फोटो फिचर

विराटनगरमा निकालियो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटोफिचर)

बाबुराम भण्डारी |
भदौ २१, २०८० बजे

विराटनगर- विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य सहभागितामा निकालिएको छ । ५५औं संस्करणको रथयात्रा विभिन्न प्रकारका सांस्कृतिक झाँकीहरूसहित नौ किलोमिटर दूरी पार गर्दैछ ।

खट यात्राबाट सुरुगरेर २०२४ सालदेखि राधाकृष्ण रथयात्राका नामबाट निकालिन थालिएको यो रथयात्रा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने गरिएको छ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट अपरान्ह ३ बजे सुरु भएको रथयात्रा अहिले विराटनगरको मेनरोडबाट कोशी राजमार्गमा निस्किने क्रममा छ । विराटनगरको राधाकृष्ण रथयात्रालाई भारतको जगन्नाथपुरीको रथयात्रा पछिको ठूलो रथयात्रा भएको दाबी गरिन्छ । त्यही भएर यो रथयात्रामा नेपालसहित भारतको विहार राज्यबाट समेत हजारौं हिन्दु धर्मावलम्बीहरूको सहभागिता देखिएको छ ।


 

वि.सं. १९८८ मा खट यात्राबाट सुरु भएको विराटनगरको राधाकृष्ण रथयात्रामा कोभिड–१९ को महामारीयता यस वर्ष दुई लाख बढि मानिसको सहभागिता रहेको अनुमान गरिएको राधाकृष्ण रथयात्रा मुल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । रथयात्रा मेनरोड हुँदै ट्राफिक चोक–रोडशेष चोक–महेन्द्र चोक–बरगाछी पुगेर दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिरसम्म गएर समापन हुनेछ ।

रथ तान्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वमा करिब पाँच सय स्वयंसेवक परिचालन भएका छन् । रथयात्रामा सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा सादा पोसाकका प्रहरी समेत परिचालन गरिएको जनाइएको छ ।

विराटनगरको राधाकृष्ण रथयात्राको अवलोकनका लागि देशका विभिन्न महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयरहरू अहिले विराटनगरमा छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनकुमारी लामा, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, जितपुर सिमरा उपमहानगरपालिका मेयर राजन पौडेल लगायतले रथयात्राको अवलोकन गर्दैछन् ।

उनीहरूलाई विराटनगर महानगरपालिकाको वडा नं. ९ को वडा कार्यालयको छतबाट रथयात्राको अवलोकन गर्ने व्यवस्था मिलाइएको विराटनगरका मेयर नागेश कोइरालाले बताए । रथयात्राको अवलोकनका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह समेत उपस्थित हुने कार्यक्रम तय भए पनि काठमाडौँ–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनका कारण उनी सहभागी हुन नसकेको जनाइएको छ ।



Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।

थप समाचार