प्रवास

'खाडी पुगेका नेपालीले नेपालमा १० हजार लगानी गर्न सक्ने वातावरण बनाउनु छ'

इकागज |
असोज २८, २०८० आइतबार १७:२५ बजे

काठमाडौँ- नेपालीको आँगनमा चाडपर्वको रौनक छाएको छ । आजदेखि हिन्दु धर्मावलम्बी नेपालीको घर-घरमा दसैँ भित्रिएको छ । विजया दशमीको पहिलो दिन घटस्थापना अझ यतिखेर मुलुकलाई एनआरएनएको निर्वाचनले थप रोचक बनाएको छ ।

एनआरएनएको निर्वाचन मिति नसरेमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ । एनआएरएनले एक सातामा सन् २०२३ देखि २०२५ सम्मका लागि नयाँ नेतृत्व पाउनेछ ।


विदेशमा रहेका नेपालीहरूको हकहित तथा अधिकार र स्वदेशमा आर्थिक लगानी भित्र्याउनका लागि काम गर्दै आएको गैर आवासीय नेपाली संस्था उम्मेदवारहरू नयाँ ऊर्जा र रूपान्तरणको मुद्दासहित निर्वाचनमा होमिएका छन् ।

एनआरएनए नेतृत्वका लागि नयाँदेखि पुराना अनुहार चुनावी मैदानमा छन् । जापानमा करिब दुई दशकदेखि बसोबास गर्दै आएका सुदन थापाले एनआरएनए आइसीसीको कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

थापा जापानमा १८ वर्षदेखि रिक्रुटमेन्ट व्यवसाय गरेका र आइटी क्षेत्रमा संलग्न छन् । हस्पिटालिटी क्षेत्रमा उनी सक्रिय छन् । तर, सबैभन्दा बढी मानव स्रोतको क्षेत्रमा थापा सक्रिय भएर काम गरिरहेका छन् ।

विदेशमा रहेका मानिस र जापानीजलाई काम दिने क्षेत्रमा थापाले आफ्नो ऊर्जा बिताएका छन् । नेपालका पनि विभिन्न क्षेत्रमा लगानी गरेका तिनै थापाले एनआरएनए नेतृत्वमा रूपान्तरणको सपना देखेर चुनावी मैदानमा छन् ।

राजनीतिक दलदेखि बाहेकको संघ-संस्थाको निर्वाचनमा राजनीतिक दल हाबी हुँदा भने स्वच्छ प्रतिस्पर्धा नहुने थापाले बताए । हरेक क्षेत्रमा समस्या रहेको र समस्या भोग्नेलाई मात्र थाहा हुने उनको भनाइ छ ।

'हरेक निर्वाचनले नयाँ अनुहार र नेतृत्व खोजिरहेको छ,' उनले भने, 'पुराना पुस्ताको नेतृत्वबाट संस्थाले ऊर्जा र गति लिन नसक्दा यसले आफ्नो अस्तित्व गुमाउने हो कि भन्ने त्रासले सताएको छ ।'

राजनीति हस्तक्षेप हुँदा कतिपय अवस्थामा संस्था बन्द हुने दिन पनि आउन सक्ने थापा बताउँछन् । दोस्रो पुस्तालाई एनआरएनए अभियानमा जोड्न यहीँ अवस्था रहेमा असम्भव हुने उनको ठहर छ । 'संस्थामा दोस्रो पुस्तालाई जोड्न नसक्नु भनेको एनआरएनए असक्षम हुँदै गएको मान्न सकिन्छ,' उनी भन्छन् ।

एनसीसी र आइसीसीमा देखा परेका समस्याहरूको सम्बोधन गर्नुपर्ने थापाले धारणा राखे । कोषाध्यक्षको उम्मेदवार दिनुको कारण सुनाउँदै थापा भन्छन्, 'एनसीसी र आइसीसीमा रहँदा संस्थाको महत्त्व र अभियानको उद्देश्य बुझेको छु । पहिलो पुस्ता र पहिले नेतृत्वमा रहेकाहरूबाट सिकेर दोस्रो पुस्ता एनआरएनए अभियानमा जोड्नु छ ।'

विभिन्न समयमा संस्थामा पाएको जिम्मेवारी सफलताको साथ निर्वाह गरेकाले अनुभवका आधारमा काम गर्न उम्मेदवारी दर्ता गराएको उनी मान्छन् । अहिलेको आवश्यकता र आवश्यकताको महत्त्व बुझ्न सक्ने भएकाले चुनावी मैदानमा रहनु परेको उनी बताउँछन् ।

संस्थामा आर्थिक पाटो सबैभन्दा बढी चुनौती रहेको थापाको बुझाइ छ । 'अहिलेसम्म संस्था पैसा संकलन गरेर चल्यो,' उनले अगाडि थपे, 'अब भने संस्थाको नामले आफैँ आय आर्जन गरी संस्था चलाउनुपर्छ । मुख्य कुरा संस्थाको आम्दानी बढाउनु नै आफ्नो दायित्व रहेको छ । संस्थालाई आर्थिक रूपमा मजबुत बनाएर चलायमान गर्न सक्नु नै आजको आवश्यकता हो ।'

नयाँ र पुरानो दुवै पुस्तासँग थापाले नजिकबाट देखेको र संगत गरेका छन् । एनआरएनए अभियानमा जोड्नलाई दुवै पुस्तालाई अपनत्व गराउन सक्ने गरी काम गर्ने उनको लक्ष्य छ ।   

'नयाँ पुस्तालाई राष्ट्रप्रतिको प्रेम र विदेशमा रहेपछि मुलुकप्रति गर्नुपर्ने कर्तव्य के के हुन सक्छन् सबारेमा बुझाउनुपर्छ,' उनी उत्साहित हुँदै भन्छन्, 'एनआरएनएको मर्म र भावना बुझाएर काम गर्नुपर्ने अवस्था छ । यस अभियानमा जोडिएका हरेक सदस्यलाई यसको महत्त्व बुझाउनुपर्छ ।'

एनआरएनएलाई नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने थापाले बताए । लगानी भित्र्याउनका लागि मुख्य कुरा नीति बन्नुपर्ने उनले सुझाए । सैद्धान्तिक नीति मात्र नभइ व्यवहारिक रूपमा नीति बन्नुपर्ने उनको भनाइ छ ।

'विदेशमा अरब कमाउने मात्र  नभइ अरबको तातो मरुभूमिमा मासिक ३० हजार कमाउने नेपाली दाजुभाइ दिदीबहिनी गैरआवासीय नेपाली हुन्,' गम्भीर हुँदै थापाले आफ्नो धारणा सुनाउँदै भने, 'खाडी पुगेका नेपालीले नेपालमा १० हजार लगानी गर्न सक्ने वातावरण बन्नुपर्छ । लगानी गरेका रकम सुरक्षित हुनुपर्छ । साना लगानीकर्तालाई सुरक्षित गर्नुपर्छ । साना पुँजीलाई प्रोत्साहन गर्नुपर्छ ।'

एनआरएनए कारण विदेश जाने नेपालीहरूको संख्या घटाउनुपर्ने थापाको भनाइ छ । 'एनआरएनएको ६०-७० लाख सदस्य पुग्यो भने कुनै दिन हामीले अब सदस्य संख्या १० लाख मात्र रहेको भन्न पाइयोस,' उनी सुनाउँछन्, 'विदेशमा भएका सबै नेपाली स्वदेश फर्किउन् भन्ने चाहना छ ।'

एनआरएनए संक्रमणकालीन अवस्था गुज्रेको उनको दाबी छ । सदस्यले संस्थालाई बनाउँछु भनेनन् भने केही समय पश्चात एनआरएनए डाइनोसोर जस्तै बन्ने उनले आशंका व्यक्त गरे । एनआरएनए सदस्यहरू संस्थामा लागेर अन्य काम नगरी संस्था बचाउन मात्र काम गर्न उनी सुझाव दिन्छन् ।

संस्था कुनै पनि राजनीतिक दलको सदस्य वा गुट-उपगुटमा नरहेमा टिक्न नसक्ने अवस्था रहेको उनले बताए । सुरुदेखि आबद्ध रहेका सदस्यहरूमा दिक्दारीपन रहेको थापाले उल्लेख गरे । संस्थामा आएको विचलनले डेलिगेट्समा कमी आएको उनको बुझाइ छ ।

नयाँ नेतृत्वले संस्थामा देखिएको समस्यालाई सुधार गर्न सकिएन भने आगामी सात आठ वर्षमा संस्था नै हराएर जान सक्ने थापा बताउँछन् । संस्थामा रहेर राम्रो काम गर्न सकिएन भने वैकल्पिक शक्तिको उदय हुन सक्ने उनले बताए ।

विदेशिएका सबै नेपालीहरू गैर आवासीयमा पर्ने उनको बुझाइ छ । सरकारले गैर आवासीय सदस्य बन्नका लागि मापदण्ड बनाएको छ । मापदण्ड भित्र रहेका सम्पूर्ण एनआरएनए नेपालीहरू सदस्य रहेका छन् ।

एनआरएनएमा सक्रिय सदस्य एक लाख छन् । यस पटक हुने निर्वाचनले नयाँ निकास दिनुपर्ने धेरैले आशा राखेको उनले बताए । निर्वाचन ९० प्रतिशत मत खस्न सक्ने उनको आंकलन छ । सक्षम नेतृत्व र राम्रो एजेण्डाले विजय हासिल गर्न सक्ने उनको विश्‍वास छ ।


Author

थप समाचार
x