फोटो फिचर

किजा पूजा अर्थात् भाइटिका

सरोज बैजु |
मंसिर २, २०७७ बजे

काठमाडौँ : नेवार समुदायले आज धुमधामका साथ किजा पूजा अर्थात् भाइटिका मनाएको छ । नेवार समुदायमा नेपाल सम्बतको अवसरमा म्हः पूजा अर्थात आत्म पूजा गरेपछि किजा पूजा अर्थात् भाइटिका गर्ने प्रचलन छ । तर, नेवार समुदायमा यो चाड मनाउने कुरामा मतैक्यता देखिएन ।


उपत्यकाका तीन जिल्लामा फरक-फरक दिन यो चाड मनाइँदै आएको छ । कतिपयले आइतबार नै म्हः पूजा गरी सोमबार किजा पूजा गरेका छन् भने केहीले आज । सोमबार नेपाल सम्बतको नयाँ वर्ष भएकाले मंगलबार किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरूको तर्क छ ।

कतिपयले भने नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार सोमबारै किजा पूजा गरेका छन् ।किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी बिमिरोदेखि सबै प्रकारका फलफूल राख्‍ने गरिन्छ ।

त्यसपछि दाजुभाइ दिदीबहिनीले एकअर्कालाई अक्षता, अबिर, दही, चिउरा र पानी राखेको रातो टिका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकी सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ ।

नेवार समुदायमा तिहारलाई ‘स्वन्ति नखः’ पनि भनिन्छ । उनीहरूले तिहारको बेला लक्ष्मी पूजा, म्हः पूजा, किजा पूजा र नेपाल सम्बत विशेष रुपमा मनाउँछन् ।
सरकारले किजा पूजाको अवसरमा मंगलबार सार्वजनिक बिदासमेत दिएको छ । यस्तै, काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छ ।



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार