कला

महानायक–महानायिकाले यस्तै गीतमा नाच्ने हो र ?

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १०:४ बजे

काठमाडौं : राजेश हमाललाई महानायक भनेन भने चित्त दुख्छ । दीपाश्री निरौलाले  होइन कि ? भन्दा  अघिल्लो लकडाउनमा रडाको मच्चियो । हमालले घुमाएर आफू नै महानायक भएको पुष्टि गर्न खोजे । लकडाउन खुलेपछि करिष्मा मानन्धरलाई पनि यो उपाधि लिन मन लाग्यो ।

उनले पनि मेसो मिलाएर महानायिकाको उपाधि ग्रहण गरिन् । रमाइलो के भने करिष्मालाई महानायिका घोषणा गरे राजेश हमालले । आफ्नै उपाधि यति विवादित बनेपछि उस्तै प्रकृतिको पदवी दिन अरु भए हजार चोटि सोच्थे होलान् । तर महानायक ने परे । के को पीर के को चिन्ता ? उनले दंग परेर करिष्मालाई महानायिकाको स्यासे पहिराई दिए ।


त्यसो त करिष्मालाई यसअघि प्राविधिक संघले सदाबहार नायिकाको पदवी पनि दिएको थियो । अब उनलाई महानायिका भन्ने कि सदाबहार नायिका भन्ने त्यो त दुविधा छँदैछ । तर, राजेश हमालले पदवी अनुसारको कर्म नगरेको गुनासो व्यापक छ । हमाल कहिले दुर्गेश थापासँग नाचिरहेका छन् त कहिले सचिन परियारसँग टिकटक बनाइरहेका छन् । यसले हमाललाई महानायक मान्ने हार्डकोरलाई पनि गाह्रो भइरहेको छ । तर, हमाल आफ्नो सुर छाड्नेवाला छैनन् । 

बिहीबार एउटा गीत सार्वजनिक भएको छ । गीतको बोल छ ‘हल्का हल्का लजाएर’ । यो गीतमा राजेश हमाल र करिष्मा मानन्धरको जोडीको अभिनय छ । त्यतिले नपुगेर म्युजिक भिडियो निर्माताले पल शाह र पूजा शर्मालाई पनि अभिनय गराएका छन् । 

पल शाह र पूजा शर्मा पनि आफूलाई सुपरस्टारै मान्छन् । यति भएपछि तपाईंलाई गीतबाट उल्कै उपेक्षा हुन्छ । तर, गीत हेरेपछि भन्न मन लाग्छ, अपेक्षा नै दुःखको कारण हो । गीत समग्रमा नराम्रो हैन तर कतैबाट पनि देशका महानायक महानायिकाले खेलेको भन्न सुहाउने छैन । कमजोर शब्दको आडमा बनेको संगीतमा निर्देशकले जबर्जस्ती चारजनालाई उफारेका छन् । 

गीत कमजोर छ भन्ने तथ्यलाई यसको भ्युजले पनि प्रमाणित गर्छ । रिलिज भएको १८ घन्टामा गीतले १ लाख २७ हजार भ्युज पाएको छ जबकि यसलाई स्पोन्सर्ड नगरिएको कुनै पेज छैन । हमाल आफैंले पनि आफ्नो पेजबाट यो गीत स्पोन्सर्ड गरेका छन् । मानियो कलाकार भए पछि पैसाका लागि जे जस्तो पनि काम गर्नुपर्छ । जस्तो पनि काम गर्ने भए महानायक र महानायिका जस्तो पदवीमा लोभ पनि त गर्न भएन नी ? 

हेर्नुस् गीत 

 


 


Author

थप समाचार
x