प्रवास

अमेरिका पुगेर परराष्ट्रमन्त्री साउदले मागे पर्यटन प्रवर्द्धन र प्रविधि रुपान्तरणमा सहयोग

इकागज |
कात्तिक १५, २०८० बुधबार ७:१९ बजे

वासिङटन डिसी- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताएका छन् । ऐतिहासिक तथ्यहरूका आधारमा एउटा स्वतन्त्र अस्तित्वमा रहेका  देशहरूमा हामी पनि भएकाले सोहीअनुसारको अभ्यास भएको उनको भनाइ थियो ।

वासिङटन डिसीमा‘युनाइटेड स्टेटस इन्स्टिच्युट फर पिस’द्वारा मङ्गलबार  आयोजित नेपालको वैदेशिक नीतिको परिदृश्य विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले उक्त धारणा राखेका हुन् ।


उनले भने 'नेपाल दुई ठूला र शक्तिशाली तथा द्रुतगतिले विश्व अर्थतन्त्रमा अगाडि बढिरहेका देश भारत र चीनको बीचमा भएकाले दुवैसँग मित्रवत सम्बन्ध कायम गर्दै अगाडि बढिरहेको छ ।' उनले साथै सार्वभौम, समानता, पारस्परिक सम्मान, सहकार्यका साथ एकअर्काको संवेदनशीलता र भावनालाई सम्मान गर्दै अगाडि बढेको बताए ।

मन्त्री साउदले नेपालको राजनीतिक प्रक्रियाले दिगोपन हासिल गर्दै गएकाले अब आर्थिक विषयलाई केन्द्रमा राखेर सोहीअनुसार नेपालको कूटनीति परिचालित हुने बताए ।

प्रजातान्त्रिक अभ्यासका आधारशिलामा नागरिकले प्रजातान्त्रिक समाज र स्वतन्त्रतामार्फत आवधिक निर्वाचनलाई अङ्गीकार गर्दै अगाडि बढेको उनको भनाइ थियो ।

'हामीहरूसँग प्रजातान्त्रिक संस्था र संरचना क्रियाशील  छन्, यसको कारणले महिलाको राजनीतिमा उच्चस्तरको सहभागिता सम्भव भएको छ । नेपालको संविधानको भावनाअनुसार  राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भइसक्नुभएको छ भने सङ्घीय संसद, प्रदेश सभामा ३३ प्रतिशत महिलाको व्यवस्था गरेका छौँ' उनले भने 'हामीहरूको नागरिकको ठूलो हिस्सा देश बाहिर पनि रहेकाले उनीहरूको अधिकार संरक्षण र प्रोत्साहन गर्दै उनीहरूलाई मातृभूमिसँग जोड्ने कुरामा केन्द्रित रहेको छ ।'

मन्त्री साउदले नेपाल–अमेरिकाको सम्बन्ध ७६ वर्ष लामो र बलियो सम्बन्ध भएको राजनीतिक, आर्थिक विकास, सांस्कृति, शैक्षिकलगायतमा उल्लेखनीय साझेदारको रूपमा काम गर्दै आएको बताए । दुई देशबीचको सम्बन्ध प्रजातन्त्र, मानवअधिकार र नागरिकको सशक्तीकरणको मूल्य, मान्यतामा आधारित रहेको स्मरण गर्दै उनले अमेरिका नेपालको महत्त्वपूर्ण र ठूलो विकास साझेदार भएकाले त्यसको प्रभावकारिता नेपालको सामाजिक, आर्थिक रुपान्तरणमा देखिएको उल्लेख गरे ।

नेपाल र अमेरिकाले विश्वका साझा चुनौतीमा बहुराष्ट्रिय फोरमहरूमा रचनात्मक ढङ्गले काम गरेको उल्लेख गर्दै मन्त्री साउदले नेपालले अमेरिकाबाट वैदेशिक प्रत्यक्ष लगानी, व्यापार विस्तार, पर्यटनको सम्वर्द्धन र प्रविधि रुपान्तरणमा थप सहयोग र साझेदारीको अपेक्षा गरेको बताए ।

युएसआइपीकी दक्षिण एसियाली निर्देशक तमन्ना शालीकुडिनले सञ्चालन गरेको कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनलगायत दूतावासका अधिकारीलगायत प्रवुद्ध समूहको सहभागिता थियो । रासस


Author

थप समाचार
x