कृषि

फूलैफूलको कर्णाली आफूचाहिँ फूल किन्‍छ

जितेन्द्र थापा |
कात्तिक १४, २०७८ आइतबार ११:१५ बजे

तस्‍बिर: जितेन्द्र थापा/इकागज

सुर्खेत - वीरेन्द्रनगरको ऐरिचोकदेखि पश्चिमतर्फको करिब चार मिनेटको यात्रा । आँखाहरू नजिकैको अनौठो एउटा दृश्यमा पुग्न पुगे । नजिकै पुग्यौँ...। आँखाका परेलीले टाढैबाट देखेजस्तै बेल्कुल चारैतिर पहेँलै देखिएको थियो । सयपत्री फूल फूलेर पहेँलै । 

माग धेरै भएपनि उत्पादन घट्दै गएका बेला यी फूल हेर्दा जो कोहीको मन लालाहित हुन्छ । स्पर्श गर्न नजिक तान्छन् यी सयपत्रीले । तिहारको पर्खाइमा बसेका छन् । यी फूलका उतपादनकर्ता हुन्, सुर्खेतको वीरेन्द्रनगर–३ का इन्द्रजित सुनार । कृषिमा स्नातकोत्तर गरेका उनले पढेको ज्ञान फूल उत्पादनमा लगाएका छन् । साढे तीन कट्ठा जमिनमा फूल खेती गरेका छन् । 


पहिलो पटक पुष्प व्यवसाय सुरु गरेपनि फूल उत्पादनमा सफल भएका छन् । कृषि पढेर कृषिमै मेहनत गरेका सुनारको यो व्यवसायले उनलाई सुर्खेतमा परिचित तुल्याएको छ । दसैँ सकिएलगत्तै तिहार पनि दिनहुँ तिहार नजिकिएसँगै फूलको माग पनि बढ्न थालेको छ । कर्णालीमा मात्र नभएर कोहलपुर, बर्दियालगायतका ठाउँहरूबाट माग आउने बताए ।

‘पहिले फूल उत्पादन गर्दा के पो हुने हो भन्ने मनमा चिनता लाग्ने गथ्र्यो’, उनले भने, ‘उबेला धेरै जग्गामा फूल नलगाएर पछुतो छ ।’ कृषि नै पढेका उनले एक जना अर्का कृषि विषय पढेका प्राविधिक पनि राखेका छन् । ‘आफूले पढेको विषयलाई पछ्याएर थोरै जग्गामा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने बुझाईले पुष्प खेती सुरू गरेका हौँ’ उनले भने, ‘माटो र स्याहार भयो भने फूल खेती सोचे अनुसार हुने रहेछ ।’

करिब ३ कठ्ठा जग्गामा सयपत्री खेती गर्न एक लाख रूपैयाँ लागेको उनले बताए । उनले सुर्खेतमै सयपत्रीको बेर्ना तयार गरेका थिए । उक्त सयपत्री तिहारअघि नै तयार भइसकेको छ । ‘हामीले तिहारसम्म तयार हुन्छ भन्ने सोचेका थियौं, तर त्यसअघि नै तयार भईसकेको छ,’ उनले भने, ‘यसलाई टिप्यो भने पनि योभन्दा बढी फूल्छ, तिहारलाई पनि काम लाग्छ ।’

थाइल्याण्डबाट आयात हुने ‘कर्मा–५५५’ जातको फूल लगाइएको छ । कर्मा ग्रुप अफ कम्पनी नेपालले यो जातलाई नेपालमा आयात गर्ने गरेको सुनारले बताए । यो जातको सयपत्रीको सबै हाँगाहरूमा फूल लाग्छन् एक लाख लगानी गरिएको खेतीबाट ३ लाख रुपैयाँसम्मको कारोबार हुने अपेक्षा उनको छ ।

अझै पनि ५० किलो भन्दा बढी परिमाणमा सयपत्री माग हुने गरेको छ । ‘किलोमा लिन खोज्नेलाई किलोमा, माला नै लिन खोज्नेहरूलाई माला बनाएर दिने तयारी छ’ उनले भने, ‘यो सिजनमा फूललाई बजारको कुनै समस्या हुँदैन । हामीले लगाएको यही फूललाई सामाजिक सञ्जाल फेसबुकमा फोटो खिँचेर राखेका थियौँ । त्यसलगत्तै अर्डर आउन सुरू भइसकेको छ ।’

सुनारका अनुसार, सुर्खेतमा तयार पारिएको एउटा मालालाई एक सय पचास रुपैयाँमा बिक्री गरिनेछ भने किलोको हिसाबमा लिनेलाई प्रतिकिलो चारसय रुपैयाँमा विक्री गरिनेछ । उक्त फूल खेतीमा टिकटक बनाउने, फोटो खिच्ने मान्छेका लागि निश्चित शुल्क लिएर जान दिने गरिएको छ । त्यसबापत २० रुपैयाँ लिने गरिएको छ । दैनिक रुपमा दुई हजार आम्दानी हुने गरेको उनी बताउँछन् ।

फूलको उत्पादन घट्दो माग बढ्दो
पहिले पहिले दसैँ–तिहारको समयमा सबैका घर–आँगनमा विभिन्न जातका फूल फूलेर ढकमक्क हुन्थे । तिहार तथा अन्य पूजा–आजा र सामाजिक संस्कारहरूका लागि फूल आफ्नै करेसाबारीमा पर्याप्त हुन्थ्यो । पछिल्लो समय गाउँघरमा समेत फूल लगाउने चलन छुट्दै गएको छ ।

यी फूलहरूको माग धेरै भएपनि उत्पादन घट्दो छ भने चाडपर्वमा बाहिरबाट आयात गरिएका मालाको प्रयोग बर्सेनि बढ्दो छ । केही वर्षयता स्थानीयस्तरमा हुने मखमली, सयपत्री, बामरी र गोदावरी जस्ता फूल लोप हुँदै गएका छन् । तिहारका लागि आफ्नै आँगनमा फूल तयार हुनुपर्नेमा बजारका बेच्न झुन्ड्याइएका मालाको भर पर्नुपर्ने बाध्यता छ ।

रेडिमेट मालाको लाखौँको कारोवार
यतिबेला तिहारका लागि बजारमा रेडिमेड मालाहरू सजाइएका छन् । बजारमा झुन्डाइएको यी मालाले घर–आँगनमा फूल बिर्साउँदै लिएको छ । बजारमा झुन्डाइएका मालालाई ८० देखि तीनसय रुपैयाँसम्म पर्छ । घर आँगनमा फूल्ने फूल हराउँदै जाँदा यसको प्रयोग बढ्दै गएको पाइन्छ ।  

वीरेन्द्रनगर बजारमा मात्रै तिहारको सिजनमा मालाको लाखौँ रूपैयाँको कारोबार हुन्छ । तिहारमा दिदी–बहिनीले दाजुभाइलाई माला लगाइदिने चलन छ । यो चाडमा माला अनिवार्यजस्तै मानिन्छ । विगतका वर्षहरूमा गाउँमै ढकमक्क फूलेका फूलबाट माला उनेर लगाउने गरिन्थ्यो ।

पछिल्लो समय बजारमा किन्न पाइने भएपछि स्थानीय रूपमा हुने फूलको महत्व घट्दै गएको छ । स्थानीय फूलको माग राम्रै भए पनि उत्पादन न्यून छ । जसले गर्दा कृत्रिम फूलबाट बनाइएका मालाको प्रयोग बढेको हो । स्थानीयस्तरमा उत्पादन हुने विभिन्न थरिका फूल संकटमा पर्दै गएको पुष्प व्यवसायीहरू बताउँछन् । नजिकिँदो तिहार लक्षित गरी बजारमा प्लाष्टिकबाट बनेका थरिथरिका माला भित्रिसकेका छन् । ‘कर्णाली फूलमा आत्मनिर्भर छैन,’ वीरेन्द्रनगर–८ स्थित बस्नेत नर्सरी सञ्चालन गर्दै आएका नवराज बस्नेतले भने, ‘यहाँ माग अनुसारको फूल उत्पादन हुँदैन ।’ 

उनले कर्णालीका धेरैजसो जिल्ला फूल उत्पादन गर्न छोडिएको जनाए । ‘घर–आँगनमा फूल लगाउने चलन हराएको छ । केहीले भने यसलाई व्यावसायिक रूपमा पनि गरेका छन्,’ उनी भन्छन, ‘माग धेरै हुँदा पुर्याउन सक्ने अवस्था छैन ।’ नर्सरी र पुष्प व्यवसायलाई प्रोत्साहन गर्ने नीति नहुँदा पनि पुष्प व्यवसाय फस्टाउन नसकेको उनको भनाइ छ ।

कर्णाली आफैँ पनि आयात गर्छ
फूल उत्पादन गरेर बाहिर निर्यात गर्नुपर्ने कर्णालीले आफैँले रेडिमेड फूल आयात गर्ने गरेको छ । उत्पादन गर्ने व्यवसायीलाई प्रोत्साहन अनुदान नदिएकै कारण फूल उत्पादन नहुने र रेडिमेड फूल आयात हुने गरेको विज्ञहरू बताउँछन् । 

कृषि विज्ञहरूका अनुसार कर्णालीका अधिकांश जिल्लामा फूल खेती गर्न सकिन्छ । त्यसका लागि यहाँको वातावरण उपयुक्त छ । तर, फूल उत्पादन गरेर निर्यात गर्नुपर्ने कर्णाली आफैँ आयात गर्छ । जबकि नेपाली समाजमा फूलको प्रयोग हरेक संस्कारमा आवश्यक पर्छ ।

फूललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कोमलताको प्रतिक तथा वातावरणको संरक्षक मानिए पनि आयातित मालाले स्थानीय फूलको महत्व भुलाइदिएको छ । जस्तो खोज्यो उस्तै पाइने र बजारबाट किनेर ल्याउन सहज हुने भएपछि यस्ता मालामा आकर्षण बढेको हो ।

रेडिमेड मालाको बढ्दो प्रयोग
बजारमा पाइने मालाको बढ्दो प्रयोगले फूलको अस्तित्व संकटमा पर्ने देखिएको छ । बजार माला पाइन थालेपछि स्थानीय फूल संकटमा परेको वीरेन्द्रनगर–६ कि बेञ्जु थापाले बताइन । उनी भन्छिन, ‘बजारमा हजारी फूलको माला बेच्न राखे पनि बिक्री हुँदैन । कृत्रिम फूलकै महङ्गो माला खोज्ने गरिन्छ ।’

व्यवसायीहरूले कृत्रिम माला मात्र होइन तिहारका बेला हरेक वर्ष भारतबाट सयपत्रीलगायतका फूल समेत आयात गर्दै आएका छन । स्थानीय उत्पादन नहुँदा बाहिरबाटै खरिद गरेर बिक्री गर्ने गरिएको उनीहरू बताउँछन् । वीरेन्द्रनगर बजारमा कृत्रिम मालाको व्यवसाय गर्दै आएका एक व्यवसायीले बजार क्षेत्रका बासिन्दाले मात्र नभइ गाउँबाट समेत फूल तथा कृत्रिम माला किन्न आउनेको संख्या ठूलो रहेको बताए । 

फूलका मालाको सट्टा कृत्रिम फूलबाट बनेका मालाहरू प्रयोग गर्ने क्रम बढ्दै गएका हुन् । गाउँ–घरमै प्रशस्त मात्रामा फूल नपाइनु तथा फूलको खेती समेत नगर्नुले कृत्रिम माला खोज्ने गरिएको हो ।


Author

थप समाचार
x