प्रवास

पैसाको प्रभावले चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ : अध्यक्ष प्रत्यासी शर्मा

इकागज |
असोज १९, २०८० शुक्रबार ७:४१ बजे

माल्टा- गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आरके)शर्माले सच्चा भिजनमा हिँडेकाले यसपाली नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

एनआरएनएलाई सहि दिशा र गति दिनको लागि सहि भिजन बोकेर हिँडेको भन्दै यसपाली आफुलाई नेतृत्वमा प्रतिनिधिले चुन्नेमा ढुक्क भएको बताएका हुन् । उनी एनआरएनएका वर्तमान उपाध्यक्ष हुन् ।


‘पैसा, प्रभावले चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ’, माल्टाको एमसिदामा आयोजित छलफल कार्यक्रममा उनले भने, ‘एनआरएनए पवित्र संस्था हो, संस्थालाई विवाद होइन एकताबद्ध बनाउन सच्चा भिजन लिएर चुनावी मैदानमा आएको छु, चुन्नु होला भन्ने अनुरोध छ ।’ शर्माले नेपालीको संख्या धेरै भएका देशमा ६ महिनाभित्रै नेपाली दूतावास स्थापना गर्न सक्दो सहयोग गर्ने बताए ।

पोर्तुगल, माल्टा लगायतका देशमा ६ महिनासम्म नेपाली दूतावास खोल्न आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले देश छाड्ने रहर कसैलाई नहुने भन्दै चिन्ता लिएर विदेशिएका नेपालीहरुले समृद्ध नेपाल देख्न चाहेको बताए। सामूहिक लगानी प्राधिकरण बनाएर देश विकासमा सहयोग गर्ने योजना कार्यान्वयन गर्ने बताए ।

‘अब आर्थिक क्रान्ति गर्न जरुरी छ, पठाएको रेमिट्यान्स, राष्ट्रिय गौरवका योजनाहरू बनाउन तालमेल गर्न ढिलो भएको छ,’ शर्माले भने, ‘हामी लाग्यौँ भने वर्षको १३ खर्ब रेमिट्यान्स पठाउँदै गर्दा १० वर्षमा हामीले १० प्रतिशत सामुहिक लगानी गरेमा पनि १३ खर्ब पुँजी सृजना हुन् सक्छ, त्यसमा हजारौँ रोजगारी सृजना हुन्छ ।’ एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले एनसीसी र आइसीसीबीचको सम्बन्ध सुधार गरेर रोजगारीका लागि विदेशिएका सबै नेपालीको साझा संस्था बन्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा एनआरएनए युरोपका उप संयोजक चित्र सुवेदीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए माल्टाका प्रतिनिधि (डेलिगेट्स) तथा नेपाली समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो ।

अध्यक्षका प्रत्याशी शर्मा शनिबार चेक रिपब्लिक, आइतबार डेनमार्क, सोमबार विहान जर्मनी हुँदै साँझ पोर्तुगलका प्रतिनिधि (डेलिगेटस) सँग छलफलमा सहभागी भएका थिए । मंगलबार साँझ स्पेन हुँदै माल्टा पुगेका हुन् । शर्माले कर्मभूमि कतारमा विशाल कार्यक्रम गरि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।


Author

थप समाचार
x