कृषि

विपन्न कृषकलाई अनुदानमा गाई

इकागज |
माघ १४, २०७८ शुक्रबार ७:४५ बजे

रत्ननगर- चितवनको रत्ननगर नगरपालिकाले यहाँका विपन्न कृषकलाई अनुदानमा गाई वितरण गरेको छ । पशुपालनमार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय विपन्न कृषकलाई ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो ।    
    
नगरपालिकाले विपन्न किसानहरूको पहिचान गरी दुहुना गाई वितरण गरेको नगरप्रमुख नारायण वनले बताए । किसानलाई गाई वितरणका लागि नगरपालिकाको नवौँ नगरसभाले रु एक करोड बजेट विनियोजन गरेकामा सोही बजेटबाट गाई वितरण गरिएको वनको भनाइ थियो । नगरपालिकाको रु एक करोड तथा किसानको रु एक करोड गरी रु दुई करोडको लगानीमा नगरभित्रका २०० विपन्न कृषकलाई दुधालु गाई वितरण गरिने नगरप्रमुख वनले जानकारी दिए ।    
    
यसअघि नगरपालिकाले सुत्केरी पशुलाई भत्ता दिँदै आएको उल्लेख गर्दै नगरप्रमुख वनले अब किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताए । विदेशबाट फर्किएर स्वदेशमै केही गर्न इच्छुक युवा र आर्थिक अभावका कारण पशुपालन गर्न नसकेका गरिब किसानहरूको पहिचान गरी गाई वितरण कार्यक्रमलाई अगाडि बढाउने वनको भनाइ छ । कार्यक्रमको शुभारम्भ गर्दै बिहीबारमात्रै १६ किसानलाई अनुदानमा गाई वितरण गरिएको छ ।    
    
नगरप्रमुख नारायण वन तथा उपप्रमुख विमला दुवाडीले नगरपालिकामा आयोजित कार्यक्रममा संयुक्तरूपमा कृषकलाई अनुदानको गाई प्रदान गरेका थियो । नगरपालिकाले अनुदानमा गाई वितरणसँगै गोठ सुधारका लागि रु १० हजारसमेत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । नगरपालिकाले प्रदान गरेको रु १० हजारमा किसानले रु १० हजार थप गरी रु २० हजारमा गोठ मर्मतको काम गर्नुपर्ने पौडेलले बताए।    
    
विपन्न कृषकले गाई खरिद गर्दा कम्तीमा रु ८० हजार मूल्य बराबरको हुनुपर्ने भन्दै नगरपालिकाका पशु विकास अधिकृत शालिग्राम पौडेलले उक्त गाईले बिहान र बेलुका गरी दैनिक कम्तीमा पनि १० लिटर दूध दिने स्वस्थ गाई हुनुपर्ने बताए । नगरपालिकाले किसानको आर्थिक अवस्था मूल्याङ्कन गरी पशुपालनबाटै जीविका चलाउँछु भन्ने विश्वास भएको कृषकलाई मात्र अनुदानमा गाई वितरण गर्ने पौडेलको भनाइ छ ।    



Author

थप समाचार
x