत फ्यानले पनि भिडियो हेर्न नरुचाएको देखियो । यो सब हेरेर भन्नुपर्ने हुन्छ, यो गीतले आर्यनको स्टारडमलाई नराम्रो चुनौती दिएको छ । 


Author

थप समाचार
x