विश्व

सी र मोदी आमने-सामने हुँदै

अजय अलौकिक |
कात्तिक २३, २०७७ आइतबार १२:९ बजे

फाइल तस्वीर

बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भर्चुअल भेट हुने भएको छ । नोभेम्बर १० तारिखमा साङहाई सहयोग संगठन (एससिओ) राष्ट्रप्रमुख सम्मेलनमा भर्चुअल भेट हुने भएको हो ।

चिनियाँ परराष्ट्र मन्त्रालय प्रवक्ता ह्वा छुनयिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी चिनफिङले साङहाई सहयोग संगठनका सदस्य राष्ट्रका प्रमुखहरूको २०औं परिषद बैठकमा भिडियोमार्फत भाग लिँदै महत्त्वपूर्ण सम्बोधन गर्ने बताएकी छिन् ।


यसै गरी भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री नरेन्द्र मोदी पनि उक्त सम्मेलनमा सहभागी हुने जनाएका छन् । भारत-चीन सीमा क्षेत्र लडाखको गलवान उपत्यकामा दुई देशका सेनाबीच केही समयअघि मात्र मुठभेड भएको थियो । उक्त घटनापछि पहिलो पटक यी दुई नेताबीच भर्चुअल भेट हुने भएको हो ।

यस अघि २०१७ मा घटेको दोक्लाम काण्डपछि यी दुई नेताले चीनको वुहानमा भेटवार्ता गरी विवादलाई मत्थर पारेका थिए । वुहान भावना नाम दिइएको उक्त सौहार्द भेटवार्तापछि सोही संवादलाई पछ्याउँदै गत वर्ष अक्टुबरमा यी दुई नेताले भारतमा अर्को मैत्रिपूर्ण वार्ता गरेका थिए ।

पछिल्लो समय यस तनावलाई सुल्झाउन दुई देशबीच सैन्य तथा कूटनीतिक वार्ता पनि जारी रहेको छ । गत सेप्टम्बरमा यसै एससिओको विदेशमन्त्रीस्तरीय बैठकमा मस्को दुई देशका विदेशमन्त्रीबीच पनि वार्ता भएको थियो । साथै चीनले दुई देशबीचमा देखिएको विवादको सधैँ नै वार्ता नै समाधानको सही माध्यम भएको बताउँदै आएको छ ।

यस पटकको सम्मेलनले चीन र भारतलाई वार्ताका लागि मञ्च उपलब्ध गराएको छ । औपचारिक रूपमा सन् २००२ मा स्थापना भएको यस संगठनमा हाल आठ वटा राष्ट्रहरू छन् भने भारत तथा पकिस्तानले सन् २०१७ मा पूर्ण सदस्यता पाएको हो । यसै गरी नेपाल संवाद साझेदारको रूपमा रहेको छ । 

यसै बीच यही नोभेम्बर महिनाभित्र भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच ब्रिक्स सम्मेलन र जी २० सम्मेलनमा पनि भेट हुने देखिएको छ ।


Author

थप समाचार
x