कृषि

खुसी भए किसान

इकागज |
माघ ११, २०८० बिहीबार २१:४५ बजे

फाइल तस्बिर

म्याग्दी (बेनी)- म्याग्दीमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसियाली छाएको छ । बुधबार यस वर्षको हिउँद याममा पहिलो पटक वर्षा र हिमपात भएको हो । लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौ, आलुलगायत हिउँदे बालीमा सिँचाइ गर्न नपाएका किसान तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका हुन् ।

गहुँ, जौ, आलुलगायतका हिउँदे बाली पानी नभएर सुक्न थालेको अवस्थामा पानी परेपछि राहत भएको रघुगङ्गा गाउँपालिका–३ का किसान तुलबहादुर केसीले बताए । 'खेतबारीको हिउँदे बाली पानी नपाएर सुक्ने डर थियो, ढिला भए पनि वर्षा भयो राम्रो भयो,' उनले भने ।


म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । गुर्जा, लुलाङ, मल्कबाङ, कुइनेमङ्गले, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिखलगायतका बस्तीमा हिमपात भएको छ । जिल्लाको मुख्य पर्यटकीयस्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरी, भेडिओढारलगायतका ठाउँमा समेत हिमपात भएको छ ।

पर्यटकीय स्थलमा यो यामको पहिलो हिमपात भएपछि पर्यटक हिउँमा रमाइरहेका छन् । यस वर्षको पहिलो हिमपात भएकाले यसले हिउँदे खेतीबालीमा किसानलाई राहत भएको धवलागिरि गाउँपालिका–५ मल्कबाङका वडाध्यक्ष अमर छन्त्यालले बताए । हिउँदको सुक्खा याममा हिमपात हुँदा खेतीबालीमा मलजलका लागि उपयुक्त हुने किसान बताउँछन् । रासस


Author

थप समाचार
x