कला

अफेयरपछि वर्षा र राजको पहिलो प्रोजेक्ट : नविन के भट्टराईको म्युजिक भिडियो

इकागज |
साउन ८, २०७८ शुक्रबार १२:५५ बजे

काठमाडौं :  मनोरञ्जन उद्योगमा जोडी हुनुको फाइदा हो, अफेयरको चर्चाले काम पाउनु । जोडी देखेपछि निर्माताहरू उनीहरूमाथि मन खोलेर लगानी गर्छन् । पल शाह– आँचल शर्मा, पूजा शर्मा–आकाश श्रेष्ठ यस्ता केही प्रतिनिधि उदाहरण हुन् जो जोडी भएकै कारण एक समय अति व्यस्त थिए । यीमध्ये पल र आँचलको जोडी आँचलको विवाहपछि टुटे पनि पूजा र आकाश भने मन भाँच्दै भाँच्दै पनि काम गरिरहेका छन् । 

यो लिस्टमा नाम थपिएको छ, राज कटुवाल र वर्षा सिवाकोटीको । राज र वर्षाको अफेयर सुरु भएको धेरै भएको छैन । दुवैले अफेयरमा रहेको जनाउ दिएका हुन्, गएको होलीबाट । त्योभन्दा अघि वर्षा अमेरिकामा बस्ने युवकसँग गहिरो प्रेममा थिइन् । 


तर, राज र वर्षा जोडीको रुपमा सार्वजनिक हुनु र लकडाउन हुनु लगभग एकै समयमा सुरु भयो । त्यसैले यो जोडीले आफ्नो प्रेम फेसबुकमा सीमित गर्नुपर्यो । वर्षाले बेलाबखत राजले खिचिदिएका तस्बिर सार्वजनिक गरेर न्यास्रो मेटिन् ।

तर, लकडाउन खुकुलो भएसँगै म्युजिक भिडियोको सुटिङ चालु भएपछि भने यो जोडीले पहिलो काम पाएको छ । राज कटुवाल स्वयंले शुक्रबार गरेको फेसबुक पोस्टले यो जनाउ दिएको हो । कटुवालका अनुसार वर्षा र राजले नबिन के भट्टराईको निर्देशनमा म्युजिक भिडियो गरेका हुन् । गीत पनि नबिन के भट्टराई स्वयंले गाएका हुन् । 

राजले यसअघि केही फिल्म र म्युजिक भिडियोमा काम गरेका छन् । तर, गरेका फिल्म र म्युजिक भिडियो दुवैले राजलाई खासै फाइदा गरेनन् । हेर्नुछ, वर्षासँगको यो अफेयर राजको करिअरका लागि कति फलदायी हुन्छ । 


Author

थप समाचार
x